१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ पौष १६ शनिबार ०६:५६:००
Read Time : > 3 मिनेट
खेलकुद प्रिन्ट संस्करण

रहेनन् फुटबलका लेजेन्ड पेले 

Read Time : > 3 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ पौष १६ शनिबार ०६:५६:००

विश्व फुटबलकै ‘कालो मोती’ अर्थात् पेलेको शुक्रबार बिहान अल्बर्ट आइन्सटाइन अस्पतालमा निधन भएको छ । ब्राजिललाई कीर्तिमानी रूपमा तीनपटक विश्वकप उपाधि दिलाएका पेले केही वर्षयता किड्नी र प्रोटेस्टको समस्यासँग लडिरहेका थिए । गत सेप्टेम्बरमा उपचारकै क्रममा उनलाई क्यान्सर देखिएको थियो । किमोथेरापीले समेत काम नगरेपछि पेले आफ्नो अन्तिम समय प्रतीक्षा गरिरहेका थिए ।

एक महिनाअघि उनी किमोथेरापी गर्न अल्बर्ट आइन्सटाइन अस्पतालमा पुगेका थिए । उपचारका क्रममा अस्पताल पुगेका पेलेलाई क्यान्सरले नराम्रोसँग समातिसकेको थियो । यसै साता पेलेका परिवारले अस्पतालमै क्रिसमस मनाए । उनकी छोरी केली नासिमेन्टोले बुबाको स्वास्थ्यसम्बन्धी जानकारी दिँदै पेले जिउँदै रहेको जनाइरहिन् ।

तर, शुक्रबार बिहान क्यान्सरविरुद्ध लडिरहेका पेलेले परिवारका साथ आफ्नो अन्तिम सास फेरेको छोरी केलीले जानकारी दिइन् । केलीले बुबाको निधनसँगै श्रद्धाञ्जली दिँदै एउटा फोटो सेयर गरेकी छिन् । ‘असीम रूपमा हामीलाई माया गर्ने बुबा अब रहनुभएन,’ केलीको इस्टाग्राममा लेखिएको छ, ‘हाम्रा लागि सबथोक दिएकोमा धन्यवाद छ, हामी सधैँ तपाईंलाई माया गरिरहनेछौँ, बुबा हार्दिक श्रदाञ्जली ।’ ब्राजिलियन फुटबल संघले पेलेलाई सर्वकालीन महान् खेलाडीका रूपमा चर्चा गर्दै भनेको छ, ‘पेले अल टाइम महान् खेलाडी हुन्, उनले आफ्नो यात्रामा प्रेरणा र मायाहरू छाडेर गएका छन्, उनी आज स्वर्गवास भएका छन् ।’

तीन दिन बिदा र शोक सभा
अल्बर्ट आइन्सटाइन अस्पताल र केलीले पेलेको निधन भएको सार्वजनिक गरेपछि समग्र विश्व नै स्तब्ध भएको छ । ब्राजिलले पेलेको सम्मानमा तीन दिन शोक मनाउने भएको छ । ब्राजिलियन सरकारले तीन दिन बिदा दिएको छ । पेले संसारबाट बिदा भएको समाचार विभिन्न अन्तर्राष्ट्रिय मिडियाहरूले सम्प्रेषण गरेपछि विश्वभरिबाट श्रद्धाञ्जली आइरहेका छन् । साओ पाउलो सडकमा मध्यराति नै पेलेलाई श्रद्धाञ्जली दिन समर्थक निस्किएका थिए । यसैगरी, रियो डे जेनेरियोस्थित ऐतिहासिक रंगशाला माराकानामा तीन दिनसम्म बत्ती बालिने भएको छ । यही रंगशालामा पेलेले आफ्नो करिअरकै एक हजार गोल पूरा गरेका थिए ।

अधिकारीहरूले पेलेको सम्मान र श्रद्धाञ्जलीस्वरूप रंगशालालाई झिलिमिली बनाउने जनाएका छन् । यसैगरी, साओ पाउलोका धेरैजसो सपिङ मलको डिस्प्लेमा पेलेलाई श्रद्धाञ्जली दिएका देखिन्छन् । ‘धन्यवाद फुटबलका राजा’ सपिङ मलका डिस्प्लेमा यस्तो लेखिएको छ । यसैगरी, पेलेको निधनप्रति विश्वचर्चित खेलाडी पोर्चुगिज क्रिस्टियानो रोनाल्डो, स्पेनका सर्जियो रामोसससँगै फ्रान्सका केलियन एमबाप्पेले श्रद्धाञ्जली दिएका छन् ।

फुटबल शैली परिवर्तनकर्ता
ब्राजिलका नेमार जुनियरले पेलेको निधनले आफूहरू स्तब्ध भएको बताएका छन् । विश्व फुटबलमा खेल्ने शैली परिवर्तन गर्नमा पेलेको ठूलो योगदान गरेको नेमारले जनाएका छन् । उनी लेख्छन्, ‘पेलेअगाडि केवल फुटबल एउटा खेल मात्र थियो, पेलेले फुटबलमा सबै परिवर्तन गरे ।’ फुटबललाई एक सुन्दर कला र मनोरञ्जनका रूपमा लिनमा पेलेले ठूलो भूमिका खेलेको नेमारको भनाइ छ । ‘पेलेको आगमनअघि फुटबलमा कालो र सेतो वर्ण भनिन्थ्यो, पेले गरिबका आवाज थिए, विशेष गरी कालो वर्णका लागि उनी भगवान् नै थिए,’ नेमारले भने । यसैगरी, पेरिस सेन्ट जर्मेन (पिएसजी)का स्ट्राइकर केलियन एम्बाप्पेले पेलेको योगदानलाई कसैले बिर्सन नसकिने बताएका छन् ।

इंग्लिस फुटबलले पेलेलाई श्रद्धाञ्जली दिने
इंग्लिस प्रिमियर लिग (इपिएल)ले यो साता हुने प्रतियोगितामा पेलेको सम्मान र श्रद्धाञ्जली कार्यक्रम गर्ने जनाएको छ । खेलाडीले कालो पट्टी लगाउनेछन् । यसैगरी, प्रत्येक खेलअगाडि एक मिनेट मौनधारण हुने इपिएलले जनाएको छ । इपिएलले विश्व फुटबलमा पेले एक भगवान्कै गिफ्ट भएको जनाइएको छ । ‘पेलेले विश्वकमा लाखौँ मानिसलाई फुटबलबाट प्रेरणा दिए, फुटबलसँगै खेल क्षेत्रलाई हेर्न दृष्टिकोणको विकास गरेका थिए,’ इपिएलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘एक महान् खेलाडीको फुटबल करिअर गर्विलो रह्यो, हामी उनलाई श्रद्धाञ्जली दिन चाहन्छौँ ।’

इपिएलमा वेस्ट हाम र ब्रेन्टफोर्डबीचको खेलमै पेलेको श्रद्धाञ्जली सभा राखिएको छ । यसैगरी, आर्सनलले पेलेको निधनले फुटबल खेल जगत् नै स्तब्ध भएको जनाएको छ । म्यानचेस्टर सिटीले विश्व फुटबलकै महान् खेलाडीको निधनले क्लब भावुक बनेको उल्लेख गरेको छ । यसैगरी, फुटबल एसोसिएसनले विम्बली रंगशालामा ब्राजिलको राष्ट्रिय झन्डाको कलरमै बत्ती बाल्ने भएको छ । ‘तीनपटक विश्व विजेतालाई हामी विम्बली रंगशालामा श्रद्धाञ्जली दिनेछौँ,’ एफएले भनेको छ ।

तीनपटक विश्वकप उचाल्ने एक्लो खेलाडी
फुटबलमा पेलेले धेरै कीर्तिमान राखेका छन् । कतिपय उनले स्थापित गरेका कीर्तिमान खेलाडीले तोड्न सकेका छैनन् । फिफा विश्वकप उपाधि तीनपटक जित्ने पेले एक्लो खेलाडी हुन् । आफ्नो समयमा जादुगरी खेलाडीका रूपमा परिचित पेलेले सन् १९५८, १९६२ र १९७० मा ब्राजिललाई विश्वकप उपाधि दिलाए । विश्वकपमा उनले १२ गोल गरेका छन् । सन् २००० मा फिफाले उनलाई शताब्दीकै उत्कृष्ट खेलाडी घोषणा गरेको थियो । पेलेले सर्वाधिक गोलकर्ताको कीर्तिमान राखेका छन् । २१ वर्षे फुटबल करिअरमा उनले एक सय ६३ खेलमा कीर्तिमानी रूपमा एक हजार दुई सय ८१ गोल गरेका छन् । विश्वकपमा गोल गर्ने उनी युवा खेलाडीमा पर्छन् । विश्वकपको फाइनलमा धेरै असिस्ट गर्ने खेलाडी पनि उनी हुन् । उनले ब्राजिलका लागि ९२ खेलमा ७७ गोल गरेका छन् । १५ वर्षको उमेरमा उनी ब्राजिलको चर्चित क्लब सान्तोसमा अनुबन्ध भए । उनले आफ्नो पूरै व्यावसायिक खेल करिअर नै सान्तोषमा नै बिताए ।

मिनास सहरमा जन्मेका पेले
विश्व फुटबलमा पेलेलाई ‘कालो मोती’का रूपमा लिने गरिन्छ । ब्राजिलियन फुटबलर पेलेको पूरा नाम एडिसन एरेन्टस डो नासिमेन्टो हो । उनी ब्राजिलको सानो सहर मिनास गेराइसमा २३ अक्टोबर, १९४० मा जन्मेका थिए । आमाबुबाले उनको नाम एडिसन राखेका थिए । ‘पेले जन्मने वेला सहरमा बिजुलीको बल्ब पुगेकाले त्यसवेला बल्बको उज्यालोको प्रभावले बल्ब बनाउने थोमस एल्बा एडिसनको नामको एक भाग एडिसन राखिएको हो ।

वैवाहिक जीवन असफल
फुटबलमा एक सफल खेलाडी पेलेले वैवाहिक जीवनमा कहिल्यै खुसी पाउन सकेनन् । सन् १९६६ मा उनले रोज मेरीसँग विवाह गरेका थिए । सन् १९८२ मा रोजसँग डिभोर्स भयो । सन् १९९४ मा उनले दोस्रोपटक विवाह गरे । एसिरिया लेमोससँगको वैवाहिक जीवन २००८ मा विच्छेद भयो । सन् २०१६ मा उनले तेस्रोपटक मार्सिया ओकी नामकी महिलासँग उनले विवाह गरेका थिए । तीन पत्नीबाट पेलेका सात सन्तान छन् । पछिल्लो समय उनी कान्छी श्रीमतीसँगै बस्दै आइरहेका थिए ।