मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
फाइल तस्बिर
नवराज मैनाली काठमाडाैं
२०७९ पौष १५ शुक्रबार ०६:०२:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

हिमाली जिल्लामा कार्यरत सशस्त्र प्रहरीलाई अब हिमाली चुस्ता र डाउन ज्याकेट 

Read Time : > 1 मिनेट
नवराज मैनाली, काठमाडाैं
२०७९ पौष १५ शुक्रबार ०६:०२:००

ट्रयाकसुट र स्पोर्टस् जुत्ताको सुविधा थपियो, जुनियर अधिकृतले पनि टपबुट पाउने

सशस्त्र प्रहरी नियमावली संशोधन गरेर राहत

- स्नो पार्क ज्याकेट मात्र दिने गरिएकोमा डाउन ज्याकेट पनि दिने निर्णय ।
- कटन प्याडेट युनिफर्म सुट दिने गरिएकोमा हिमाली चुस्ता दिने निर्णय ।
- सशस्त्र प्रहरी कर्मचारीले पाउने पोसाकमा ट्रयाकसुट र स्पोर्टस् जुत्ता थप, वर्षमा एक–एक जोर पाउने ।
- सिनियर अधिकृतले पाउँदै आएको टपबुट अब जुनियर अधिकृतलाई पनि । 
- गर्मी र जाडो मौसममा राजपत्रांकित अधिकृतहरूले मात्रै पाउने सेरेमोनियल ड्रेस अबदेखि सेरेमोनियल कार्यक्रममा भाग लिने सबै सशस्त्र कर्मचारीले पाउने । 
- सबै स्वास्थ्य प्राविधिक सशस्त्र प्रहरी कर्मचारीलाई दुई वर्षमा सेतो टेरिकटन एप्रोन उपलब्ध गराउँदै आएकोमा अब प्रत्येक वर्ष सेतो टेरिकटन स्क्रबसमेत थपियो । 

...                                   ...

उच्च हिमाली क्षेत्रमा खटाइएका सशस्त्र प्रहरीले हिमाली चुस्ता र डाउन ज्याकेट पाउने भएका छन् । सरकारले सशस्त्र प्रहरी नियमावली संशोधन गरी उनीहरूले पाउने स्केलका सामानमा संशोधन र थप गरेको हो । 

यसअघि उच्च हिमाली क्षेत्रमा कार्यरत सशस्त्र प्रहरीलाई जाडो छेक्ने पोसाक थिएन । स्नो पार्क ज्याकेट मात्र दिने गरिएको थियो । यो प्रभावकारी नभएपछि डाउन ज्याकेट पनि दिने निर्णय गरिएको हो । त्यस्तै, यसअघि कटन प्याडेट युनिफर्म सुट दिने गरिएकोमा संशोधन गर्दै हिमाली चुस्ता दिने निर्णय भएको छ । कटन प्याडेट युनिफर्म यसअघि प्रयोगमै आउन सकेको थिएन । बाह्रै महिना उच्च हिमाली क्षेत्रको सीमा सुरक्षामा खटाउने गरी यसरी पोसाकसम्बन्धी सुविधा संशोधन गरिएको हो । 
सशस्त्र प्रहरीको नियमावली संशोधनसम्बन्धी सूचना ११ पुसमा राजपत्रमा प्रकाशित भएको छ । कर्मचारीका व्यावहारिक समस्या समाधान गर्न र कतिपय विषयमा समानताका लागि नियमावली संशोधन भएको सशस्त्र प्रहरी बलले जनाएको छ । नियमावलीले सशस्त्र प्रहरी कर्मचारीको मनोबल बढ्ने सशस्त्र प्रहरी प्रवक्ता एसएसपी पुरुषोत्तम थापाले बताए । 

नियमावलीमा पोसाक तथा अन्य सामानहरूको सम्बन्धमा समेत संशोधन गरिएको छ । सशस्त्र प्रहरी कर्मचारीले पाउने पोसाकमा ट्रयाकसुट र स्पोर्टस् जुत्ता थप गरिएको छ । एक वर्षमा एक–एक जोर ट्रयाकसुट र स्पोर्टस् जुत्ता पाउने भएका छन् । सिनियर अधिकृतहरूले पाउँदै आएको टपबुट जुनियर अधिकृतलाई समेत उपलब्ध गराउने गरी नियमावली संशोधन भएको छ । त्यस्तै, राजपत्रांकित अधिकृतहरूका लागि मात्र गर्मी र जाडो मौसममा उपलब्ध गराइएको सेरिमोनियल ड्रेस पनि अबदेखि सेरिमोनियल कार्यक्रममा भाग लिने अन्य सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीले पाउने भएका छन् । त्यस्तै, सबै स्वास्थ्य प्राविधिक सशस्त्र प्रहरी कर्मचारीलाई दुई वर्षमा सेतो टेरिकटन एप्रोन उपलब्ध गराउँदै आएकोमा प्रत्येक वर्ष उनीहरूलाई सेतो टेरिकटन स्क्रबसमेत थप भएको छ । 

नियमावलीमा भए पनि कम्बल विगत केही वर्षदेखि खरिद नभएर वितरण रोकिएकोमा यसै वर्षदेखि खरिद प्रक्रिया सुरु भएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताए ।