गोठाटारमा मारिएका सर्लाही हरिवन नपा– २ का ५५ वर्षीय लाल मोहम्मद भनिने मोहम्मद दर्जी हत्याका लागि छुट्टाछुट्टै दुई समूह प्रयोग गरिएको खुलेको छ।
सोहीमध्येको एक समूहले बालाजु नेपालटारको लोलाङस्थित घरमा लुकाई राखिएका दुईवटा पेस्तोल बरामद भएपछि यो तथ्य खुलेको हो।
बालाजु वृत्तले दुई दिनअघि लोलाङस्थित भाडामा लिइएको फ्ल्याटबाट एउटा अटोमेटी र अर्को कटुवा पेस्तोल बरामद गरेको थियो। उक्त फ्ल्याट नौ महिनाअघि दुई अपरिचितले कपडा व्यापार गर्ने भन्दै भाडामा लिएका थिए।
उनीहरू खाना भने सोही फ्ल्याटको सटरस्थित होटेलमा खाने गर्थे। केही महिना लगातार होटेलमा खान आउने गरेका उनीहरू एकाएक बेपत्ता भएका थिए।
त्यसपछि भने फ्ल्याटमा अर्कै समूह बस्ने गरेका थिए। सोही समूह मोहम्मदको हत्यामा संलग्न रहेको प्रहरीको भनाइ छ। तर, फ्ल्याटमा बरामद भएको पेस्तोल हत्यामा संलग्न समूहले नभई अघिल्लो समूहले राखेको हुन सक्ने प्रहरीको भनाइ छ। मोहम्मद हत्यामा प्रयोग भएको पेस्तोल घटना स्थलमै बरामद भएको हुँदा प्रहरी यो निष्कर्षमा पुगेको हो।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी टेकप्रसाद राईले लोलाङमा दुईवटा पेस्तोल बरामद भएको र घटना सम्बन्धमा अनुसन्धान भइरहेको बताए। उनले भने, ‘लोलाङस्थित एउटा भाडाको फ्ल्याटबाट दुईवटा पेस्तोल बरामद भएको छ। पेस्तोल मोहम्मद हत्यामा प्रयोग भए-नभएको यकिन छैन। यसको ‘फरेन्सिक’ परीक्षण हुँदै छ। त्यसपछि मात्रै यसको विषयमा थप कुरा गर्न मिल्ला।’
चार महिनासम्म पनि कसैको आउजाउ नभएपछि घरबेटीले स्थानीयको रोहबरमा फ्ल्याटमा लगाइएको ताल्चा फोरेका थिए। कोठा खानतलासी गर्दा पेस्तोल भेटिएपछि घरबेटीले प्रहरी वृत्त बालाजुमा खबर गरेको थियो। प्रहरीले घटनाको अनुसन्धान गर्ने क्रममा आसपासका स्थानीयसँग समेत सोधपुछ गरेको थियो।
यस क्रममा मोहम्मदको हत्यामा प्रयोग भएका ‘सुटर’को फोटो स्थानीयलाई देखाएका थिए। स्थानीयले फोटोमा देखिएकामध्ये एकजना फ्ल्याटमा आउने-जाने गरेको बताएका थिए। त्यसपछि प्रहरी उक्त फ्ल्याट मोहम्मद हत्याका सुटरले प्रयोग गरेको निष्कर्षमा प्रहरी पुगेको थियो।
अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने, ‘मोहम्मद हत्यामा छुट्टाछुट्टै दुई समूह प्रयोग भएकोजस्तो देखिन्छ। अघिल्लो समूहले फ्ल्याट भाडामा लिए। तर, हत्या गरेनन्। त्यसपछि अर्को समूह प्रयोग भयो। उनीहरूमध्ये केही उक्त फ्ल्याटमा जाने-आउने गरेको देखिन्छ। उनीहरूले नै मोहम्मदको हत्या गरेकोजस्तो देखिन्छ।’