मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एजेन्सी काठमाडौं
२०७९ पौष १२ मंगलबार ०७:४८:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

स्पेनका पूर्वअन्तर्राष्ट्रिय खेलाडी नेपाल आउँदै

Read Time : > 1 मिनेट
एजेन्सी, काठमाडौं
२०७९ पौष १२ मंगलबार ०७:४८:००

 विश्व चर्चित स्पेनिस क्लब बार्सिलोना र रियल म्याड्रिडका पूर्वखेलाडी  जुलियो सालिनास र रुबेन डे ला रेड दुई मैत्रीपूर्ण खेलका लागि कासेरेन्यो फुटबल क्लबको टोलीसँगै नेपाल आउने भएका छन् । १३ पुसमा गण्डकी ११ र १४ पुसमा काठमाडौं ११ विरुद्ध मैत्रीपूर्ण खेल खेल्न रुबेन डे ला रेड र सालिनास मंगलबार नेपाल आइपुग्नेछन् । कासेरेन्योको टोलीलाई स्पेनस्थित नेपाली राजदूत डा. शर्मिला पराजुली ढकालले बिदाइ गरेकी थिइन् । ‘शान्तिका लागि फुटबल’ नाराका साथ लुम्बिनी गार्डेन फाउन्डेसनले आयोजना गर्न लागेको दुई मैत्रीपूर्ण खेलका लागि काठमाडौं र गण्डकीका दुवै टोली तयार भइसकेका छन् ।

स्पेनिस टोलीसँग खेल्ने गण्डकी–११ टोलीको नेतृत्व नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान अनिल गुरुङले गर्नेछन् । गण्डकीको टोली राजेन्द्र तामाङको प्रशिक्षणमा रहनेछ । राष्ट्रिय टोलीका पूर्वकप्तान विराज महर्जनले काठमाडौं–११ को कप्तानी सम्हाल्नेछन् । मेघराज केसीको प्रशिक्षणमा रहने टोलीबाट काठमाडौंमा रहेका अन्य राष्ट्रिय खेलाडीले खेल्ने आयोजकले जनाइसकेको छ । स्पेनिस लिग संरचनामा दोस्रो डिभिजनको क्लब कासेरेन्योमा स्पेनको राष्ट्रिय टोलीबाट खेलिसकेका म्यानुयल सान्चेज डेल्गाडो (मोनोलो) पनि सहभागी हुनेछन् । 

६० वर्षे भेट्रान खेलाडी सालिनासले व्यावसायिक फुटबल करिअरमा ६ पटक घरेलु लिगको उपाधि जितेका थिए । एथ्लेटिक बिल्बाओ, एट्लेटिको म्याड्रिड र बार्सिलोनाजस्ता ठूला क्लबहरूबाट खेलिसकेका सालिनासले १९९२ मा बार्सिलोनाबाट युइएफए च्याम्पियन्स लिगको उपाधि जितेका थिए । सन् १९८६ देखि १९९६ सम्म १० वर्ष स्पेनिस राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्ने क्रममा स्ट्राइकर सालिनासले ५६ अन्तर्राष्ट्रिय खेलमा २२ गोल गरेका थिए ।

६ फिट दुई इन्च अग्ला सेन्टर स्ट्राइकर सालिनास १९८० र ९० को दशकमा स्पेनिस फुटबलका स्टार खेलाडी थिए । विपक्षीको पोस्टमा निकै प्रभावकारी रहने खुबीका लागि उनी प्रसिद्ध थिए । सात फरक क्लबबाट खेलेका उनले पाँच सय ५७ खेलमा दुई सय ४६ गोल गरेका थिए । सन् २००८ मा स्पेनले युरोपियन च्याम्पियनसिप जित्दा डे ला रेड टोलीका सदस्य थिए । ३७ वर्षे मिडफिल्डरले गेटाफे र रियल म्याड्रिडबाट व्यावसायिक फुटबल खेलेका थिए ।

म्याड्रिडबाट २००६–०७ को सिजनमा स्पेनिस ला लिगा तथा २००८ मा स्पेनिस सुपर कपको उपाधि जित्दा डे ला रेड सदस्य थिए । गेटाफे २००७–०८ को सिजनमा गेटाफे कोपा डेल रेको उपविजेता बन्दा उनी टोलीका सदस्य थिए ।