१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७५ चैत २० बुधबार ०९:२५:००
Read Time : < 1 मिनेट
खेलकुद

खेल मैदान निर्माणका लागि वृद्धवृद्धासँगै युवा र बालबालिकाको श्रमदान

Read Time : < 1 मिनेट
२०७५ चैत २० बुधबार ०९:२५:००

लमजुङको बेसीसहर नगरपालिका–२ भकुन्डेका स्थानीय गाउँमा खेलमैदान बनाउन आफैँ जुटेका छन् । स्थानीय अन्नपूर्ण युवा क्लबको अगुवाइमा बनिरहेको फुटबल मैदानका लागि वृद्धवृद्धासँगै युवा र बालबालिका श्रमदानमा जुटेका हुन् ।

भकुन्डेको खत्रीगाउँनजिकैको गौचरन जमिनलाई सम्याएर खेलमैदान निर्माण गरिएको छ । इलेभेन ए साइडको खेलमैदान निर्माण गर्ने योजना गाउँलेको छ । सीमित स्रोतसाधनका कारण हाल नाइन ए साइडको मैदान निर्माण भइरहेको छ । २५ रोपनी क्षेत्रफलमा बनाउन लागिएको मैदानका लागि साढे नौ रोपनी जग्गा व्यक्तिसँग किन्नुपर्नेछ ।

जग्गादान
त्यस्तै खेलमैदानका लागि केही स्थानीयले जग्गादानसमेत गरेका छन् । स्थानीय काजीराम बस्नेतले एक रोपनी, पदमकुमारी खड्काले साढे आठ आना, विष्णुमाया खड्काले नौ आना, ले.खड्कबहादुर बस्नेतले नौ आना जग्गादान गरेका छन् । बाँकी सात रोपनी जग्गा किन्न चन्दा संकलन गरिएको खेलमैदान निर्माण समितिका अध्यक्ष मिलन थापाले जानकारी दिए ।

एक सय पाँच मिटर लम्बाइ र ७० मिटर चौडाइको खेलमैदानसँगै स्टेडियम, कभर्डहल निर्माण गर्ने गाउँलेको योजना छ । सबै निर्माण सक्न साढे दुई करोड रुपैयाँ लाग्ने अनुमान छ । खेलमैदान निर्माणका लागि हालसम्म प्रतिनिधिसभा सदस्य एवं नेकपा संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले संसद् पूर्वाधार कोषबाट १४ लाख र बेसीसहर नगरपालिकाले पाँच लाख रुपैयाँ सहयोग गरेका छन् । स्थानीयबाट चार लाख ७८ हजार दुई सय ७२ रुपैयाँ चन्दा संकलन गरेर खर्च गरिएको अन्नपूर्ण खेलमैदान निर्माण समितिका सचिव गोविन्द खड्काले बताए ।

खेलमैदान निर्माणले गाउँलेमा खुसी छाएको वडाध्यक्ष गणेश कँडेलले जानकारी दिए । खेलमैदान पूर्ण रूपमा सम्पन्न गर्न आफूहरू लागिपरेको उनले जानकारी दिए ।