
नयाँ बन्ने सरकारमा पहिलो प्रधानमन्त्री को बन्ने भन्ने विषय नटुंगिँदा सत्तागठबन्धन विघटनको संघारमा पुगेको छ। गठबन्धनका प्रमुख दुई दल कांग्रेस र माओवादी दुवैले पहिले प्रधानमन्त्री आफूले पाउनुपर्ने अडान राखेका छन्।
यस्तोमा कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्रीको अडान नछाडे गठबन्धन कायम नरहने माओवादीले बताएको छ। माओवादीका महासचिव देव गुरुङले नयाँ पत्रिकासँग कुरा गर्दै कांग्रेस आफ्नो अडानबाट पछि नहटे गठबन्धन नरहने प्रस्ट्याएका हुन्।
‘हिजो बालुवाटार बैठकमा कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपतिको अडान छाडेको थिएन। आइतबार थप छलफल गरेर टुंगोमा पुग्ने भन्ने थियो। कांग्रेसले आज अनौपचारिक रूपमा त्यही अडान दोहोर्याएर माओवादीले प्रस्तावमा समर्थन गर्नुपर्यो भन्ने प्रस्ताव विमलेन्द्र निधिले सुनाए,’ महासचिव गुरुङले भने, ‘गठबन्धनको अरू घटकलाई नचाहेपछि गठबन्धन रहिरहने भन्ने अवस्था रहँदैन। पदाधिकारी बैठकमा त्यो कुरा भएको हो। निर्णायक वार्ता प्रचण्डले गर्नुहुन्छ। गठबन्धन रहने–नरहने टुंगो त्यहीँबाट लाग्छ।’
अहिले बालुवाटारमा गठबन्धनका मुख्य दलका शीर्ष नेताहरू बैठकमा छन्। सरकार गठनका लागि राष्ट्रपतिले दिएको एक हप्ताको समय आज साँझ ५ बजे सकिँदै छ। अब बन्ने सरकारको नेतृत्व आफैँले गर्नुपर्ने देउवा र प्रचण्डको अडानले सत्तागठबन्धन संकटमा परेको छ। यसअघि शनिबार पनि निर्णायक भनिएको गठबन्धनको बैठक विनानिष्कर्ष सकिएको थियो।