मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ पौष ९ शनिबार १२:२९:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

महानगर प्रहरी प्रमुखले महिला हिंसा गरेको आरोप, छानविन रोकेर उल्टै पुरस्कृत

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ पौष ९ शनिबार १२:२९:००

काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख राजु पाण्डेमाथि महिला हिंसा गरेको आरोप लागेको छ। उनले कनिष्ठ महिला प्रहरीमाथि तथानाम र ज्यादती गरेको आरोप लागेको हो।

सुत्केरी अवस्थामा काम गर्न गाह्रो भएको र अनुकुल व्यवस्था गरिदिन आग्रह गर्दा उल्टै तथानाम शैलीमा धाकधम्की र ज्यादती गरेका भन्दै पाण्डेविरुद्ध महिलाले महानगरमा एक महिनाअघि नै उजुरी दिएकी थिइन्। तर, मापदण्डविपरीत उजुरी छानविन नै नगरी मेयर बालेन्द्र साहले पाण्डेलाई पुरस्कृत गरेका छन्।

नगर प्रहरी हवल्दार गंगा उप्रेतीले प्रहरी प्रमुख पाण्डेले ज्यादती गरेको भन्दै गत ९ मंसिरमा महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीलाई न्यायको याचना गर्दै निवेदन दिएकी थिइन्। तर, त्यसको छानविन नै नगरी गुपचुप राखिएको छ। उल्टै गत २९ मंसिरमा मेयर साहले उत्कृष्ट काम गरेको भन्दै ‘महानगर गौरव’ पदकबाट पुरस्कृत गरे। लैंगिक हिंसामा कारवाहीमा नपरेको हुनुपर्ने पुरस्कार मनोनयनको मापदण्डविपरीत छानविनै नगरी पाण्डेलाई पुरस्कृत गरिएको थियो।

प्रहरी प्रमुखको ज्यादती उल्लेख गर्दै हवल्दार उप्रेतीले प्रमुख प्रशासकीयलाई भावुक निवेदन दिएकी छिन्। उनी अघिल्लो माघमा सुत्केरी भएकी थिइन्। अपरेसन गरेको सुत्केरी अवस्थामा कामको असहजतालाई नबुझी तथानाम गरेको उजुरीमा उल्लेख छ। ‘आफूले रहरले पाएको बच्चा कसरी हुर्काउने हो आफैं गर्ने’, ‘तैंले मेरो बच्चा पाएको होस् र तैंले जस्तो भन्यो त्यस्तै ड्युटी मिलाउनलाई’, ‘१२ घण्टा ड्युटी गर्न नसक्ने भए राजीनामा दिएर जानू’, ‘बच्चा बोकेर आउने भए अहिल्यै राजीनामा दे’लगायतका धम्की र ज्यादती गरेको निवेदनमा उल्लेख छ।

सँगै लिएर गएका पतिमाथि हातपात गरी कपडा च्यातेको तथा बहिनीलाई तथानाम गाली र अभद्र व्यवहार गरेको पनि उनले निवेदनमा उल्लेख गरेकी छिन्। पाण्डेको व्यवहारबाट आजित भएकी उनले महानगरमा राजीनामापत्र नै बुझाएकी थिइन्। तर, राजीनामा स्वीकृत नगरी थमाएर राखिएको छ। निवेदनउपर हालसम्म महानगरले पाण्डेलाई स्पष्टीकरणसमेत सोधेको छैन।

यो विषयले अहिले महानगरमा तरंग सिर्जना गरेको छ। पाण्डेले हाजिर गर्न रोकेका महिला प्रहरी उप्रेती अहिले प्रशासनमा हाजिर गरिरहेकी छिन्। उनलाई हाजिर गराउने प्रशासन विभाग प्रमुखलाई कारवाहीस्वरुप सरुवा गरिएको छ। पाण्डेलाई गत भदौमा मेयरले प्रहरी प्रुमखमा बढुवा गरेका थिए। प्रहरी प्रमुख बनेपछि पाण्डे विवादास्पद बन्दै आएका छन्।
 
महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले महिला हिंसाको विषयमा महानगर संवेदनशील रहेको बताए। महिला हिंसासम्बन्धी विषय भएकाले उजुरी न्यायिक समितिमा पठाइने उनले बताए। ‘महिला हिंसाको विषयमा महानगर संवेदनशील छ,’ उनले भने, ‘छानविनबाट दोषी देखिए कारवाही हुनुपर्छ।’