
बाराको महागढीमाई नगरपालिका– २ भूतहीपुलनजिकै शुक्रबार साँझ एक भारतीय नागरिकमाथि गोली प्रहार गर्नेहरू फरार भएका छन् । गोली लागेर भारतको पिपरा गाउँका ४५ वर्षीय शिवपुजन यादव गम्भीर घाइते भएका छन् ।
बाराका प्रहरी प्रवक्ता डिएसपी राजेश थापाले यादवको वीरगन्जस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको जानकारी दिए । उपचारमा संलग्न चिकित्सककाअनुसार यादवकोछातीमा गोली लागेको छ भने अवस्था गम्भीर छ ।
कलैया–बरियारपुर सडक खण्डको श्री स्वस्तानी पेट्रोल पम्पनजिक रहेको एक होटेलमा खाजा खाइरहेका वेला उनीमाथि गोली प्रहार भएको एक प्रत्यक्षदर्शीले बताएका छन् ।
उनका अनुसार मोटरसाइकलमा आएका दुईमध्ये पछाडि बसेका व्यक्तिले यादवमाथि गोली प्रहार गरेका थिए । गोली प्रहार गरेपछि दुवैजना मोटरसाइकलमै भागेको स्थानीयलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।
डिएसपी थापाले गोली हान्नेहरूको खोजी भइरहेको बताए । ‘गोली हानेर फरार भएकाहरूको तीव्र रूपमा खोजी भइरहेको छ,’ डिएसपी थापाले नयाँ पत्रिकासँग भने, ‘घटनास्थल र सीमा नाकामा व्यापक प्रहरी परिचालन गरेर खोजी गरिरहेका छौँ ।’
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेअनुसार यादव महागढीमाई नगरपालिकाको बरियारपुमा रहेका एक आफन्तको घरमा करिब ६ महिनादेखि बस्दै आएका थिए ।