१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १o:५२:oo
Read Time : > 3 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

महोत्तरीकाे मटिहानी तरकारी खेतीमा आत्मनिर्भर बन्दै

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १o:५२:oo

महोत्तरीकाे मटिहानी नगरपालिका कृषि कर्मका लागि नाम चलेको पालिका हो । यो पालिका तरकारी खेतीदेखि मखान खेतीसम्म प्रसिद्ध छ भने माछाकै लागि समेत मटिहानीमा पर्याप्त पोखरी छन् । 

खेतमा पसिना बगाउन नहिच्किचाउने मटिहानीका कृषक भने यस भेगकै तरकारीको माग पूर्ति गर्न सक्षम भए पनि पर्याप्त साधन–स्रोत र सरकारको अपेक्षाकृत सहयोग भने पाउन सकेका छैनन् ।

केही कृषकबाहेकका अधिकांशले विना कुनै सहयोग र अनुदान उदाहरणीय खेती गर्न भ्याएका छन् । तरकारी खेतीकै लागि मटिहानीका ९ वडामध्ये वडा नं. ३ र ६ परिचित छन् । वडा नं. ३ (बरदाहा)का अधिकांश खेतमा तरकारीकै विभिन्न प्रकारले भरिभराउ देखिन्छन् । 

काउली, भान्टा, गोलभेँडालगायतका तरकारीले अहिले बरदाहाका खेत भरिएका छन् भने कृषक मलखाद, सिँचाइ, गोडमेल र बेचबिखनका लागि तयारी अवस्थामा छन् । 

तरकारी खेतीबाटै बरदाहाका मकबुल कवारीले छोरालाई सिभिल इन्जिनियर पढाउन सकेका छन् । दुई वर्ष पहिले पढाइ सकेर जागिरका लागि प्रयास गरिरहेका मकबुलका छोरा २१ वर्षीय मोहम्मद जुवेर आलम फुर्सदको वेला बुबाआमालाई खेतीमा सघाउँदै आएका छन् ।

मकबुलका जेठा छोराले वैदेशिक रोजगारीबाट पठाएको पैसा बचत गर्न र सम्पत्ति जोड्न सकेको बताउने उनले तरकारी खेतीबाट परिवारको अन्य खर्च धान्ने गरेको बताए । तर, हालसम्म तीन तहको सरकारमध्ये कुनैले पनि तरकारी खेतीमा कुनै सहयोग नगरेको उनको दुखेसो छ । उनी वडामा  र नगरमै आउने मलखाद र बिउबिजनसमेत हालसम्म नपाएको बताउँछन् ।

तरकारी नगदेबाली भएको र समयमै बजारसम्म पुर्‍याउन सके राम्रै आम्दानी हुने गरेकोले बरदाहाका कृषक तरकारी खेतीप्रति उत्साहित छन् । समयसमयमा तरकारीमा लाग्ने विभिन्न रोगले भने कृषकलाई सताउने गर्छ । यता नीलगाई र जंगली सुँगुरले तरकारी खाइदिने गरेको पीडासमेत किसानको छ ।

यता मकबुलका भाइ सकबुल कवारीसँगसमेत डेढ बिघा जग्गा छ । दाइजस्तै उनीसमेत श्रीमती र छोराछोरीको सहयोगमा खेतमै व्यस्त रहने गरेका छन् ।  परिवारको मुख्य आयस्रोतको माध्यम नै तरकारी खेती भएकोले परिवार नै सकबुलको सहयोगी भएका छन् । खेतमा परिवारकै सदस्यले काम गर्न नभ्याएपछि मकबुल र सकबुललगायत सो क्षेत्रका अन्य कृषकले दैनिक ज्यालादारीमै समेत मानिस राखेर खेतीलाई निरन्तरता दिँदै आएका छन् ।

मुस्लिम समुदायको बाहुल्य रहेको वडा नं. ३ मा मुस्लिम समुदायकै अधिकांश कृषक तरकारी खेतीमा निर्भर छन् । जग्गा हुने कृषकको आम्दानी पनि सन्तोषजनक नै छ । कृषक आफ्नो कर्ममा विश्वास रहेकाले कतैबाट अनुदान वा सुविधा नपाए पनि कर्म नछाड्ने पक्षमा छन् ।

यस्तो छ मटिहानीको तरकारी खेतीकाे तथ्यांक

महोत्तरीमा कुल ६७ हजार तीन सय ५२ हेक्टर जग्गामा खेती हुने गरेकोमा मटिहानी नगरपालिकामा दुई हजार ६ सय ४८ हेक्टर जग्गामा खेती हुने गरेको छ । सोमध्ये वर्षे र हिउँदे  तरकारी पाँच सय  हेक्टरभन्दा बढी क्षेत्रफलमा हुने गरेको कृषि ज्ञान केन्द्र महोत्तरीले आर्थिक वर्ष २७७\७८ मा निकालेको जिल्लाको कृषि तथ्यांक पुस्तिकामा उल्लेख छ । 

सोही आर्थिक वर्षको तथ्यांकअनुसार खेती हुने क्षेत्रफलमध्ये ९१ हेक्टरमा पूर्ण सिँचाइको व्यवस्था छ भने दुई  हजार एक सय ५५ हेक्टरमा आंशिक सिँचाइको व्यवस्था छ । अझै चार सय दुई  हेक्टर जग्गामा सिँचाईको व्यवस्था हुन सकेको छैन ।

किसानलाई सास्ती, व्यापारीलाई मस्ती

कृषकले खेतमा पसिना बगाएर उत्पादन गरेको तरकारी बेच्न भने मटिहानीका कृषकसँग पर्याप्त बजार छैन । मटिहानी नगरपालिकास्थित एक बजारबाहेक अन्य केही गाउँमा साना बजार छन्, तर ती बजारमा समेत व्यापारीकै हालिमुहाली छ । 

कुनै ठाउँमा व्यवस्थित बजार नहुँदा कृषकले उत्पादन गरेको तरकारी व्यापारीको माध्यमले अन्य बजारसम्म पठाउने बाध्यता छ । यही ठाउँमा उत्पादन भइरहेको तरकारी जनकपुर, पिपरा, सहोडवा, पर्सा, बसहिया र फूलगामालगायतका बजारमा पठाउँदा सोही स्थानमा कृषकको सीधा पहुँच छैन । 

कृषकले व्यापारीलाई खेतमै वा बजारको छेउमा लगेर उत्पादित तरकारी बेच्ने र सोपछि व्यापारीले उपभोक्तालाई बेच्ने भएकोले कृषकसँग किनिएको मोलभन्दा निक्कै महँगोमा मात्र उपभोक्ताको भान्सासम्म तरकारी पुग्ने गरेको छ।

यता भारतबाट आउने तरकारीले समेत मटिहानीका कृषकलाई सास्ती दिएको छ । मटिहानीका कृषकले लागतअनुसार थोरै बढी पैसा व्यापारीसँग मागेमा व्यापारीले भारतीय बजारबाट सस्तोमै तरकारी ल्याएर बजार भरिदिन्छन् । यसले मटिहानीका कृषकको तरकारी खेतमा कुहिने सम्भावना देखिन्छ । 

स्थानीय सरकारको ध्यानाकर्षण 

मटिहानीका मेयर हरिप्रसाद मण्डलले यसपटक आफूले कृषिलाई मुख्य प्राथमिकतामा राखेर योजना बनाएको र सोहीअनुरूप काम गरिरहेको बताए । उनले सरकारी अनुदान तथा अन्य सहयोगका लागि कृषकलाई दर्ता प्रक्रिया वा समूह निर्माण गरी अगाडि बढ्नुपर्नेमा सबै कृषकले सोहीअनुरूप गर्न नसकेकोले उनीहरूको तथ्यांक संकलन अझै पनि प्राथमिकतामा रहेको बताए ।

उनले कृषि मिटर, सिँचाइ, उपकरण र बिउबिजन तथा खाद्यकै लागि समेत मटिहानी नगरपालिकाले भूमिका निर्वाह गरिरहेकोमा अबको केही समयमै कृषकले स्थानीय सरकारको अनुभूति गर्ने मेयर मण्डलले बताए ।  

ज्ञान केन्द्रसँग जोडिएका कृषक लाभान्वित 

यता कृषि ज्ञान केन्द्रसँग जोडिएका कृषक भने लाभान्वित हुने गरेको कृषि ज्ञान केन्द्र महोत्तरीले जनाएको छ । ज्ञान केन्द्रका प्रमुख डा. रामचन्द्र यादवले मटिहानी नगरपालिकाबाट अनुदानका लागि आएको निवेदनमध्ये कुनै पनि फिर्ता नभएको र सबैलाई लाभ दिइएको बताए । 

उनले विभिन्न समयमा कृषि आधुनिकीकरणका लागि कार्यालयबाट उपलब्ध हुँदै आएको सेवा लिन आवेदन लिएर आएका कृषकको शतप्रतिशत निवेदन स्वीकार गरेर कार्यालयबाट उपलब्ध हुने सेवा सुविधा प्रदान गरिएको जानकारी दिए । 

त्यसतै, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ कार्यालयका प्रमुख वरिष्ठ बाली अधिकृत ललनकुमार सिंहले महोत्तरीका विभिन्न आठ पालिकामा आफ्नो कार्यक्रम रहेको बताए । उनले मटिहानीमा हालसम्म कार्यक्रम नरहे पनि जिल्लाका विभिन्न पालिकामा कार्यक्रम सुचारु रहेको र यसकै समेत मूल्यांकन भइरहेको बताए ।

कार्यालय प्रमुख सिंहले कृषि क्षेत्रमा अझै धेरै सुधारका कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यक रहेको बताए । उनले कृषि क्षेत्रमा इमानदारीका साथ सबै निकायले सकारात्मक भूमिका निर्वाह गरेमा निश्चय पनि यहाँका किसानले कृषि कर्म गरेरै धेरै प्रगति गर्न सक्ने बताए । 

ad
ad