Skip This
फोक्सिंटार पुल १० वर्षपछि सञ्चालनमा, सडक नबन्दा समस्या कायमै
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष ७ बिहीबार
  • Tuesday, 13 May, 2025
२o७९ पौष ७ बिहीबार १७:४३:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

फोक्सिंटार पुल १० वर्षपछि सञ्चालनमा, सडक नबन्दा समस्या कायमै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ पौष ७ बिहीबार १७:४३:oo

दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने सुनकोसीस्थित फोक्सिंटाररमा निर्माणाधीन मोटरेबल पक्की पुलको निर्माण सकिएको छ। ०७३ चैत २२ गते सम्पन्न गर्ने गरी ०६९ चैत २३ मा गौरी पार्वती बाइपी जेभीसँग सम्झौता भएको फोक्सिंटार पक्की पुल निर्माण सुरु गरेको १० वर्षपछि बिहीबारबाट सञ्चालनमा ल्याइएको हो।

तराईसँग सीधा सम्पर्क हुने दिक्तेल–गाईघाट सडकखण्डको फोक्सिंटारमा निर्माण गरिएको मोटरेबल पक्की पुल सञ्चालनमा आएसँगै जिल्लाको समग्र विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले बताए। ‘ढिलै भए पनि सुनकोसीस्थित फोक्सिंटारमा निर्माण गरिएको पुल सञ्चालनमा आएको छ। पुल सञ्चालनमा आएसँगै आवतजावतका साथै दैनिक उपभोग्य वस्तु तथा निर्माण सामग्री ढुवानीमा सहज भएको छ। यसले जिल्लाको समग्र विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ,’ उनले भने।

सगरमाथा राष्ट्रिय राजमार्गअन्तर्गत खोटाङबाट पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने सबैभन्दा छोटो दूरीको पुल निर्माण ठेकेदार कम्पनीको लापरबाहीका कारण ढिलासुस्ती हुँदै आएको थियो। निर्माण कार्यमा ढिला हुँदा सात वर्षदेखि फोक्सिंटारमा अस्थायी बेलिब्रिज जडान गर्ने र झिक्ने गर्दैमा राज्यकोषको करोडौँ रकम खर्च भएको थियो।

अस्थायी रूपमा जडान गरिने फोक्सिंटाटारको बेलिब्रिज हटाएपछि कटारी–घुर्मी–जयराम हुँदै यात्रा गर्नुका साथै दैनिक उपभोग्य सामग्री ढुवानी गर्नुपर्ने जिल्लावासीको बाध्यता थियो। खोटाङ र भोजपुरलाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने मध्यपहाडी लोकमार्ग सडक खण्डअन्तर्गत जयरामघाटपछिको अर्को महत्वपूर्ण राजमार्गमा पर्ने फोक्सिंटारमा पक्की पुल नहुँदा हरेक वर्ष वर्षातको समयमा यातायात ठप्प हुँदै आएको थियो। पुल अभावमा हरेक वर्ष करिब छ महिना उक्त सडकखण्ड अवरुद्ध हुँदा जिल्लामा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि हुने गरेको थियो।

फोक्सिंटार पुल निर्माणमा भइरहेको ढिलासुस्तीका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि चासो देखाएको थियो। ठेक्का लागेको लामो समयसम्म पुल निर्माणको प्रगति ‘शून्य’ देखिएपछि अख्तियारले ढिलासुस्ती नगर्न र तोकिएको म्यादभित्र सम्पूर्ण काम पूरा गर्न ०७४ माघ २ गते ठेकेदार कम्पनीलाई पत्राचार गरेको थियो।

फोक्सिंटाटारमा सुरुमा ‘ससपेन्सन ब्रिज’ निर्माणका लागि ठेक्का लागेको थियो। तर, त्यसको सट्टा ‘आर्क’ डिजाइनको पक्की पुल निर्माण गर्ने भन्दै ०७३ कात्तिकमा डिजाइन परिवर्तन गरिएको थियो। फोक्सिंटारको भौगोलिक स्वरूप अप्ठ्यारो भएका कारण ‘ससपेन्सन ब्रिज’ निर्माणको काममा ढिलाइ हुने भएको भन्दै डिजाइन परिवर्तन गरिएको थियो।

यद्यपि, यात्रुहरूको समस्यालाई मध्यनजर गर्दै फिनिसिङ (रंगरोगन तथा वाइरिङ) नहुँदै पुलमा यातायात सञ्चालन गरिएको निर्माण व्यवसायी रामकुमार थापाले बताए। ‘निर्माणाधीन फोक्सिंटार पुलमा अहिले रंगरोगन र वाइरिङ गर्ने काम तीव्रगतिमा भइरहेको छ,’ उनले भने, ‘हप्ता दिनभित्र सबै काम सम्पन्न गरेर औपचारिक रूपमा उद्घाटन गर्ने तयारीमा लागेका छौँ।’

खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने यो पुल १२० मिटर लामो छ। भ्याटसहित रु २२ करोड ६७ लाख ११ हजारमा पूरा गर्ने गरी निर्माण कम्पनीले ठेक्का लिएको थियो। 

यता, कालोपत्रेको काम थालिएको दिक्तेल–गाईघाट सडकखण्डको महुरे–फोक्सिंटाटार (४९ किलोमिटर) सडक भने अलपत्र अवस्थामा छ। जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट तराईका जिल्ला जोड्ने सबैभन्दा छोटो मार्गमा पर्ने उक्त सडकखण्ड ठेकेदार कम्पनीको लापरबाहीले अलपत्र परेको हो।

मध्यपहाडी लोकमार्गबाट छुट्टिने महुरेदेखि राजापानीको सिम्पानी (२२ किलोमिटर) सडक कालोपत्रको काम भारत कन्स्ट्रक्सन-सिद्धी शाही जेभी तथा सिम्पानी भञ्ज्याङदेखि फोक्सिंटार (२७ किलोमिटर) सडक खण्डको काम देवनारायण पवन-मैनाचुली-खाम्पाचे जेभीले जिम्मा लिएको थियो। दुवै सडक ठेकेदारको लापरबाहीले कालोपत्रको काम नहुँदा हिउँदमा धुलो र वर्षामा हिलोका कारण यात्रुहरू समस्यामा पर्ने गरेका छन्।