Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ पौष ५ मंगलबार २०:४६:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

व्यापारीमाथि गोली प्रहार गर्नेको अझै भएन पहिचान

Read Time : > 1 मिनेट
२०७९ पौष ५ मंगलबार २०:४६:००

प्रहरीले कैलालीको अत्तरिया बजारनजिक पूर्व–पश्चिम राजमार्गमा एकजना सुनचाँदी व्यवसायीमाथि गोली प्रहार गर्नेको खोजी तीव्र पारेको छ । गोली प्रहारमा संलग्नको खोजीका लागि जिल्ला प्रहरी कार्यालय र प्रदेश प्रहरी कार्यालयको छुट्टाछुट्टै टोली खटिएको छ । अत्तरियामा सुनचाँदी पसल सञ्चालन गर्दै आएका २७ वर्षीय विकास सुनारमाथि आइतबार बेलुकी गोली प्रहार भएको थियो । 
अत्तरिया बजारमा रहेको आफ्नो सुनचाँदी पसल बन्द गरेर मोटरसाइकलमा घर जाने क्रममा बजारनजिक बनखेतस्थित सशस्त्र प्रहरी ब्यारेकअगाडि सुनारमाथि गोली प्रहार भएको हो । मोटरसाइकलमा आएका दुईजनाले गोली प्रहार गरेको प्रहरीले जनाएको छ । घटना भएको तेस्रो दिन बित्दा गोली प्रहार गर्नेको पहिचान भने हुन सकेको छैन । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले संलग्नको खोजी तीव्र पारिएको बताए ।
‘संलग्नको पहिचान भइसकेको छैन । हामीले खोजी कार्य तीव्र पारेका छौँ,’ जोशीले भने । घटनास्थल आसपासको सिसिक्यामेरा बिग्रेकाले अनुसन्धानमा समस्या भएको प्रहरीले जनाएको छ । दाहिने हात र कम्मरमा गोली लागेका विकासको स्वास्थ्य अवस्था सामान्य छ । सुनारले आफू ढलेपछि साथमा रहेको करिब ३० तोलाका सुनका गरगहना र दुई लाख रुपैयाँ नगदसहितको झोला बन्दुकधारीले लुटेर लगेकाे प्रहरीलाई बताएका छन् ।
घोडाघोडी नगरपालिकाको सुखडमा घर भएका विकासले गत वैशाखदेखि अत्तरियामा घोडाघोडी सुनचाँदी पसल सञ्चालनमा ल्याएका थिए । उनको परिवारको सुखडमा पनि सुनचाँदी पसल छ । घटनाको विरोधमा कैलालीका सुनचाँदी व्यवसायी आन्दोलनमा उत्रिएका छन् । घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्याउन र व्यावसायिक सुरक्षाको माग गर्दै सुनचाँदी व्यवसायीहरूले मंगलबार जिल्ला प्रशासन कार्यालयअगाडि प्रदर्शनसमेत गरेका छन् । अत्तरियाका सुनचाँदी व्यवसायीहरूले सोमबार पसल बन्द गरेर घटनाको विरोध गर्नुका साथै सुरक्षाको व्यवस्था गर्न माग गरेका थिए । शान्ति सुरक्षाको प्रत्याभूति गराएर भयरहित भएर व्यवसाय गर्ने वातावरण मिलाउन व्यवसायीहरूले आग्रह गरेका छन् ।