१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
फाइल तस्बिर
२o८१ बैशाख २१ शुक्रबार १८:१६:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

दुर्गमका दुःख : हातमा स्मार्टफोन, सम्पर्क गर्न कुर्नुपर्छ घाम  

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १८:१६:oo

तातोपानी गाउँपालिका–४ गिडीखोलाका भक्तबहादुर सार्कीको हातमा स्मार्ट मोबाइल छ। हातमा स्मार्ट मोबाइल त छ, तर सम्पर्क गर्न कहिलेकाहीँ त हप्तौँ कुर्नुपर्छ। सार्कीको घरनजिकै टेलिफोनको टावरसमेत नभएको होइन। मोबाइलमा नेटवर्क आउन घाम कुर्नुपर्छ। 

घाम लागेपछि मात्रै मोबाइलमा नेटवर्क आउने गरेपछि बिहान बेलुका राति फोन सम्पर्क नहुँदा खबर आदानप्रदानमा समस्या हुने गरेको उनले बताए। 

तातोपानी गाउँपालिका जुम्लाको सदरमुकाम खलंगासँगै जोडिएको पालिका हो, तर टेलिफोन सेवाका लागि धेरै दुर्गमजस्तो मानिएको छ। तातोपानी गाउँपालिका–४, ५, ६ वडामा पर्ने गिडीखोला, नियापानी, पर्थेनी, पाण्डेबाडा, हाकु, गौतमबाडा, हियाखोला, ऐेरेनी, लाम्रा, श्रीनगर गाउँबस्तीका नागरिकले डेढ वर्षदेखि यो समस्या भोग्दै आएका छन्। 

यस्तै, चन्दननाथ नगरपालिका – ८, ९, १० वडामा पर्ने खल्लागाउँ, सिलाम, बारकोटेवाडा, उमगाड, श्रीढुस्का, तलिउम, माझउम, जातिभिडलगायत बस्तीले पनि नेटवर्क समस्या भोग्दै आएका छन्। यिनै गाउँबस्तीलाई लक्षित गरी नेपाल टेलिकम जुम्लाले स्थापना गरेको  हाँकु लाग्ना टेलिफोन टावरले घाम लागेपछि काम गर्ने हुनाले सेवाग्राहीले हैरानी खेप्नुपरेको हो। यो टावर सौर्य ऊर्जामार्फत सञ्चालनमा छ। 

डेढ वर्षदेखि टेलिकमले नेटवर्क सुधार गर्न बेवास्ता गरेपछि तातोपानी गाउँपालिका–४ का स्थानीयले प्रमुख जिल्ला अधिकारीसमक्ष ध्यानाकर्षण गरेका छन्। ध्यानाकर्षणपत्र बुझाएर छिटो नेटवर्क सुधारको माग गरेका हुन्। 

सहज र नियमित टेलिफोन सेवा प्रयोगमा नआएको भन्दै सुधारको माग गर्दै प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गरिएको वडाध्यक्ष अमर रोकायाले बताए। उनले भने, ‘बिहान घाम झुल्किँदा नेटवर्क आउने र साँझ घाम अस्ताएसँगै नेटवर्क जाने समस्याले डेढ वर्षदेखि सूचना तथा सञ्चारको अधिकार कुण्ठित बनाएको छ।’ 

उनले थपे, ‘रातबिरात स्थानीय बिरामी हुन्छन्। सुत्केरी हुन्छन्। विपतका घटना हुन्छन्। एम्बुलेन्स, प्रहरी प्रशासन, सरोकारवाला निकायलाई खबर आदानप्रदान गर्नुपर्ने हुन्छ। तर, यस्ता अतिसंवेदनशील कार्यका लागि आवश्यक सञ्चारको हकबाट नागरिक वञ्चित छन्।’ 
वडाध्यक्ष रोकायाका अनुसार टावर सञ्चालन गर्न दिगो व्यवस्थापनका लागि जाल्पा हाइड्रोबाट बिजुली जडान गर्न खोजिएको हो। यसमा टेलिकमले चासो देखाएको छैन। 

नागरिकको मागप्रति बेवास्ता गर्दै सूचना प्रविधिको पहुँचमा तत्काल सुधार नभए नेपाल टेलिकम जुम्लामा तालाबन्दी, धर्ना र घेराउजस्ता गतिविधि अगाडि बढाउने ध्यानाकर्षणपत्रमा उल्लेख छ।

प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले समस्या समाधानका लागि नेपाल टेलिकमसँग समन्वय गर्ने बताए। नागरिकले जति बेला टेलिफोन सेवा प्रयोग गर्न पाउनुपर्दछ। उनले भने समस्या समाधान गर्न केन्द्रीय कार्यालयमा पनि पहल गर्नेछौँ। जुम्लामा टेलिफोन र इन्टरनेटको समस्याले गर्दा कामकाज प्रभावित हुने गरेका छन्।
 
नेपाल दुरसञ्चारको तथ्यांकले जुम्लाका ७ वटै गाउँपालिका सबै गाउँबस्तीमा टेलिकम सेवा पुगेको देखाए पनि प्रभावकारी र गुणस्तरीय सेवा विस्तार नहुँदा सेवाग्राहीले हैरानी खेप्नुपरेको छ। 

ad
ad