मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
दीपक अधिकारी काठमाडौं
२०७९ पौष ४ सोमबार ०१:३३:००
Read Time : > 2 मिनेट
ब्लग डिजिटल संस्करण

यसरी साकार भयो मेसीको सपना

Read Time : > 2 मिनेट
दीपक अधिकारी, काठमाडौं
२०७९ पौष ४ सोमबार ०१:३३:००

सन् २०१४ तिर लियोनल मेसीलाई सोधिएको थियो, ‘विश्वकपको महत्व कति छ ?’ मेसीको जवाफ थियो, ‘मैले अहिलेसम्म जितेका सबै ट्रफी दिन सक्छु, बदलामा विश्वकपको एक ट्रफी ।’

त्यही वर्ष ब्राजिलमा आयोजित विश्वकप प्रतियोगितामा मेसी नेतृत्वको अर्जेन्टिना फाइनल पुग्यो । पेनाल्टी सुटआउटमा नेदरल्यान्ड्सलाई हराएर फाइनल पुगेको अर्जेन्टिनाको भेट सेमिफाइनलमा आयोजक ब्राजिललाई ७–१ ले हराएको जर्मनीसँग भयो । 

त्यस विश्वकपमा मेसीकै प्रेरणामा अर्जेन्टिनाले फाइनलसम्मको यात्रा तय गरेको थियो । त्यसैले फाइनलमा उनैले उद्धार  गर्नेछन् भन्ने धेरैको अनुमान थियो । तर, अनुमान सही साबित हुन सकेन । ११५औँ मिनेटमा गोट्जेको गोलमा जर्मनीले विश्वकप पोल्टामा पार्‍याे । सन् २०१८ मा पुनः मेसीले सपना साकार पार्ने मौका पाए । तर, यसपटक उनी प्रिक्वार्टरफाइनलबाट अघि बढ्न सकेनन् । फ्रान्सले ४–३ को जित निकाल्दै अर्जेन्टिनालाई घर पठाइदियो । 

२०२२ मा कतार विश्वकप मेसीका लागि अन्तिम मौका थियो । तर, प्रतियोगिताको पहिलो खेलमै साउदी अरबसँग पराजित हुन पुग्यो । ३६ खेलको अपराजित यात्रामा सामान्य चुनौती मानिएको साउदी अरबले विराम लगाइदिएपछि मेसीले भने, ‘अब हामीसँग प्रत्येक खेल फाइनलबराबर हुनेछ ।’ 

नभन्दै त्यही हुन पुग्यो । त्यसपछि समूह चरणमा मेक्सिको र पोल्यान्डसँग जित निकाल्दै समूह विजेता बनेर अर्जेन्टिना अघि बढ्यो । अन्तिम १६ मा उसले अस्ट्रेलियालाई सहज रूपमा पन्छायो । त्यसपछि क्वार्टरफाइनलमा भेट नेदरल्यान्ड्ससँग हुन पुग्यो । सन् २०१४ कै शैलीमा पेनाल्टी सुटआउटमा नेदरल्यान्ड्सलाई हराएर लगाएर मेसी अघि बढे ।

सेमिफाइनलमा २०१८ को उपविजेता क्रोएसियासँग भेट भयो । २०१८ मा समूह चरणमा क्रोएसियाबाट ३–० ले पराजित भएको अर्जेन्टिनाका लागि यो पनि एक फाइनलबराबर नै थियो । तर, पुनः मेसीको प्रेरणामा अर्जेन्टिनाले क्रोएसियालाई ३-० ले पन्छायो र पुनः एकपटक फाइनलमा स्थान बनायो । मेसी आफ्नो सपना साकार पार्न केवल एक कदम दूर देखिए । 

आइतबार विश्वको ध्यान कतारको लुसेल रंगशालामा थियो । जहाँ, एकातिर सर्वकालीन महान् मानिएका मेसी थिए, अर्कोतिर डिफेन्डिङ च्याम्पियन फ्रान्स । खेल सुरु भएसँगै अर्जेन्टिनाले आक्रामक खेल खेल्यो । अधिकांश समय बल नियन्त्रणमा मात्र राखेन, लगातार पोस्टमा प्रहार गरिरह्यो । सुरुदेखि नै दबाबमा आएको फ्रान्सले डिबक्सभित्र डी मारियालाई फाउल गरेपछि अर्जेन्टिनाले पेनाल्टी प्राप्त गर्‍याे । 

गोल्डेन बुटको दौडमा फ्रान्सका केलियन एम्बाप्पेसँग प्रतिस्पर्धामा रहेका मेसीले सहजै गोल गरे र २३औँ मिनेटमा अर्जेन्टिनालाई १–० को अग्रता दिलाए । ३६ मिनेटमा काउन्टर अट्याकमा अत्यन्त सुन्दर फिनिसिङ गर्दै डी मारियाले अग्रता दोब्बर पारे । पहिलो हाफ अर्जेन्टिनाको २–० को अग्रतामा सकियो । 

दोस्रो हाफ सुरु भएपछि पनि अर्जेन्टिनाले आक्रामक खेल खेलिरह्यो । तर, ६३औँ मिनेटमा डी मारियालाई मैदानबाहिर निकाल्दै अर्जेन्टिनी म्यानेजर लियोजन स्कोलनीले डिफोन्सिभ विंगर अगुइनालाई मैदान प्रवेश गराए । 

त्यसपछि अर्जेन्टिनाको खेल कमजोर देखियो । बिस्तारै फ्रान्स खेलमा फर्कने संकेत देखियो । ७० मिनेटमा फ्रान्सले अर्जेन्टिनामा पहिलो पोस्ट प्रहार गर्‍याे । त्यो पनि अनटार्गेट थिएन । ७९औँ मिनेटमा फ्रान्सले पेनाल्टी पायो । एम्बाप्पेले गोल गर्दै अग्रता छोट्याए । एक मिनेटभित्रै एम्बाप्पेले उत्कृष्ट फिनिसिङ गर्दै फ्रान्सलाई खेलमा फर्काए । 

यसपछि फ्रान्स खेलमा पूर्ण रूपमा फर्कियो । निर्धारित ९० मिनेटमा दुवैतर्फबाट थप गोल हुन सकेन । थपिएको ३० मिनेटमा दुवैले आक्रामक फुटबल खेले । अल्भारेजको स्थानमा लौटेरो मार्टिनेजको प्रवेशपछि अर्जेन्टिना थप संगठित देखियो । एकपछि अर्को प्रहार गरिरहेको अर्जेन्टिनाका लागि कप्तान मेसी पुनः बरदान साबित भए । १०७औँ मिनेटमा मेसीले गोल गर्दै पुनः आफ्नो सपनालाई ब्युँताए । 

तर, १० मिनेटपछि फ्रान्सले पुनः पेनाल्टी प्राप्त गर्‍याे ।  एम्बाप्पेले गोल गर्दै पुनः बराबरीमा ल्याए । यसक्रममा उनी विश्वकपको इतिहासमा १९६६ पछि फाइनलमा ह्याट्रिक गर्ने खेलाडी बने । थप समयमा गोल नहुँदा टाइब्रेकरका लागि पेनाल्टी सुटआउटमा गयो । 

एम्बाप्पे र मेसी पहिलो प्रहारका लागि आए । दुवैले गोल गरे । फ्रान्सका किंग्स्ले कोमानले गरेको फ्रान्सको दोस्रो प्रहारलाई अर्जेन्टिनाका गोलकिपर इमिलियानो मार्टिनेजले रोकिदिए । अर्जेन्टिनाको तर्फबाट डिबाला, पाराडेज र गोन्जालो मेन्टेइलले पनि गोल गरे भने फ्रान्सका औरेलियनको प्रहार बाहिर गएपछि फ्रान्स ४–२ ले उपाधि अर्जेन्टिनालाई बुझाउन बाध्य भयो । 

सन् २००६, २०१०, २०१४ र २०१८ मा उपाधि उचाल्ने सपना साकार पार्न नसकेका मेसीले कतार विश्वकप २०२२ मा आफ्नो सपना साकार पारे । विश्वकपको यो उपाधिका लागि मेसीले आफूसँग भएका कुनै पनि ट्रफी गुमाउनुपरेन । बरु, विश्वकप उपाधिसँगै प्लेयर अफ द वर्ल्ड कपको उपाधि पनि पुनः भित्र्याए ।