२२औँ संस्करणको विश्वकप फुटबल प्रतियोगितामा क्रोएसियाले तेस्रो भएको छ । कतारमा आयोजना भइरहेको विश्वकपअन्तर्गत शनिबार तेस्रो स्थानका लागि भएको प्ले अफमा क्रोएसियाले अफ्रिकन राष्ट्र मोरक्कोलाई २–१ को अन्तरले हराउँदै तेस्रो स्थान रक्षा गरेको हो । सन् २०१८ को रसिया विश्वकपको फाइनलमा क्रोएसिया फ्रान्ससँग २–० ले पराजित भएको थियो । यसपटकको सेमिफाइनलमा अर्जेन्टिनासँग ३–० ले पराजित हुँदै क्रोएसिया तेस्रो वा चौथो स्थानका लागि प्रतिस्पर्धा गरेको हो । पहिलो अफ्रिकन राष्ट्रका रूपमा विश्वकपको सेमिफाइनल खेलेको मोरक्कोले क्रोएसियाविरुद्ध बलियो रक्षापंक्ति प्रस्तुत गर्न सकेन । मोरक्कोले लगातार दुई खेलमा चार गोल व्यहोरेको छ ।
प्रतिस्पर्धामा क्रोएसियाले ५१ प्रतिशत र मोरक्कोले ४९ प्रतिशत बल पोसेसन राखेको थियो । क्रोएसियाले १२ र मोरक्कोले नौपटक गोलका लागि प्रयास गरेको थियो । खेलमा मोरक्कोले तीनपटक कर्नर पाउँदा क्रोएसियाले ६ पटक कर्नर प्रहार गरेको थियो । क्रोएसियाको जितमा जोस्को भार्डीओलले खेलको सातौँ मिनेटमै १–० को अग्रता दिलाएका थिए । उनले पेरिसिकको सटिक हेडिङ पासमै जोस्कोले हेडिङ गोल गरे ।
क्रोएसियाले अग्रता केवल दुई मिनेट मात्र रक्षा गर्यो । खेलको नवौँ मिनेटमा अक्रफ दारीले मोरक्कोलाई १–१ को बराबरीमा ल्याए । बराबरी गोलसँगै मोरक्कोले क्रोएसियामाथि दबाब राख्यो । तर, मोरक्कोको फिनिसिङ राम्रो भएन । क्रोएसियाले खेलको ४२औँ मिनेटमा मिस्लाभ ओर्सिचको गोलसँगै २–१ को अग्रता लिएको थियो । ओर्सिचले डिबक्सभित्र प्रहार गरेको बल गोलरक्षक यासिन बोनोको हातमा लाग्दै गोलमा परिणत भएको थियो ।
खेलमा थप गोल नहुँदा आर्सिचकै गोल निर्णायक बन्यो । मध्यान्तरपछि मोरक्कोले बराबरी गोल फर्काउने निकै प्रयास गरेको थियो । मध्यान्तरपछि मोरक्को आक्रामक रूपमा प्रस्तुत भएको थियो । दोस्रो हाफमा कुनै गोल हुन नसक्दा क्रोएसिया तेस्रो स्थान हासिल गर्न सफल भयो । अफ्रिकन फुटबलमा मोरक्कोले हात पारेको नतिजा नै अहिलेसम्मकै उत्कृष्ट हो ।
क्वार्टरफाइनलमा मोरक्कोले पोर्चुगललाई १–० ले हराउँदै पहिलोपटक सेमिफाइनल स्थान पक्का गरेको थियो । मोरक्को सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकन टोली हो । यसअघि सेनेगल, घाना र क्यामरुन क्वार्टरफाइनलसम्म पुगेका थिए ।
विश्वकप इतिहासमा एसियाबाट दक्षिण कोरिया मात्र अन्तिम चारमा पुगेको थियो । सन् २००२ को विश्वकपमा आयोजक राष्ट्र दक्षिण कोरियाले चौथो स्थान हात पारेको थियो । अघिल्लो संस्करणको उपविजेता क्रोएसियाले यसपटक तेस्रो स्थानको उपाधिसहित २७ मिलियन डलर पाएको छ । चौथो भएको मोरक्कोले २५ मिलियन डलर प्राप्त गरेको छ ।