१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १८:३९:oo
Read Time : > 3 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल उडानका लागि योग्य

४७ वर्षपछि पोखरेलीको सपना पूरा

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १८:३९:oo

क्यालिब्रेसन फ्लाइट अर्थात् यान्त्रिक परीक्षण उडानपछि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल उडानका लागि योग्य रहेको प्रतिवेदन पेस भएको छ। 

सञ्चालनको अन्तिम तयारीमा रहेको विमानस्थलको ५ देखि १२ मंसिरसम्म थाइल्यान्डबाट आएको एरोथाई कम्पनीको विमानले यान्त्रिक परीक्षणको काम गरेको थियो । थाइल्यान्डबाट विमानसँगै पाँचजना प्राविधिकको टोली पोखरा आएकाे थियाे।

यान्त्रिक परीक्षण उडानपछि यरोथाईले आफ्नो प्रारम्भिक प्रतिवेदन पेस गरेको र प्रतिवेदनमा विमानस्थल उडानका लागि योग्य रहेको र कुनै समस्या नरहेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए। 

एरोथाई कम्पनीले यान्त्रिक परीक्षण उडानपछि विमानस्थल उडानयोग्य रहेको भनी प्रतिवेदन बुझाएको निरौलाले बताए। परीक्षण उडानका क्रममा एरोथाई कम्पनीको विमानले विमानस्थलमा जडान गरिएका सञ्चार, ग्राउन्ड सिस्टम, टावर, रेडियो फ्रिक्वेन्सी, नेभिगेसन, सर्भिलेन्स, कम्युनिकेसन, कन्ट्रोल टावरलगायतका उपकरणकाे अवस्थालगायतका प्राविधिक पक्ष जाँच गरेको थियो। 

यान्त्रिक परीक्षण सफल भएपछि मात्रै व्यावसायिक उडान सञ्चालन गरिने अन्तर्राष्ट्रिय अभ्यास छ । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको विमानस्थल १७ पुसदेखि सञ्चालनमा ल्याउने तयारी नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले गरेको छ। 

विमानस्थल सञ्चालनका लागि आवश्यक कामसमेत क्यानले धमाधम गरिरहेको छ। विमानस्थल सञ्चालनका लागि आवश्यक जनशक्तिको व्यवस्थापनसँगै अध्यागमन, भन्सार, मेडिकल, सुरक्षा, इन्धनलगायतका काम धमाधम भइरहेका छन् 

एक सातापछि औपचारिक घोषणा गरिने 

विमानस्थलको डिजाइन एउटा कम्पनीले, निर्माण अर्को कम्पनीले र परीक्षण उडान अर्को गरी तीन कम्पनी जोडिएकाले अब क्यानसँगै निर्माण कम्पनीका विज्ञहरू बसेर एरोथाई कम्पनीले दिएको प्रतिवेदनउपर छलफल गरी आउँदो एक साताभित्र औपचारिक रूपमा उडानयोग्य रहेको घोषणा गरिने भएको छ। 

एरोथाई कम्पनीले दिएको प्रतिवेदनमा कुनै कमजाेरी नऔँल्याइएको भए पनि विज्ञहरूले प्रतिवेदनमा भएका सानासाना कुरा केलाएर हेर्ने र त्यसपछि क्यानले स्वीकृत गरेर ‘एरोनोटिकल इन्फर्मेसन पब्लिकेसन’ (एआइटी) मा प्रकाशन गर्ने उनले जानकारी दिए। 

सो प्रकाशनपछि विमानस्थल पूर्ण रूपमा उडानका लागि तयार भएको जानकारी सबैले पाउने र यसका लागि क्यानले सञ्चारमाध्यमसँगै अन्य माध्यमबाट स्वदेशी तथा विदेशी कम्पनीलाई उडानका लागि आह्वान गर्ने जानकारी दिए।

४७ वर्षपछि पोखरेलीको सपना पूरा

विमानस्थल निर्माणका लागि पोखराको छिनेडाँडामा ०३२ सालमा तीन हजार एक सय ६ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । जग्गा अधिग्रहणको ४१ वर्षपछि १ वैशाख ०७३ मा विमानस्थलको शिलान्यास गरिएको थियो।

शिलान्यासपछि थप करिब आठ सय रोपनी जग्गासमेत अधिग्रहण गरिएको थियो। निर्माणको काम भने शिलान्यास गरेको १५ महिना १८ दिनपछि अर्थात् १८ साउन ०७४ बाट सुरु गरिएको थियो। 

विमानस्थल निर्माणको काम १० जुलाई २०२१ मा सक्ने भनिए पनि कोरोनाका कारण निर्माण समय एक वर्ष थप गरिएको थियो। 

लागत २१ करोड ७० लाख अमेरिकी डलर 

पर्यटकीय सहर पोखरालाई विश्वका अन्य देशसँग सीधा हवाईमार्गले जोड्ने उद्देश्यसहित चीन सरकारको सहुलियत क्रण सहयोगमा विमानस्थल निर्माण गरिएको हो। 

विमानस्थल निर्माणका लागि चीनको एक्जिम बैंकले २१ करोड ७० लाख अमेरिकी डलर अर्थात् नेपाली रुपैयाँ करिब २२ अर्ब ऋण उपलब्ध गराएको थियो। सन् २०२१ को जुलाईमा निर्माण सक्ने गरी ८ जेठ ०७१ मा चिनियाँ कम्पनी सिएएमसी इन्जिनियरिङसँग ठेक्का सम्झौता भएको थियो। 

अन्तर्राष्ट्रिय उड्डयन संस्था (आइकाओ) को मापदण्डअनुसार फोरडी मोडलमा निर्माण भएको विमानस्थलमा ४५ मिटर चौडाइ र दुई हजार पाँच सय मिटर लामो धावनमार्ग रहेको छ। जहाँ  बोइङ ७५७ र एयरबस ३२० वा सोसरहका जहाज आउजाउ गर्न सक्ने र ती विमानको क्षमता एक सय ४० देखि एक सय ८० को हुनेछ। 

विमानस्थलमा साना र ठूला गरी ११ जहाज पार्किङ गर्न सकिनेछ। 

डाँडा कटानको काम जारी

विमानस्थल सञ्चालनको लागि मुख्य समस्याको रूपमा रहेको रिट्ठेपानी डाँडा कटानको काम जारी छ। विमानस्थलको पूर्वपट्टि रहेको डाँडा १४ मिटर कटान गरेपछि परीक्षण उडान गरिएको थियो। 

हाल कटानको काम धमाधम भइरहेको छ। डाँडा कटान ४० मिटर गरिनेछ । विमानस्थलमा व्यावसायिक उडानका लागि डाँडाको दुईतिरबाट कटान हुने र एकातिरबाट ४० मिटर र अर्को तिरबाट १२.५ मिटर कटान गरिने भएको हो। 

व्यवस्थापन हुँदै ल्यान्डफिल्ड साइड 
 
विमानस्थल सञ्चालनको लागि अर्को समस्याको रूपमा रहेको ल्यान्डफिल्ड साइड हो। पोखरा नगर क्षेत्रको फोहाेरमैला व्यवथापनका लागि एसियाली विकास बैंकको ऋण सहयोगमा ०६१ सालमा पोखरा १८ बाच्छेबुढुवामा ल्यान्डफिल्ड साईड निर्माण गरिएको थियो। 

सो ल्यान्डफिल्ड साइड विमानस्थलबाट करिब दुई मिटरको दूरीमा रहेको छ । पोखरा महानगरपालिकाले ल्यान्डफिल्ड साइड कता बनाउने भन्नेमा हालसम्म कुनै निर्णय गरेको छैन । तैपनि हाल प्रयोग भइरहेको बाच्छेबुढुवामा फोहाेर फाल्न बन्द गरिएको छ । डाँडा कटानका क्रममा निस्केको माटोले सो ल्यान्डफिल पुर्ने काम भइरहेको छ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले  ल्यान्डफिल्ड साइड व्यवस्थापनका लागि उपयुक्त स्थानको खोजी भइरहेको बताए। महानगरपालिकाले व्यवस्थापन गर्नुपर्ने ल्यान्डफिल्ड साइडको व्यवस्थापन चुनौतीको विषय रहेको भन्दै आचार्यले नयाँ साइडका लागि विभिन्न सात स्थान हेरिएको र अध्ययनसमेत सकिएको उनले बताए।

सात स्थानको अध्ययन गरिए पनि स्थान कुन भन्ने निर्णय नभएको उनले बताए। नयाँ साइडमा हालको जस्तो गरी फोहाेर डम्पिङ नगरिने आचार्यले बताए। अब जुनसुकै साइडमा राखे पनि त्यसलाई व्यवस्थित हिसाबले प्रशोधन केन्द्रसहित राखिने भन्दै आचार्यले त्यो औद्योगिक क्षेत्रभित्र, बस्तीकै बीचमा पनि राख्न सकिने भएकाले यस विषयमा केही पनि तर्सनुपर्ने कुनै कारण नभएको बताए । साइडमा कस्तो प्लान्ट राख्ने भन्ने विषयमा सार्वजनिक सुनुवाइ गरेर निर्णय गर्ने उनले बताए।

बुद्धले पोखरा–दिल्ली दैनिक दुई उडान गर्ने तयारी

विमानस्थल सञ्चालनसँगै बुद्ध एयर पोखराबाट पहिलो अन्तर्राष्ट्रिय उडान सुरु गर्ने तयारीमा जुटेको छ। बुद्धले भरतका तीन सहरमा पोखराबाट उडान गर्ने गरी तयारी गरिरहेको छ । पोखरा–दिल्ली–पोखरा, पोखरा–देहरादुन–पोखरा र पोखरा–बनारस–पोखरा उडान गर्ने योजना बुद्धको छ। बुद्धले एटिआर ७२ जहाजबाट सेवा दिने जनाएको छ। 

विमानस्थलमा पूर्वदुर्घटना अभ्यास
 
विमानस्थलमा गत २३ मंसिरमा पूर्वदुर्घटनाकाे डेमोस्ट्रेसनसमेत गरिएको थियो। विमानस्थल सञ्चालन पूर्वदुर्घटना अभ्यासअन्तर्गत कार्यक्रम गरिएको हो। 

सञ्चालनको तयारीमा रहेको विमानस्थलमा आपतकालीन अवस्था आइपरेमा सबै मिलेर कसरी चाँडोभन्दा चाँडो उद्धार गर्न सकिन्छ भनेर यस्तो डेमोस्ट्रेसन गरिएको विमानस्थलका सूचना अधिकारी अनुप जोशीले जानकारी दिए।

ad
ad