१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ मङ्सिर २९ बिहीबार २०:१७:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

माफियाका लागि ‘हिटलर’ बन्न तयार छु : हर्क साम्पाङ

मेयर साम्पाङ निरंकुश, स्वेच्छाचारी र अराजक बने : कार्यपालिका सदस्य

Read Time : > 1 मिनेट
२०७९ मङ्सिर २९ बिहीबार २०:१७:००

धरान उपमहानगरपालिकाका अधिकांश वडाध्यक्ष र कार्यपालिका सदस्यहरूले पत्रकार सम्मेलन गरेर मेयर हर्क साम्पाङ निरंकुश, स्वेच्छाचारी र अराजक बनेको आराेप लगाएका छन्।  

बिहीबार दिउँसो धरान उपमहानगरपालिका परिसरमा संयुक्त पत्रकार सम्मेलन गर्दै उनीहरूले कार्यपालिका बैठक बस्न नसक्नुमा मेयर साम्पाङले बैठकमा कार्यपालिका सदस्यलाई दिएको गैरजिम्मेवार अभिव्यक्ति भएको पनि बताए। 

तीन महिनादेखि धरान उपमहानगरको कार्यपालिका बैठक बस्न सकेको छैन। बैठक नबस्दा विभिन्न नीतिगत निर्णय अड्किएका छन्। 

गत असोज १४ गते बसेको कार्यपालिका बैठकमा मेयर साम्पाङले कार्यपालिका सदस्य अनुप देवानलाई आफ्नो धारणा राख्ने क्रममा हकार्दै बाहिर निस्कन निर्देशन गरेपछि विवाद सुरु भएको थियाे।
 
उक्त अभिव्यक्तिप्रति आत्मालोचना गर्न माग राखे पनि मेयर साम्पाङले अस्वीकार गरी तोकआदेशको आधारमा नगर चलाउँछु भन्दै कार्यपालिका सदस्यहरूलाई अपमान गरेको उनीहरूको आरोप छ।  

त्यसपछि कार्यपालिका सदस्यसँग सामान्य क्षमायाचन गर्नुपर्ने माग गरे पनि मेयर साम्पाङले मानेका छैनन्। पटक-पटक कार्यपालिका बैठक नभएपछि बिहीबार मेयर साम्पाङ स्वेच्छाचारी, गैरकानुनी र गैरजिम्मेवार भएको भन्दै कार्यपालिका सदस्यहरू पत्रकार सम्मेलन नै गरी मेयरविरुद्ध उत्रिएका हुन्। 

मेयर साम्पाङले कार्यशैली परिवर्तन गरेर म नभई हामी भन्ने भावनाअनुरूप धरानको विकास गर्न एकताबद्ध रूपमा अघि बढ्ने वातावरण सिर्जना गर्न उनीहरूले माग गरेका छन्।

वडा नं १७ का अध्यक्ष एवं नगर कार्यपालिका प्रवक्ता सूर्य भट्टराई (मनोज)ले नेतृत्वको रूपमा मेयर साम्पाङले बैठक सुचारु गर्न कुनै पनि पहल नगरेको बताए। 

मेयर साम्पाङले अराजक र स्वेच्छाचारी प्रवृत्ति देखाएको पनि उनले बताए। मेयर साम्पाङले गैरसंवैधानिक र गैरकानुनी रूपमा तोकआदेशकै आधारमा काम गरिरहेको र त्यसको जवाफदेही नगर कार्यपालिका नहुने पनि उनीहरूले बताएका छन्।

पत्रकार सम्मेलनमा वितरण गरिएको विज्ञप्तिमा मेयर साम्पाङले विभिन्न विकास निर्माणको लागि आवश्यक उपभोक्ता समिति गठनमा रोक लगाएको, विनानिर्णय साबुन उद्योगको निर्माण कार्य सुरु गरेको, बिपी पार्कको नाम परिवर्तन गरी विनानिर्णय आफ्नो फोटो राखेर श्रम स‌ंस्कृति पार्क नामाकरण गरेको उल्लेख छ। 

यस्तै, सामाजिक सञ्जाल (फेसबुक)मा तुच्छ शब्दहरू प्रयोग गरी गालीगलौज गर्दै प्रस्तुत भएको, जातीय सद्भाव खल्बलिने गरी नीच शब्द प्रयोग गरेर दलित समुदायको आत्मसम्मानमा चोट पुर्याएको, सेवाग्राहीहरूलाई हप्कीदप्की गर्नुका साथै राष्ट्रसेवक कर्मचारीलाई अपमानित गर्ने गरेकोलगायतका आरोप मेयर साम्पाङमाथि छन्। 

मेयर साम्पाङले आफ्नो गल्ती स्वीकार गर्नेभन्दा पनि तोकआदेशको भरमा नगर चलाउँछु भन्दै कार्यपालिका सदस्यहरू धरान बिगार्न आएको भन्ने भ्रम फैलाइरहेको उनीहरूको भनाइ छ। साबुन उद्योगको संरक्षण समिति गठन गरेको विषयमा पनि प्रश्न उठेको छ।

मेयर साम्पाङले कार्यपालिका सदस्यहरूलाई इंगित गर्दै दैनिक फेसबुकमा स्टाटस लेख्दै आएका छन्। तर, कार्यपालिकाभित्रको समस्या समाधानका लागि भने कुनै ठोस पहलकदमी गरेका छैनन्। 

कार्यपालिका सदस्यहरूले उनीविरुद्ध पत्रकार सम्मेलन गरेपछि मेयर साम्पाङले फेसबुक पेजबाटै पत्रकारहरूलाई आफ्नो कार्यकक्षमा बोलाएका छन्। 

उनले थप लेख्दै, खोला बेचबिखन गर्न नदिँदा, भ्रष्टाचार गर्न नदिँदा, बेथिति मच्चाउन नदिई ६ महिनामै धरानमा परिर्वतन ल्याइदिएकाले मलाई निरंकुश भएको आरोप लगाएको बताए। ‘यत्तिको त केही होइन। माफियाहरूका लागि त हिटलर बन्न नि तयार छु। जय देश। जय मातृभूमि,’ उनले लेखेका छन्।

बुधबार मात्र उनले सामाजिक सञ्जालमा ‘चमारे बुद्धि’ भनेर स्टाटस् लेखेपछि दलित समुदायको अपमान गरेको भन्दै सरकारको आधिकारिक संस्था राष्ट्रिय दलित आयोगले विज्ञप्ति जारी गरी आपत्ति जनाएको छ। धरान उपमहानगरका तीनजना दलित समुदायका कार्यपालिका सदस्यहरूले पनि विज्ञप्ति जारी गरी आपत्ति जनाएका छन्।