बिहे भोज खाएका एकै गाउँका ३४ बिरामी

बुधबार, २८ मंसिर, २०७९
डिजिटल संस्करण

रामेछाप नगरपालिका– ५ रामपुरको साइटार भन्ने स्थानमा विवाह भोज खाएका एकै गाउँका ३४ जना बिरामी परेका छन्।विवाहको भोज खाएलगत्तै उनीहरूमा लगातार झाडा-बान्ता हुने र पेट दुख्ने समस्या देखिएको हो।

बिरामी परेका सबैजनालई स्थानीय रामपुर स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि १४ जनालाई थप उपचारका लागि जिल्ला अस्पताल रामेछापमा पठाइएको छ। बाँकी २० जनाको सहरी स्वास्थ्य केन्द्र रामपुरमा उपचार भइरहेको छ। 

जिल्ला अस्पताल रामेछापमा भर्ना भएका बिरामीको दिसा परीक्षण गर्दा इहिस्टोलाइटी नामको कीटाणु फेला परेको उपचारमा संलग्न चिकित्सक उदय घिसिङले जानकारी दिए। बिरामीमा सोही कीटाणुकै कारण आउँ र पखाला लागेको हो। जिल्ला अस्पतालमा उपचारपछि बिरामीहरूको क्रमिक रूपमा सुधार हुँदै गएको सो अस्पतालले जनाएको छ। 

रामपुरको साइटारका प्रदीप मगरेको सोमबार भएको विवाहमा भोज खानेहरूमध्ये अधिकांशमा उक्त समस्या देखिएको हो। अन्य सामान्य बिरामी भएकाहरूको स्थानीय स्वास्थ्य चौकीमा उपचारपछि उनीहरू भने घर फर्किएका छन्। बासी बंगुरको मासु खाएका कारण उक्त रोग फैलिएको हुन सक्ने अनुमान स्वास्थ्यकर्मीहरूले लगाएको रामेछाप नगरपालिका स्वास्थ्य शाखाका प्रमुख विष्णु कार्कीले जानकारी दिए। 

जिल्ला अस्पताल रामेछापमा भर्ना भएकाबाहेक गाउँमा धेरै बिरामी भएकाले उनीहरूको उपचार गाउँमै गर्नका लागि जिल्ला अस्पताल रामेछापका डा. मनोज यादवको नेतृत्वमा औषधिसहितको स्वास्थ्यकर्मीको टोली रामपुरमा नै पुगेर उपचार गरिरहेको जिल्ला अस्पताल रामेछापले जनाएको छ। 
    
    

See More On

सुझावित समाचार