मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७९ मङ्सिर २३ शुक्रबार ०७:०८:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

संसदीय दलको नेताका लागि सघन छलफलमा शेखर–गगन 

Read Time : > 2 मिनेट
२०७९ मङ्सिर २३ शुक्रबार ०७:०८:००

समानुपातिकको नाम टुंगो लागेपछि मात्रै कोइरालाले निर्णय लिने, संस्थापनबाट देउवाको मात्र दाबी 

कांग्रेसमा संसदीय दलको नेताका लागि संस्थापन र इतरपक्षमा कसलाई बनाउने भन्ने टुंगो लागिसकेको छैन । संस्थापन पक्षमा सभापति शेरबहादुर देउवाको मात्र दाबी छ । तर, इतरपक्षमा भने डा. शेखर कोइराला र महामन्त्री गगन थापामध्ये को बन्ने भन्ने अझै टुंगो छैन ।

इतरसमूहबाट प्रधानमन्त्रीका आकांक्षीद्वय डा. कोइराला र महामन्त्री थापाले निर्वाचित सांसदहरूसँग छलफल सुरु गरिसकेका छन् । दुईमध्ये कसलाई संसदीय दलमा उठाउने टुंगो लागिनसके पनि दुवै नेताले छलफललाई तीव्र पारेका छन् ।

कांग्रेस सांसद सञ्जय गौतमले इतरसमूहबाट एकजनाले संसदीय दलमा चुनौती दिने निश्चित भए पनि अहिले नै टुंगो लागिनसकेको बताए । उनका अनुसार दुवै नेताले सांसदहरूसँग व्यक्तिगत रूपमा भेटघाट गरिरहेका छन् । ‘दुईमध्ये एक नेता संसदीय दलमा लड्ने पक्का हो । उहाँहरू पनि छलफलमा हुनुहुन्छ । सबै साथीहरू काठमाडौं आइसक्नुभएको छैन । छिट्टै बैठक बसेर यो विषयको टुंगो लाग्छ,’ गौतमले भने । 

सांसदहरूसँग छलफलपछि दुवै नेताले निर्णय लिनेछन् । समानुपातिक सूचीमा क–कसलाई पठाउने भन्ने टुंगिएपछि मात्रै कोइराला र थापाले औपचारिक रूपमा दलको नेताका लागि अगाडि बढ्ने मनस्थिति बनाएको नेताहरूले बताएका छन् । दुई नेताबीच संवादसमेत जारी छ । तर, कोइरालाले आफ्नो निर्णयको विषयमा मुख खोलेका छैनन् । महामन्त्री थापा भने ‘ब्याक’ नहुने गरी तयारीमा लागेका छन् । प्रत्यक्षतर्फको पूर्ण परिणाम र समानुपातिकको सिट संख्या टुंगो लागेपछि निर्वाचित र सम्भावित समानुपातिक सांसदहरू काठमाडौंकेन्द्रित बनेका छन् । यसै मेसोमा नेताहरू छलफलमा लागेका हुन् । ‘डा. शेखर कोइराला समानुपातिकको नाम टुंगो लागेपछि मात्रै धारणा सार्वजनिक गर्ने मनस्थितिमा हुनुहुन्छ,’ एक सांसदले नयाँ पत्रिकासँग भने, ‘महामन्त्रीज्यूले पार्टीभित्र छलफललाई तीव्र बनाउनुभएको छ ।’

निर्वाचनपछि गत शुक्रबार कोइराला र थापाबीच औपचारिक भेट र छलफल सुरु भएको थियो । भेटमा थापाले कोइरालालाई आफूलाई संसदीय दलको नेतामा सघाउन आग्रह गरेका थिए । ‘सके देउवालाई रोक्ने नसके निर्विरोध हुन नदिने’ रणनीतिका साथ इतरसमूहले तयारी गरिरहेको छ । तर, दुवै नेताले ब्याक नहुने संकेत गरेका छन् । हालसम्म कोइरालाले औपचारिक रूपमा आफ्नो दाबीबारे मुख खोलेका छैनन् । उनी पार्टीभित्र सभापति देउवादेखि आफूनिकटका नेता र पार्टी बाहिरका नेताहरूसँग समेत सम्पर्कमा रहेर छलफल गरिरहेका छन् । महामन्त्री थापाले पनि पार्टीभित्रको आन्तरिक छलफल तीव्र पारेका छन् । समानुपातिकको सूची आएलगत्तै तयारीलाई थापाले आक्रामक बनाउने उनीनिकट नेताले जानकारी दिए । निर्वाचन आयोगले ३२ समानुपातिक सांसदको नाम पठाउन समय दिएपछि कांग्रेस सभापति शेरबहादुर देउवाले शनिबार केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएका छन् । आयोगले २४ मंसिरसम्म समानुपातिकको सूची बुझाउने समय दिएको छ । 

२० मंसिरमा इतरसमूहबाट प्रधानमन्त्रीका आकांक्षी नेताहरू नेता डा. कोइराला र महामन्त्री थापा विराटनगरमा नेता गुरुराज घिमिरेको विचार संग्रह ‘बाटो बिराएको राजनीति’ सार्वजनिक कार्यक्रममा एकै मञ्चमा देखिएका थिए । इतरसमूहमा कोइराला र थापालाई मिलाएर एकजनालाई मात्र अगाडि सार्ने गृहकार्यसमेत भइरहेको छ । यसका लागि पुरञ्जन आचार्य, डा. स्वर्णिम वाग्ले र डा. गोविन्द पोखरेल लागिपरेका छन् । स्रोतका अनुसार गगन–शेखरलाई मिलाउने र जसलाई अघि सार्दा संसदीय दलमा जित्ने अवस्था आउँछ उसैलाई अघि सार्ने तयारी छ । ‘पुरञ्जन आचार्य, डा. स्वर्णिम वाग्ले र डा. गोविन्द पोखरेलले गगन–शेखरलाई मिलाउने र जसलाई अघि सार्दा बहुमत आउने अवस्था आउँछ, उसलाई संसदीय दलमा उठाउने र जिताउने रणनीतिमा काम भइरहेको छ,’ स्रोतले भन्यो । 

संस्थापनमा देउवाबाहेक अरूले गरेनन् दाबी
संस्थापन समूहबाट सभापति देउवाले संसदीय दलको नेताका लागि दाबी गर्ने पक्का भएको छ । पूर्वमहामन्त्री डा. शशांक कोइरालासमेत देउवाका लागि सकारात्मक छन् । नेता प्रकाशमान सिंहले इच्छा देखाए पनि सशक्त रूपमा दाबी गरेका छैनन् । स्रोतका अनुसार देउवा संसदीय दलको नेता उठेको अवस्थामा सिंहले अघि सर्ने मनसाय राखेका छैनन् । उनले यसका लागि विशेष भेटघाटसमेत गरेका छैनन् । तर, अवस्था आफ्नो पक्षमा पार्न देउवानिकट नेताहरूले भेटघाट तीव्र बनाएका छन् । 

बिहीबार देउवानिकट नेता एनपी साउदले सिंहसँग भेटघाट गरेका थिए । नेता रामचन्द्र पौडेल पनि पछिल्लो समय मौन छन् । देउवाले आफ्नो पक्षमा माहोल बनाउन उपसभापति पूर्णबहादुर खड्का, प्रवक्ता डा. प्रकाशशरण महत, नेता एनपी साउदलगायतका नेताहरूलाई सक्रिय पारेका छन् । उनले संसदीय दलको नेता र प्रधानमन्त्रीका लागि समानान्तर रूपमा पार्टीभित्र र पार्टीबाहिर छलफल चलाएका छन् । देउवानिकट सहमहामन्त्री फरमुल्लाह मन्सुरले शनिबारको कार्यसम्पादन समिति बैठकपछि थप विषय टुंगो लाग्ने बताए ।

कांग्रेस कार्यसम्पादन समिति बैठक शनिबार
कांग्रेसले समानुपातिक सांसदको टुंगो लगाउन शनिबार केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ । निर्वाचन आयोगले बुधबार समावेशी सिद्धान्तअनुसार बन्दसूचीबाट उम्मेदवारको नाम पठाउन दलहरूलाई पत्राचार गरेको छ । यससँगै कांग्रेसले नामको टुंगो लगाउन बैठक आह्वान गरेको हो । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार २४ मंसिरमा दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बैठक बोलाइएको हो ।