संसदीय दलको नेताका लागि सघन छलफलमा शेखर–गगन

शुक्रबार, २३ मंसिर, २०७९
डिजिटल संस्करण

समानुपातिकको नाम टुंगो लागेपछि मात्रै कोइरालाले निर्णय लिने, संस्थापनबाट देउवाको मात्र दाबी 

कांग्रेसमा संसदीय दलको नेताका लागि संस्थापन र इतरपक्षमा कसलाई बनाउने भन्ने टुंगो लागिसकेको छैन । संस्थापन पक्षमा सभापति शेरबहादुर देउवाको मात्र दाबी छ । तर, इतरपक्षमा भने डा. शेखर कोइराला र महामन्त्री गगन थापामध्ये को बन्ने भन्ने अझै टुंगो छैन ।

इतरसमूहबाट प्रधानमन्त्रीका आकांक्षीद्वय डा. कोइराला र महामन्त्री थापाले निर्वाचित सांसदहरूसँग छलफल सुरु गरिसकेका छन् । दुईमध्ये कसलाई संसदीय दलमा उठाउने टुंगो लागिनसके पनि दुवै नेताले छलफललाई तीव्र पारेका छन् ।

कांग्रेस सांसद सञ्जय गौतमले इतरसमूहबाट एकजनाले संसदीय दलमा चुनौती दिने निश्चित भए पनि अहिले नै टुंगो लागिनसकेको बताए । उनका अनुसार दुवै नेताले सांसदहरूसँग व्यक्तिगत रूपमा भेटघाट गरिरहेका छन् । ‘दुईमध्ये एक नेता संसदीय दलमा लड्ने पक्का हो । उहाँहरू पनि छलफलमा हुनुहुन्छ । सबै साथीहरू काठमाडौं आइसक्नुभएको छैन । छिट्टै बैठक बसेर यो विषयको टुंगो लाग्छ,’ गौतमले भने । 

सांसदहरूसँग छलफलपछि दुवै नेताले निर्णय लिनेछन् । समानुपातिक सूचीमा क–कसलाई पठाउने भन्ने टुंगिएपछि मात्रै कोइराला र थापाले औपचारिक रूपमा दलको नेताका लागि अगाडि बढ्ने मनस्थिति बनाएको नेताहरूले बताएका छन् । दुई नेताबीच संवादसमेत जारी छ । तर, कोइरालाले आफ्नो निर्णयको विषयमा मुख खोलेका छैनन् । महामन्त्री थापा भने ‘ब्याक’ नहुने गरी तयारीमा लागेका छन् । प्रत्यक्षतर्फको पूर्ण परिणाम र समानुपातिकको सिट संख्या टुंगो लागेपछि निर्वाचित र सम्भावित समानुपातिक सांसदहरू काठमाडौंकेन्द्रित बनेका छन् । यसै मेसोमा नेताहरू छलफलमा लागेका हुन् । ‘डा. शेखर कोइराला समानुपातिकको नाम टुंगो लागेपछि मात्रै धारणा सार्वजनिक गर्ने मनस्थितिमा हुनुहुन्छ,’ एक सांसदले नयाँ पत्रिकासँग भने, ‘महामन्त्रीज्यूले पार्टीभित्र छलफललाई तीव्र बनाउनुभएको छ ।’

निर्वाचनपछि गत शुक्रबार कोइराला र थापाबीच औपचारिक भेट र छलफल सुरु भएको थियो । भेटमा थापाले कोइरालालाई आफूलाई संसदीय दलको नेतामा सघाउन आग्रह गरेका थिए । ‘सके देउवालाई रोक्ने नसके निर्विरोध हुन नदिने’ रणनीतिका साथ इतरसमूहले तयारी गरिरहेको छ । तर, दुवै नेताले ब्याक नहुने संकेत गरेका छन् । हालसम्म कोइरालाले औपचारिक रूपमा आफ्नो दाबीबारे मुख खोलेका छैनन् । उनी पार्टीभित्र सभापति देउवादेखि आफूनिकटका नेता र पार्टी बाहिरका नेताहरूसँग समेत सम्पर्कमा रहेर छलफल गरिरहेका छन् । महामन्त्री थापाले पनि पार्टीभित्रको आन्तरिक छलफल तीव्र पारेका छन् । समानुपातिकको सूची आएलगत्तै तयारीलाई थापाले आक्रामक बनाउने उनीनिकट नेताले जानकारी दिए । निर्वाचन आयोगले ३२ समानुपातिक सांसदको नाम पठाउन समय दिएपछि कांग्रेस सभापति शेरबहादुर देउवाले शनिबार केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएका छन् । आयोगले २४ मंसिरसम्म समानुपातिकको सूची बुझाउने समय दिएको छ । 

२० मंसिरमा इतरसमूहबाट प्रधानमन्त्रीका आकांक्षी नेताहरू नेता डा. कोइराला र महामन्त्री थापा विराटनगरमा नेता गुरुराज घिमिरेको विचार संग्रह ‘बाटो बिराएको राजनीति’ सार्वजनिक कार्यक्रममा एकै मञ्चमा देखिएका थिए । इतरसमूहमा कोइराला र थापालाई मिलाएर एकजनालाई मात्र अगाडि सार्ने गृहकार्यसमेत भइरहेको छ । यसका लागि पुरञ्जन आचार्य, डा. स्वर्णिम वाग्ले र डा. गोविन्द पोखरेल लागिपरेका छन् । स्रोतका अनुसार गगन–शेखरलाई मिलाउने र जसलाई अघि सार्दा संसदीय दलमा जित्ने अवस्था आउँछ उसैलाई अघि सार्ने तयारी छ । ‘पुरञ्जन आचार्य, डा. स्वर्णिम वाग्ले र डा. गोविन्द पोखरेलले गगन–शेखरलाई मिलाउने र जसलाई अघि सार्दा बहुमत आउने अवस्था आउँछ, उसलाई संसदीय दलमा उठाउने र जिताउने रणनीतिमा काम भइरहेको छ,’ स्रोतले भन्यो । 

संस्थापनमा देउवाबाहेक अरूले गरेनन् दाबी
संस्थापन समूहबाट सभापति देउवाले संसदीय दलको नेताका लागि दाबी गर्ने पक्का भएको छ । पूर्वमहामन्त्री डा. शशांक कोइरालासमेत देउवाका लागि सकारात्मक छन् । नेता प्रकाशमान सिंहले इच्छा देखाए पनि सशक्त रूपमा दाबी गरेका छैनन् । स्रोतका अनुसार देउवा संसदीय दलको नेता उठेको अवस्थामा सिंहले अघि सर्ने मनसाय राखेका छैनन् । उनले यसका लागि विशेष भेटघाटसमेत गरेका छैनन् । तर, अवस्था आफ्नो पक्षमा पार्न देउवानिकट नेताहरूले भेटघाट तीव्र बनाएका छन् । 

बिहीबार देउवानिकट नेता एनपी साउदले सिंहसँग भेटघाट गरेका थिए । नेता रामचन्द्र पौडेल पनि पछिल्लो समय मौन छन् । देउवाले आफ्नो पक्षमा माहोल बनाउन उपसभापति पूर्णबहादुर खड्का, प्रवक्ता डा. प्रकाशशरण महत, नेता एनपी साउदलगायतका नेताहरूलाई सक्रिय पारेका छन् । उनले संसदीय दलको नेता र प्रधानमन्त्रीका लागि समानान्तर रूपमा पार्टीभित्र र पार्टीबाहिर छलफल चलाएका छन् । देउवानिकट सहमहामन्त्री फरमुल्लाह मन्सुरले शनिबारको कार्यसम्पादन समिति बैठकपछि थप विषय टुंगो लाग्ने बताए ।

कांग्रेस कार्यसम्पादन समिति बैठक शनिबार
कांग्रेसले समानुपातिक सांसदको टुंगो लगाउन शनिबार केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ । निर्वाचन आयोगले बुधबार समावेशी सिद्धान्तअनुसार बन्दसूचीबाट उम्मेदवारको नाम पठाउन दलहरूलाई पत्राचार गरेको छ । यससँगै कांग्रेसले नामको टुंगो लगाउन बैठक आह्वान गरेको हो । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार २४ मंसिरमा दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बैठक बोलाइएको हो । 

सुझावित समाचार