
रामेछापको खाँडादेवी गाउँपालिका– ३ भिरपानीको हुन्दुरखोलामा ज.१ह ५०६९ नम्बरको अटो आइतबार दिउँसो दुर्घटना हुँदा चालकसहित पाँचजना घाइते भएका छन्। घाइतेमध्ये चालकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा परी अटोचालक सिन्धुलीको कमलामाई नगरपालिका– ६ का ४३ वर्षीय कुमार तामाङ, सोही गाउँका ७० वर्षीय पदमबहादुर तामाङ, ६५ वर्षीय रामबहादुर तामाङ, ३२ वर्षीया सम्झना तामाङ र १२ वर्षीया सुस्मा तामाङ घाइते भएका छन्। घटनास्थलबाट स्थानीय र प्रहरीले उद्धार गरी सबै घाइतेलाई उपचारका लागि काभ्रेको धुलिखेल पठाएका छन्।
रामेछापको खाँडादेवी गाउँपालिका– ५ पकरवासबाट छिमेकी जिल्ला सिन्धुलीतर्फ हिँडेको उक्त अटो अनियन्त्रित भई सडकबाट करिब पाँच मिटर तल भिरमा खसेको थियो। दुर्घटना के कारणले भएको हो भन्ने खुल्न नसकेको र यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता राजु ढकालले जानकारी दिए।