Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ मङ्सिर १८ आइतबार ०५:५५:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

माओवादीमा सत्तागठबन्धनको विकल्प खुला राख्नुपर्ने बहस

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ मङ्सिर १८ आइतबार ०५:५५:००

माओवादीमा सत्तागठबन्धनको विकल्प खुला राख्नुपर्ने बहस सुरु भएको छ । चुनावी समीक्षाका लागि शनिबार सुरु माओवादी पदाधिकारी बैठकमा हालको गठबन्धनबाहेकको विकल्प पनि खुला राख्नेबारे छलफल भएको हो । प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको प्रारम्भिक समीक्षापछि पार्टी प्रवक्ताको समेत जिम्मेवारी सम्हालेका उपाध्यक्ष कृष्णबहादुर महराले भने, ‘हालको गठबन्धन छोड्ने, तोड्ने निर्णय गरिएको छैन, तर अन्य अप्सन पनि खुला राखिएको छ, विभिन्न विकल्पमा जान सकिन्छ ।’ 

सचिव गणेश शाहका अनुसार बैठकमा अध्यक्ष प्रचण्डले पनि विभिन्न दलहरूसँग छलफल जारी रहेको बताएका थिए । उनका अनुसार ती दल कुन–कुन हुन् भन्नेबारे भने प्रचण्डले खुलाएनन् । बैठकको सुरुवात गर्दै प्रचण्डले निर्वाचनमा सोचेजस्तो परिणाम नआएको भन्दै हारको कारण खोज्नुपर्नेसमेत बताएका थिए । केन्द्रमा सोचजति सिट नआए पनि प्रदेशमा सन्तोषजनक परिणाम आएको प्रचण्डको भनाइ थियो । ‘देश चलाउने ठाउँ (प्रतिनिधिसभा)मा हारियो, प्रदेशको परिणाम सन्तोषजनक नै छ । हारको कारण गम्भीर रूपमा समीक्षा गरेर अगाडि बढौँ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै सचिव शाहले भने । 

प्रचण्डले संघमा ३० सिटभन्दा बढी जित्ने अपेक्षा रहे पनि कांग्रेसबाट पर्याप्त मात्रामा भोट ट्रान्सफर नभएको बताएका थिए । ‘कांग्रेसबाट जति भोट ट्रान्सफर हुनुपर्ने हो, त्यसअनुसार भएन । अरू स्वतन्त्र भन्नेहरू पनि आए । आफ्नै पार्टी बलियो र व्यवस्थित बनाउनुको विकल्प छैन,’ प्रचण्डले भनेका थिए । 

आजको बैठकमा बोलेका चार नेताले पनि वाम–लोकतान्त्रिक गठबन्धनबाट माओवादीलाई फाइदा नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए । बैठकमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष महरा, महासचिव देव गुरुङ र सचिव पम्फा भुसालले धारणा राखेका थिए । श्रेष्ठले हारको मुख्य कारण आन्तरिक नै भएको दाबी गरेका छन् । विचारको अस्पष्टताले समस्या भएको भन्दै उनले रूपान्तरण गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले भने, ‘हामीले महाधिवेशनदेखि नै रूपान्तरण गर्नुपर्छ भनेका हौँ । आन्तरिक किचलो पनि भयो । विचारको अस्पष्टताले पनि भूमिका खोल्यो,’ उनले भने ।

उपाध्यक्ष महराले सबै विकल्प खुला गरेर पार्टी अगाडि बढ्नुपर्नेमा जोड दिए । पार्टीलाई केन्द्रमा राखेर अगाडि बढ्नुपर्ने उनको सुझाव छ । त्यस्तै, महासचिव गुरुङले गठबन्धनप्रति कांग्रेस पूर्ण रूपमा इमानदार नभएको बताएका थिए । एक नेताका अनुसार गुरुङले कांग्रेसको भोट गठबन्धनबाहेकका उम्मेदवारलाई पनि गएको दाबी गरेका थिए । उपमहासचिव भुसालले प्रविधि र रिसर्चमा ध्यान दिनुपर्ने सुझाव दिएकी थिइन् । श्रेष्ठ र महरा उम्मेदवार थिएनन् भने गुरुङ र भुसाल पराजित भएका थिए ।

छलफल प्रारम्भ मात्र भएकाले निष्कर्ष आउन बाँकी नै रहेको महराले बताए । ‘निर्वाचनको प्रारम्भिक समीक्षा गरियो । अपेक्षा गरेअनुसार हामीले संघमा सिट हासिल गर्न सकेनौँ । समग्र समीक्षा सबै परिणाम आएपछि हुन्छ,’ उनले भने ।

महासचिव देव गुरुङले पनि छलफल प्रारम्भ भएको बताए । उनका अनुसार आइतबार दिउँसो बस्ने बैठकमा थप छलफल हुनेछ । उनले भने, ‘चुनावी समीक्षाबाट छलफल प्रारम्भ भएको छ । भोलि दिउँसो पुनः बैठक बस्नेछ । चुनावी समीक्षामै बैठक केन्द्रित भएकाले आगामी दिनमा कसरी जाने भन्ने विषयमा छलफल बाँकी नै छ ।’ 

बहुदलीय व्यवस्थामा सबै दलसँग छलफल हुने गुरुङले बताए । उनले भने, ‘गठबन्धनबाटै चुनाव लडिएको छ । अहिलेसम्म गठबन्धनकै प्रक्रिया निरन्तर छ । गठबन्धनकै सरकार छ । अन्य राजनीतिक दलहरूसँग कुरै नहुने भन्ने त भएन । बहुदलीय व्यवस्थामा दलहरूबीच छलफल त हुन्छ नि ! कुराकानी त जोसँग पनि हुन सक्छ ।’