१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७९ मङ्सिर १५ बिहीबार ०७:१५:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

स्पेन, जापान र जर्मनीको नकआउट सम्भावना

Read Time : > 1 मिनेट
२०७९ मङ्सिर १५ बिहीबार ०७:१५:००

२२औँ संस्करणको विश्वकप फुटबल प्रतियोगितामा समूह ‘ई’माथि सबैको नजर छ । आठमध्ये ‘ई’ समूहको समीकरण निकै रोमाञ्चक बनेको छ । स्पेन, जापान, कोस्टारिका र जर्मनी रहेको समूहमा चारै टोलीको नकआउट चरणमा स्थान बनाउने सम्भावना उत्तिकै छ । बिहीबार स्पेनले जापानको सामना गर्नेछ । यसै समूहमा जर्मनीले कोस्टारिकाविरुद्ध प्रतिस्पर्धा गर्नेछ । चार टोली एकआपसमा भिड्दा जित निकाल्दै सीधै अन्तिम १६ मा पुग्नेछन् । दुईवटै खेल बराबरी निस्कँदा स्पेन र जापान नकआउट चरणमा पुग्नेछन् । 

समूह ‘ई’मा चारै टोलीले आफ्नो अन्तिम खेललाई गर या मरको अवस्थामा खेल्नेछन् । स्पष्ट हारले प्रतियोगिताबाट बाहिरिनेछ । जितले अर्को चरणमा पुर्‍याउनेछ । बराबरी नतिजाले अर्को खेलको आधारमा भाग्य निर्धारण हुनेछ । यसकारण पनि चालू विश्वकपको समूह चरणकै अन्तिम खेलमा समूह ‘ई’ बढी नै चासोका साथ हेरिएको हो । जापान र कोस्टारिकाले अप्रत्याशित नतिजा निकाल्दा पूर्वविजेताद्वय जर्मनी र स्पेन पहिलो चरणबाटै बाहिरिनेछन् । 

समूह ‘ई’मा जापान र कोस्टारिकाले जित निकाल्दा स्पेन र जर्मनी बाहिरिनेछन् । जर्मनी र स्पेनले स्पष्ट तीन अंक जोड्दा जापान र कोस्टारिकाको यात्रा पहिलो चरणसम्म मात्र हुनेछ । 

स्पेन र जर्मनीले आ–आफ्ना प्रतिद्वन्द्वीलाई हराउँदा जापान र कोस्टारिकाको विश्वकप यात्रा पहिलो चरणसम्म रहनेछ । समूहमा स्पेन चार अंकसहित शीर्ष स्थानमा छ । जापान र कोस्टारिकाले सामान तीन अंक जोडेका छन् । जर्मनी एक अंकका साथ पुछारमा छ । जर्मनी पहिलो खेलमै जापानसँग २–१ ले स्तब्ध भएको थियो । दोस्रो खेलमा जर्मनीले अन्तिम समयमा स्पेनलाई १–१ को बराबरीमा रोक्न सफल भयो । 

जर्मनी र कोस्टारिकाबीचको खेल अल बायत मैदानमा हुनेछ । बिहीबार दोहामा कोस्टारिकाविरुद्ध खेल्दा जर्मनीमाथि चर्को दबाब हुनेछ । प्रशिक्षक हान्सी फ्लिक जर्मनीलाई दोस्रो चरणमा पुर्‍याउने लक्ष्य राख्छन् । उनी जर्मन फुटबल इहिासकै ‘फ्लप’ प्रशिक्षक हुन चाहँदैनन् । सन्न्यासनजिक रहेका थोमस मुलर, गोलरक्षक म्यानुअल नुएरको यो अन्तिम विश्वकप हो । एकै समयमा हुने अर्काे खेलमा स्पेन र जापानबीच प्रतिस्पर्धा हुनेछ । यो खेलमा स्पेनलाई एक मात्रै अंक काफी छैन । बराबरी नतिजा निकाल्दा स्पेनले कोस्टारिका र जर्मनीबीचको नतिजा कुर्नुपर्छ । जित निकाल्दा लुइस इन्रिकेको प्रशिक्षण रहेको स्पेन समूह ‘ई’ विजेता बन्नेछ ।