मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
८३औँ मिनेटमा स्विट्जरल्यान्डविरुद्ध गोल गरेपछि ब्राजिलका कासेमिरो खुसी मनाउँदै ।
२०७९ मङ्सिर १३ मंगलबार ०६:३१:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

ब्राजिल प्रिक्वार्टरफाइनलमा

Read Time : > 1 मिनेट
२०७९ मङ्सिर १३ मंगलबार ०६:३१:००

पाँचपटकको विश्व च्याम्पियन ब्राजिल कतार विश्वकप फुटबल प्रतियोगिताको प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताअन्तर्गत समूह ‘जी’मा ब्राजिलले सोमबार स्विट्जरल्यान्डमाथि १–० को कठिन जित निकाली अन्तिम १६ को स्थान पक्का गरेको हो । ब्राजिलले यस समूहमा दुई खेलबाट सर्वाधिक ६ अंक जोडेको छ । स्विट्रल्यान्डले दुई खेलबाट तीन अंक बटुलेको छ । यस समूहबाट स्विट्रल्यान्ड, क्यामरुन र सर्वियाले अन्तिम खेल जित्दा नकआउट चरण स्थान पक्का गर्न सक्छन् । 

ब्राजिलको जितमा कासेमिरोले खेलमा एक मात्र निर्णायक गोल गरेका थिए । उनले खेलको ८३औँ मिनेटमा आकर्षक गोल गरेका थिए । डी–बक्सभित्र प्राप्त पासमा कासेमिरोले वान टचमै दोस्रो बारमा गोल ठोके । उनले प्रहार गरेको बललाई स्विट्जरल्यान्डका गोलरक्षक सोमेरले छेक्न अवसर नै पाएनन् । 

विश्वकप फुटबलमा कासेमिरो इंग्लिस प्रिमियर लिगको म्यानचेस्टर युनाइटेडका खेलाडीबाट गोल गर्ने पहिलो खेलाडी बनेका छन् । कासेमिरोले गोल गर्दा स्पेनिस क्लब रियल म्याड्रिडका खेलाडीको पनि सहयोग थियो । प्रतिस्पर्धामा स्विट्जरल्यान्डले ब्राजिललाई पहिलो हाफमा गोलरहित बराबरीमा रोकेको थियो । ब्राजिलले मुख्य स्ट्राइकर नेमार जुनियरविना स्विट्जरल्यान्डविरुद्ध प्रतिस्पर्धा गरेको थियो ।

अघिल्लो खेलमा नेमार चोटग्रस्त भएका थिए । जसका कारण उनी दुई खेल खेल्न नसक्ने भएका हुन् । स्विट्जरल्यान्डले पहिलो हाफमा ब्राजिलको पोस्टमा काउन्टर एट्याक्टलाई प्राथमिकतामा राखेको थियो । दोस्रो हाफमा स्विट्जरल्यान्डले खासै प्रभाव बनाउन सकेन । मध्यान्तरपछिको प्रतिस्पर्धामा ब्राजिलले अधिकांश समयमा स्विट्जरल्यान्डको पोस्टमा दबाब राखेको थियो । खेलको ६६औँ मिनेटमा ब्राजिलले एक गोल गरेको थियो । भिनिसिनले गरेको गोललाई भिएआरले अफसाइड दिएको थियो । विश्वकप फुटबलमा ब्राजिल सन् १९९८ देखि समूह चरणमा अपराजित रहेको छ । ब्राजिलले समूह चरणमा लगातार १७ खेलमा जित निकालेको छ । 

एकै खेलमा ६ गोल 
दुई गोलले पछि परेको स्थितिमा पुनरागमन गर्दै क्यामरुनले कतार विश्वकपको प्रिक्वार्टरफाइनल सम्भावना कायम राखेको छ । अल जानोव मैदानमा भएको समूह ‘जी’को खेलमा क्यामरुन र सर्बियाले ३–३ को रोमाञ्चक बराबरी खेले । दुवै टोलीले प्रतियोगितामा एक अंक हात पारेका छन् । चालू विश्वकपकै रोमाञ्चक खेलमा क्यामरुन र सर्बियाबीच खेलमा ६ गोल हुँदा पनि स्पष्ट नतिजा आएन । 

खेलको २९औँ मिनेटमा जिन कार्लेसेले क्यामरुनलाई १–० को अग्रता दिलाए । पहिलो हाफको इन्जुरी समयको दुई मिनेटभित्र सर्बियाले दुई गोल फर्काउँदै खेलमा २–१ को अग्रता लियो । दुसान ट्याडिकको पासमा स्ट्राहिन्जा पाब्लोभिचले १–१ को बराबरी गोल गरे । सर्जेज मिलान्कोभिच सेभिचले मध्यान्तरअघि सर्बियाले २–१ को अग्रता बनाएको थियो । 

खेलको ५३औैँ मिनेटमा अलेक्जान्डर मित्रोभिचले सर्बियालाई ३–१ को बलियो अवस्थामा राखे । क्यामरुनले पनि तीन मिनेटको अन्तरमा दुई गोल गर्दै खेल ३–३ को बराबरीमा ल्यायो । खेलको ६३औँ मिनेटमा भिन्सेन्ट अबुवाकरले ३–२ को गोलअन्तरमा क्यामरुनलाई राखे । खेलको ६६औँ मिनेटमा एरिक म्यासिम मोटिङले क्यामरुनलाई ३–३ को स्थितिमा ल्याए । समूह चरणको अन्तिम खेलमा क्यामरुनले ब्राजिलको सामना गर्नेछ । सर्बिया स्विट्जरल्यान्डसँग भिड्नेछ ।