सत्तागठबन्धनलाई फापेन रुपन्देही, प्रतिनिधिसभामा शून्य

शनिबार, १० मंसिर, २०७९
डिजिटल संस्करण

प्रतिनिधिसभा निर्वाचनमा रुपन्देहीमा सत्तागठबन्धनले नराम्रो हार व्यहोरेको छ। प्रतिनिधिसभामा सत्तागठबन्धन शून्य भएको छ। 

पाँच निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा क्षेत्र नम्बर १ मा एमालेका छविलाल विश्वकर्मा विजयी भएका छन्। सत्तागठबन्धनको समर्थनमा नेकपा एमालेबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवार बनेका घनश्याम भुसाललाई विश्वकर्माले पराजित गरे। 

यस्तै, क्षेत्र नम्बर २ मा एमालेका विष्णु पौडेल विजयी बने। मतगणनाको सुरुवाती चरणमा पछि परेका पौडेलले अन्तिमतिर आएर राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेललाई पराजित गरे।  

क्षेत्र नम्बर ३ मा राप्रपाका दीपक बोहराले सत्तागठबन्धनका साझा उम्मेदवार तथा बहालवाला गृहमन्त्रीसमेत रहेका बालकृष्ण खाणलाई पराजित गर्दै अघिल्लोपटक ब्रेक लागेको संसद् छिर्ने बाटो तय गरे।  

क्षेत्र नम्बर ४ मा लोकतान्त्रिक समाजवादीका सर्वेन्द्रनाथ शुक्लाले मित्रवत प्रतिस्पर्धा गरेका सत्तागठबन्धनका उम्मेदवार कांग्रेसका प्रमोदकुमार यादवलाई पराजित गरे। र, क्षेत्र नम्बर ५ बाट एमालेकै बासुदेव घिमिरेले सत्तागठबन्धनका उम्मेदवार भरत शाहलाई पराजित गरे। 

सुझावित समाचार