Skip This
लाओसको कल सेन्टरमा नेपाली युवायुवतीको तस्करी 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर १० शनिबार
  • Saturday, 27 July, 2024
प्रहरीले पक्रेको रौन चाओहाङ
नयाँ पत्रिका काठमाडौं
२o७९ मङ्सिर १० शनिबार o७:४५:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

लाओसको कल सेन्टरमा नेपाली युवायुवतीको तस्करी 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ मङ्सिर १० शनिबार o७:४५:oo

१० जनाको उद्धार, केही बन्धक, दुई चिनियाँ नागरिक नेपालमा पक्राउ  

चिनियाँ गिरोहले रोजगारीको प्रलोभन दिएर नेपाली युवायुवतीलाई दक्षिणपूर्वी एसियाली देश लाओस तस्करी गर्न थालेको पाइएको छ । यसरी लगिएका १० जनाको हालै उद्धार गरिएको छ भने केही लाओसमै समस्याग्रस्त अवस्थामा रहेका छन् । 

मानव तस्करीमा संलग्न ३० वर्षीया चिनियाँ नागरिक चेन याङ र ३३ वर्षीया रौन चाओहाङलाई प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले काठमाडौंबाट पक्राउ गरेको छ । उनीहरूले नेपालीसँग मिलेर नेपाली युवायुवतीलाई लाओस लगेर बन्धक बनाई कल सेन्टरमा काम लगाउने गरेको ब्युरोका निर्देशक एसएसपी अनुराग द्विवेदीले बताए । 

दानबहादुर मल्ल, एसपी, मानव बेचबिखन अनुसन्धान ब्युरो 
तस्करीमा संलग्न दुईमध्ये एक चिनियाँ नागरिकलाई बंगलादेश भाग्न लागेको अवस्थामा अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो । उनीहरूलाई सघाउने नेपाली नागरिकहरूको पनि खोजी भइरहेको छ । 

ब्युरोमा तीन युवती र सात युवकले यस विषयमा उजुरी दिएका छन् । उनीहरूले चिनियाँ नागरिकसँग चिनजान भएका निरोज मानन्धर र रोबिन शाक्यको सहयोगमा आफूहरूलाई आकर्षक जागिरको प्रलोभनमा लाओस पुर्‍याएर बन्धक बनाई अवैध काममा लगाएको उजुरीमा उल्लेख गरेका छन् । भिजिट भिसामा विदेश जान नेपालमा कडाइ भएपछि उनीहरूलाई गत भदौमा भारतको कोलकात्ता विमानस्थल हुँदै थाइल्यान्डको बैंककबाट लाओस पुर्‍याइएको थियो । त्यहाँ बन्धक बनाई अनलाइन ठगीजस्ता अवैध काममा लगाएको उल्लेख छ । फेसबुकमा राम्री युवतीको फोटो राखी नक्कली आइडी खोल्ने र च्याट गरी प्रेमको नाटक गरी ठगी गर्ने काममा आफूहरूलाई प्रयोग गरिएको युवतीहरूले बताएका छन् । यस्तो काम नगर्ने भन्दा उल्टो पैसा माग्दै उनीहरूलाई यातना दिइएको थियो । मासिक १५ सय अमेरिकी डलर तलब हुने र पछि श्रम भिसासमेत प्राप्त हुने आश्वासन दिएर लाओस पुर्‍याइएको थियो । केहीलाई निःशुल्क त केहीसँग पैसा लिएर लगिएको प्रहरीको भनाइ छ । 

ब्युरोका एसपी दानबहादुर मल्लका अनुसार दुईमध्ये एक चिनियाँलाई बंगलादेश भाग्न लागेको अवस्थामा अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो । उनीहरूलाई सघाउने नेपाली नागरिकको खोजी भइरहेको छ । चिनियाँ भाषा अनुवादकमार्फत नेपालीसँग सम्पर्क गरी यसरी लाओसमा मानव तस्करी हुन थालेको हो । २० हजार लागतमा १५ सय डलर कमाइ हुन्छ भनेर उनीहरूलाई प्रस्ताव गरिएको थियो । ‘घोडाको दाना बनाउने कम्पनी वा बियर कम्पनीमा रोजगारी दिन्छौँ भनिएको थियो । नेपालबाट नै श्रम गरेर जाने हो भनेपछि हामी जान तयार भयौँ,’ प्रहरी कार्यालयमा भेटिएका पीडितले भने, ‘लाओस पुगेपछि मात्र बेचिएको थाहा पायौँ ।’ चिनियाँ नागरिकले ठमेलको आइरिस पपमा उनीहरूको अन्तर्वार्ता लिएको थियो । लाओसको बोकाओ प्रान्तमा लगेर उनीहरूलाई एक घरमा बन्धक बनाइएको थियो । थाइल्यान्डको सीमानजिक पर्ने सो प्रान्त अन्तर्राष्ट्रिय माफियाका कारण कुख्यात छ । जहाँ चिनियाँहरूले कल सेन्टरका नाममा गोप्य रूपमा इन्टरनेटमार्फत ठगी सञ्जाल नै चलाएका छन् । तिनै कल सेन्टरमा नेपाली युवायुवती लैजान थालिएको हो । 

उनीहरू त्यहाँबाट घुम्न निस्कने बहानामा भागेका थिए । ‘दिनमा कम्तीमा पाँचजना ग्राहकलाई च्याटमार्फत सम्पर्कमा ल्याउनुपर्छ भन्दै यातना दिन्थे,’ एक पीडित युवतीले भनिन्, ‘यस्तो काम गर्दैनौँ भन्दा उनीहरूले बाहिर जान दिँदैनथे ।’ लाओसस्थित नेपाली वाणिज्यदूत र केही भारतीय चिनजानका व्यक्तिको सहयोगमा उनीहरू त्यहाँबाट भागेर नेपाल आउन सफल भएका हुन् । गत वर्ष यसैगरी कम्बोडियाका कल सेन्टरमा एक सयभन्दा धेरै नेपालीलाई पुर्‍याएर बन्धक बनाई काममा लगाइएको थियो ।