मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
शिवहरि घिमिरे काठमाडाैं
२०७९ मङ्सिर १० शनिबार ०६:०३:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

समानुपातिकतर्फ उपत्यकामा  एमाले र कांग्रेसलाई झड्का

Read Time : > 2 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
२०७९ मङ्सिर १० शनिबार ०६:०३:००

काठमाडौं र ललितपुरमा स्वतन्त्र पार्टी पहिलो, भक्तपुरमा नेमकिपा अहिलेसम्म देशभरको मतगणनामा समानुपातिकतर्फ एमाले पहिलो र कांग्रेस दोस्रो स्थानमा रहे पनि उपत्यकामा भने यी दललाई जबर्जस्त झड्का लागेको छ । समानुपातिकतर्फ काठमाडौं र ललितपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी तथा भक्तपुरमा नेपाल मजदुर किसान पार्टी पहिलो बनेको छ । 

काठमाडौं उपत्यकाका तीन जिल्लाको मतगणना हेर्दा स्वतन्त्र पार्टीले कांग्रेस, एमाले र माओवादीलाई पछाडि पारेको छ । स्वतन्त्र पार्टीले प्रतिनिधिसभा निर्वाचनमा ठूला दललाई झड्का दिँदै उपत्यकामा पाँच सिट जितेको छ ।

काठमाडौंमा समानुपातिकतर्फ कुल तीन लाख ७० हजार दुई सय ३१ मत खसेकोमा स्वतन्त्र पार्टीले प्रतिनिधिसभा समानुपातिकतर्फ सबैभन्दा बढी एक लाख दुई सय ५४ मत पाएको छ । ७९ हजार सात सय ८९ मत प्राप्त गरी कांग्रेस दोस्रो स्थानमा छ । त्यस्तै, एमालेले ७८ हजार चार सय ९१ मत प्राप्त गरेको छ । 

६० हजार ६५८ राप्रपा, १७ हजार ३९७ माओवादी, १३ हजार ३९७ हाम्रो नेपाली पार्टी, १२ हजार ३० एकीकृत समाजवादी, नौ हजार ४४९ नेमकिपा, तीन हजार ४१९ जसपा नेपाल र अन्य साना दलले करिब १२ हजार ५०० मत प्राप्त गरेका छन् । 

ललितपुरमा पनि सबैभन्दा बढी मत रास्वपाले प्राप्त गर्ने देखिएको छ । ललितपुरमा खसेको कुल मत एक लाख ६५ हजार २७३ हो । जिल्ला निर्वाचन कार्यालय ललितपुरका अनुसार क्षेत्र नम्बर १ तर्फ कांग्रेसले धेरै मत प्राप्त गरेको छ भने क्षेत्र २ र ३ मा बढी मत प्राप्त गर्ने स्वतन्त्र पार्टी छ । प्रतिनिधिसभा समानुपातिकतर्फ क्षेत्र नम्बर १ मा १६ हजार ३५२ मत ल्याएर कांग्रेस पहिलो बनेको छ । १५ हजार ५०८ मतसहित एमाले दोस्रो र ६ हजार ८३८ मत प्राप्त गरी तेस्रोमा स्वतन्त्र पार्टी छ । 

प्रदेश सभा समानुपातिकतर्फ ललितपुर १ मा कांग्रेस १७ हजार ६४८, १६ हजार ८२ एमाले र ५ हजार ४८२ माओवादीले प्राप्त गरेको छ । क्षेत्र नम्बर २ प्रतिनिधिसभा समानुपातिकतर्फ ११ हजार ८९५ मतसहित राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, ११ हजार ८५ मतसहित दोस्रोमा एमाले र तेस्रो बनेको कांग्रेसले नौ हजार २५२ मत पाएको छ । त्यस्तै, प्रदेश सभातर्फ १२ हजार ६०५ मतसहित एमाले अगाडि छ । १० हजार ७०७ मतसहित दोस्रोमा राप्रपा र नौ हजार १८४ मतसहित तेस्रोमा कांग्रेस छ । 

ललितपुर क्षेत्र ३ मा पनि प्रतिनिधिसभा र प्रदेश सभातर्फ सबैभन्दा बढी मत स्वतन्त्र पार्टीले प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालय, ललितपुरले जनाएको छ । हाल क्षेत्र ३ को तथ्यांक एकीकृत गर्ने कार्य भइरहेको छ । 

भक्तपुरमा नेमकिपा पहिलो 
प्रतिनिधिसभा र प्रदेश सभा समानुपातिकतर्फ भक्तपुरमा नेपाल मजदुर किसान पार्टीले सबैभन्दा बढी मत प्राप्त गरेको छ । खसेको कुल एक लाख ३९ हजार ९३८ मध्ये सबैभन्दा धेरै नेमकिपाले प्राप्त गरेको छ । प्रतिनिधिसभातर्फ ४० हजार ७६७ र प्रदेश सभातर्फ ४६ हजार २६ मत पाएको हो । १६ हजार ७० मतसहित एमाले दोस्रोमा छ । 

प्रतिनिधिसभातर्फ २३ हजार ७६९ कांग्रेस, २३ हजार ६ स्वतन्त्र पार्टी, ११ हजार ३९२ राप्रपा, चार हजार ९८ माओवादी, दुई हजार १५२ एकीकृत समाजवादी, ६६५ हाम्रो नेपाली पार्टी, ६६३ राप्रपा नेपाल, ४१६ जसपा नेपाललगायत अन्य साना दलले झिनो मत प्राप्त गरेका छन् । 

प्रदेश सभातर्फ काठमाडौंमा राप्रपा पहिलो 
प्रदेश सभातर्फ समानुपातिकमा काठमाडौंमा सबैभन्दा बढी मत प्राप्त गर्नेमा राप्रपा छ । राप्रपाले ७० हजार ४५४ मत ल्याउँदा ६५ हजार ९३० ल्याएर एमाले दोस्रो स्थानमा छ । ६२ हजार ५६४ मतसहित तेस्रो स्थानमा कांग्रेस छ । २० हजार २८२ हाम्रो नेपाली पार्टी, १६ हजार ९४ माओवादी र ११ हजार ७०९ मत एकीकृत समाजवादीले प्राप्त गरेको छ ।