मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ माघ १६ सोमबार
  • Monday, 30 January, 2023
२०७९ मङ्सिर ९ शुक्रबार ०८:०४:००
Read Time : > 4 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

उपत्यकाको ‘होली वाइन’ संस्कृति र चुनाव

चुनावले देश र संघीय राजधानी काठमाडौंको पूरै नक्सामा परिवर्तन ल्याइदेला भन्ने सोच्न पनि सकिँदैन र यस्तो सोच्न पनि हुँदैन

Read Time : > 4 मिनेट
२०७९ मङ्सिर ९ शुक्रबार ०८:०४:००

काठमाडौं उपत्यकामा चुनाव सकिएको छ । चुनावमा नेपाली कांग्रेसले काठमाडौंको पाँच स्थानमा कब्जा जमाएको छ । यसपटक काठमाडौं १ को निर्वाचनमा सर्वमान्य नेता गणेशमान सिंहको प्रतिष्ठा तानिएको थियो । प्रकाशमान सिंहले बडो धैर्यसाथ यो प्रतिष्ठा जोगाएका छन् । चुनावमा जितेपछि ‘मतान्तर’को चर्चा अर्थहीन हुन्छ ।

कांग्रेसका गगनको विजयमा पनि सन्देह थिएन । राजन केसीको विजय पनि सन्देहरहित नै थियो । यो लहरमा सशक्त साबित भए, प्रदीप पौडेल । उनले एमाले अध्यक्ष खड्गप्रसाद शर्मा ओलीका उत्तराधिकारीका रूपमा स्थापित हुने मौकाको खोजीमा रहेका एमालेका सातिर नेता ईश्वर पोखरेललाई खुम्च्याइदिए । यता पोखरेलको पराजय, उता कृष्णगोपाल श्रेष्ठको विजयको निरन्तरता । राजनीतिक दलका रूपमा दर्ता भए पनि समाजमा राम्ररी स्थापित नभइसकेको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सोबिता गौतम, शिशिर खनाल, गणेश पराजुली र विराजभक्त श्रेष्ठको विजयलाई काठमाडौंले गरेको परिवर्तनको खोजी भन्ने मान्नुपर्छ । 

ललितपुरमा डा. तोसिमा कार्की त्यही परिवर्तनको खोजीको अर्को शृंखला हुन् । उनले एमालेका अमृत खड्का र माओवादी नेतृ पम्फा भुसाललाई पराजित गरेकी छिन् । तोसिमाको विजयमा जनता पक्कै खुसी होलान् । किनभने, पम्फाको राजनीति बढी प्राविधिक थियो । उनमा लोभ थिएन । तर, विकासको काम गरेर जनता रिझाउने कौशल देखिएन । मतदाताले उनको मानवीय गुण देखेनन् । पम्फाको राजनीतिक आवश्यकता सकिएको छैन । विचारले माओवादी भए पनि उनी प्रतिशोधकहरूको बीचबाट लडेर आएकी हुन् । उदयशमशेर राणाको पुनरोदय राम्रो संकेत हो । उदयमा राणाहरूमा अक्सर पाइने तुजुक छैन । उनी सरल छन् । प्रेम महर्जनको जितले ललितपुरमा एमालेको साख जोगाएको छ ।

भक्तपुरमा प्रेम सुवालको विजय अत्यन्त स्वाभाविक थियो । नारायणमान बिजुक्छे नेतृत्वको नेपाल मजदुर किसान पार्टीका प्रभावशाली नेताका रूपमा सुवालको विजय जनताको स्वाभाविक चयन हो । प्रेम सुवालको विजयको स्वागत सबैले गरेका छन् । दुर्लभ थापाको विजय र महेश बस्नेतको पराजय भक्तपुरका लागि एक सुखद सन्देश हो । बस्नेतलाई पराजित गरेर भक्तपुरका जनताले केपी ओलीका बहुमुखी प्रतिभाशाली कार्यकर्ताको वास्तविक हैसियत देखाइदिएका छन् । राजनीतिमा बढी उत्ताउलो हुँदा आइपर्ने अवस्था हो यो । 
 

सबैभन्दा महत्वपूर्ण कुरा, यो उपत्यका एउटै चट्टानमा अडेको भए पनि यसका चरित्र विविध छन् । तीन सहरको उल्लेख नगरी उपत्यकाको वर्णन पूरा हुँदैन । यो स्तम्भकारले सुनेको नेपालको नाम थियो तीन शहर नेपाल । रमाइलो कुरा– इतिहासको कुनै पनि कालखण्डमा उपत्यकाका तीन शहर– काठमाडौं, ललितपुर र भक्तपुरबीचको सम्बन्ध सहज रहेको छैन । उपत्यका अहिले पनि विभाजित छ । काष्ठमण्डप भत्किएपछि कान्तिपुर नामकरण भएको शहर अहिले काठमाडौंका नाममा सबैको जिब्रोमा चढेको छ । 

काठमाडौं उपत्यकाको राज्य–व्यवस्था र राजनीति लिच्छविकालदेखि नै गजमजिएको छ । लिच्छविहरूले यहाँको शासन ‘होली वाइन’को सांस्कृतिक र धार्मिक शक्तिका आधारमा चलाएका थिए । नेपालका सुप्रसिद्ध संस्कृतिविद् प्राध्यापक हितनारायण झाका अनुसार लिच्छविकालभन्दा पहिले काठमाडौंमा वैशालीहरूको शासन थियो । लिच्छविहरूको शरीरको नसानसामा आफ्ना पुर्खा वैशालीहरूको रगत दौडिरहेको थियो । वैशालीले धार्मिक सहिष्णुताको सम्मान गरेका थिए । यसको बिँडो थामेका थिए, लिच्छविकालका प्रतापी राजा मानदेवले ।

चुनाव भयो । कर्मकाण्डी हिसाबले एउटा संवैधानिक प्रक्रिया पूरा भयो । कसले जित्यो वा जित्दै छ र कसले हा¥यो वा हार्दै छ ? सामान्य नेपाली जनताका लागि यो गौण विषय हो ।

उनी आफैँ विष्णु भगवान्का अनुयायी थिए भने उनका रानीहरू भगवान् महादेवका भक्त थिए । लिच्छविहरू सूर्य, शक्ति र ‘हेतु–कारण’को पूजा अर्चना गर्थे । तान्त्रिक साहित्यमा हेतु र कारणको अर्थ रक्सी हो । सन्दर्भमा, नेपालमा केपी ओलीलगायत बहुचर्चित नेताहरूले केही समयअघि सोल्टी होटलमा पिएको कोरियाली क्रिस्चियनहरूको ‘होली वाइन’को सम्झना गरे पुग्छ । त्यसवेला केपी ओलीले पाएको कुन्नि कति करोड रुपैयाँको नगद पुरस्कारको पनि सम्झना राखे पुग्छ । आज पनि काठमाडौं उपत्यकाका तीनवटै शहरमा लगभग तीन हजार वर्षपहिलेदेखि चल्दै आएको हेतु–कारणको पूजा हुन्छ । तीनै शहरका गृहिणीहरू दिनहुँ दैलोमा सूर्य र दैलोसँग जोडिएको खोपामा भीमसेन अर्थात् शक्तिको पूजा गर्छन् । 

नेपालमा २००७ सालमा कांग्रेसको नेतृत्वमा भएको राणाशासनविरोधी क्रान्तिपछिको लामो समय ठूलो उथलपुथलको समय हो । २०१७ सालमा राजा महेन्द्रले प्रत्यक्ष शासन चलाउने आफ्नो महत्वाकांक्षा पूरा गर्न राणाशासनको विकल्पमा स्थापित संवैधानिक राजतन्त्रअन्तर्गतको संसदीय प्रजातन्त्रको अन्त्य गरेर बिपी कोइराला र उहाँका हजारौँ सहयात्रीको दमन सुरु गरे । त्यसविरुद्ध कांग्रेसका कार्यवाहक सभापति सुवर्णशमशेर राणाको नेतृत्वमा भारतको कलकत्ताबाट सशस्त्र क्रान्तिको बिगुल फुकियो ।

नेपालको राजनीतिमा बढ्दो अन्तर्राष्ट्रिय चासो र दबाबपछि लामो समय कारागारमा बिताउनुभएका बिपी कोइराला आफ्ना सहयोगी गणेशमान सिंहसहित राजा महेन्द्रसँग मेलमिलापको सर्तमा रिहा हुनुभयो । तर, राजासँग मेलमिलापका लागि समय र परिस्थिति अनुकूल नदेखेपछि जेलबाट रिहा भएको केही समयपछि उहाँ स्व–निर्वासनमा भारत जानुभयो । उहाँको नेतृत्वमा नेपालको निरंकुश राजतन्त्रविरुद्ध भारतबाटै फेरि एकपटक सशस्त्र आन्दोलन सुरु भयो । बिपी आफैँले राजाको निरंकुश शासनविरुद्ध सशस्त्र आन्दोलनको निर्णय लिनुभएको थियो कि यस्तो निर्णय गर्न कार्यकर्ताको पंक्तिबाट दबाब थियो ? यो अध्ययनको विषय हो । यसबाट कांग्रेसले ठूलो क्षति व्यहोर्नुपर्‍यो । बिपीले सशस्त्र आन्दोलन फिर्ता लिनुभयो ।

सत्र साल पुस एक गतेको घटनापछि काठमाडौं शहरमा विद्रोह र आन्दोलनको क्रम थामिएन । राजधानी शहर काठमाडौंकेन्द्रित ठूला–साना आन्दोलन निरन्तर भई नै रहे । पाकिस्तानका लोकप्रिय नेता प्रधानमन्त्री जुल्फिकर अली भुट्टोलाई पाकिस्तानी सेनाको सरकारले फाँसी दिएर हत्या गरेपछि ०३५ को फागुन महिनादेखि काठमाडौंमा विद्यार्थी आन्दोलन सुरु भयो । नेपाल विद्यार्थी संघका अध्यक्ष बलबहादुर केसी, विद्यार्थी फेडरेसनका अध्यक्ष कैलाश कार्की र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष शरणविक्रम मल्लले यो आन्दोलनको नेतृत्व गरेका थिए । आन्दोलनमा विद्यार्थी सहभागिताको क्रम बढ्दै थियो । राजनीतिक पारो तात्दै थियो । शहरमा तोडफोड सुरु भयो । गोरखापत्र संस्थानमा आगो लाग्यो । 

वातावरण सम्हालिनसक्नु भएपछि ०३६ साल जेठ १० गते राजा वीरेन्द्रले आफ्ना पिताको प्रत्यक्ष शासनको आकांक्षालाई जनमत–संग्रहको परीक्षणमा पठाए । शीतयुद्धको त्यो समयमा जनमत संग्रहको चलन बाक्लै थियो । एसिया र अफ्रिकाका तानाशाह जनमत संग्रहको प्रायोजन गरेर आफ्नो शासनलाई वैध साबित गर्थे । राजा वीरेन्द्रले त्यसो गरेनन् । उनले आफ्ना पिताका विवादास्पद भए पनि प्रमुख भारदार रहेका सूर्यबहादुर थापालाई प्रधानमन्त्री पदमा नियुक्त गरेर पञ्चायत व्यवस्थालाई जिताउने जिम्मेवारी दिए । सूर्यबहादुर थापाले त्यो जिम्मेवारी पूरा पनि गरे ।

०३७ देखि ०४७ सालसम्म दश वर्षको संक्रमणकालीन समयमा जनताले प्रजातन्त्रप्रति निकै ठूलो मोह देखाए । प्राचीन देश नेपालको शासनको नाभीका रूपमा रहेको काठमाडौंले दूरदराज र काँठ–कछाडका जनताले प्रक्षेपण गरेको परिवर्तनको सन्देशलाई राम्ररी बुझ्यो । लगभग तीन हजार वर्षदेखि सभ्यता, संस्कृति र सत्ताको केन्द्रका रूपमा रहेको नेपालको अन्तरंग राजधानी काठमाडौं उपत्यकालाई जुन वर्गले आफ्नो कब्जामा राखेको छ, त्यो वर्ग नेपाललाई अग्रगमनको बाटामा हिँड्न दिन चाहँदैन । त्यस वर्गलाई नेपालको आकार ब्रह्मपुत्र नदीदेखि सतलज नदीसम्म फैलिएको गौरव छैन, मेचीदेखि महाकालीसम्म खुम्चिँदा पनि पश्चात्ताप छैन । कुनै पनि शहरको चरित्र बुझ्न यहाँका शासकहरूको चरित्र बुझ्नुपर्छ । यहाँका शासकहरू भनेका राजा–महाराजा होइनन् । यहाँका शासक ती हुन्, जो चुच्चे नक्सा देखे पनि रमाउँछन् । नक्साबाट चुच्चो हटाए पनि रमाउँछन् । उनीहरूको खुसी सपाट हुन्छ । त्यसमा उतार–चढाव देखिँदैन ।

यो चुनावले देश र संघीय राजधानी काठमाडौंको पूरै नक्सामा परिवर्तन ल्याइदेला, त्यो सोच्न सकिँदैन र यस्तो सोच्न पनि हुँदैन । निर्वाचन आयोगको प्रक्षेपणअनुसार, यसपालिको चुनावमा ६३ प्रतिशत मतदाताले मतदान गरेका छन् । यो अंकमा तलमाथि पक्कै होला । सरकारी निकायको विश्वसनीयता घट्ने क्रममा जो छ । निर्वाचन आयोग र यसको वर्तमान नेतृत्व पक्कै पनि यसको अपवाद होइन । चुनाव भयो । कर्मकाण्डी हिसाबले एउटा संवैधानिक प्रक्रिया पूरा भयो । कसले जित्यो वा जित्दै छ र कसले हार्‍यो वा हार्दै छ ? सामान्य नेपाली जनताका लागि यो गौण विषय हो । अहिलेसम्म रित्तो कसौंडीको मुख ढाकेर भोट माग्ने नेताहरूले विचार गर्नुपर्ने सबभन्दा महत्वपूर्ण पक्ष यही हो ।