मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
कमलराज भट्ट काठमाडाैं
२०७९ मङ्सिर ७ बुधबार ०५:३१:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

पाँच क्षेत्रमा अझै सुरु भएन मतगणना : हेलिकोप्टर कुर्दै हुम्ला र डोल्पाका १८० मतपेटिका

Read Time : > 2 मिनेट
कमलराज भट्ट, काठमाडाैं
२०७९ मङ्सिर ७ बुधबार ०५:३१:००

बाजुराको बुढीनन्दामा चार दिनभित्र पुनः मतदान गराउन निर्देशन उजुरी आएका ठाउँमा थप छानबिन हुने

मतदानको तीन दिन बितिसक्दा पनि पाँच निर्वाचन क्षेत्रमा मतगणना सुरु भएको छैन । निर्वाचन आयोगले प्रत्यक्षतर्फको मतपरिणाम तीन दिनभित्र दिने दाबी गरे पनि हुम्ला, डोल्पा, दोलखा, बाजुरा र स्याङ्जा २ मा मतगणना सुरु हुन नसकेको हो । 

हुम्ला र डोल्पाका अति विकट मतदानस्थलबाट मटपेटिका ढुवानी नै हुन सकेको छैन भने दोलखा र स्याङ्जा २ मा दलीय विवादले मतगणना हुन नसकेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । त्यस्तै, बाजुरामा हिंसात्मक घटनाले एक मतदानस्थलमा पुनः मतदानको वातावरण बन्न नसक्दा मतगणनामा अझै ढिलाइ हुने देखिएको छ । बाजुराकोे बुढीनन्दा नगरपालिकामा चार दिनभित्र पुनः मतदान गराउन आयोगले निर्देशन पठाएको छ । 

आयोगले दलगत विवाद र उम्मेदवारबाट उजुरी आएका ठाउँमा थप अध्ययन तथा छानबिन गरेर निर्णय लिने भएको छ । यसका लागि पुनः मतदानको मागसहित उम्मेदवारबाट उजुरी परेको स्याङ्जा २, दोलखा र बाजुरालाई पत्राचार गरिएको छ । ‘उम्मेदवारले उजुरी हालेको ठाउँमा के भएको हो, के गर्नुपर्ने हो, थप बुझेर यथार्थ राय पठाउनू भनेर मुख्य निर्वाचन अधिकृतलाई पत्र पठाइएको छ,’ प्रमुख आयुक्त दिनेश थपलियाले भने, ‘जिल्लाबाट विवरण आएपछि उपयुक्त निर्णय लिन्छौँ ।’ 

उनले मतदान स्थगित भएका चार क्षेत्रमध्ये नवलपुर, गुल्मी र सुर्खेतमा पुनः मतदान भई गणना थालिएको र मुगुको पनि मतपेटिका आएर गणना आरम्भ भइसकेको बताए । गणना भएका ठाउँको परिणाम १२ मंसिरभित्रै आउने उनको दाबी छ । 

स्याङ्जा २ र दोलखामा एमालेले लगायो धाँधलीको आरोप
स्याङ्जा २ मा मतदानकै दिन मतपेटिका संकलन गरेर मतगणनाको तयारीका लागि सर्वदलीय बैठक डाकिएको थियो । तर, एमालेले धाँधली भएको भन्दै पुनः मतदानको माग गरेकोमा मंगलबार रातिसम्म पनि सहमति जुट्न सकेको छैन । जिल्ला निर्वाचन अधिकृत रामचन्द्र शर्माले सर्वदलीय बैठकमा पनि सहमति नजुटेपछि केन्द्रमा जानकारी गराइएको बताए । 

‘मतपेटिका आइसकेपछि गणनाको तयारी भए पनि धाँधली भएको भन्दै एमालेले पुनः मतदानको माग गरेको छ । सर्वदलीय बैठकमा सहमति जुट्न सकेन । यहाँको वस्तुस्थितिबारे आयोगमा जानकारी गराएका छौँ । आयोगबाट निर्देशन आएपछि अघि बढ्छौँ,’ उनले भने । 

उक्त क्षेत्रको चापाकोट नगरपालिका– ३ को दिसिङकोट आधारभूत विद्यालय, वडा नम्बर ४ को राममन्दिर मावि, वडा नम्बर ५ को जनसक्रिय आधारभूत विद्यालय र सोही वडाको दिनदयाली आधारभूत माविको बुथ कब्जा भएको एमालेको आरोप छ । यहाँ कांग्रेसले गणना सुरु गर्न माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा धर्ना दिएको छ । 

त्यस्तै, दोलखामा तनावका बीच मतदान सम्पन्न भए पनि अझै गणना सुरु हुन सकेको छैन । एमालेले धाँधली भएको भन्दै पाँच स्थलमा पुनः मतदानको माग गरेको छ । ‘दोलखा अध्ययनकै क्रममा छ । वस्तुगत विवरण आएपछि निर्णय लिन्छ,’ सहायक प्रवक्ता कमल भट्टराईले भने । यहाँ एमालेले वैत्यश्वर माविको ६ मतदान केन्द्र, हेल्थपोस्ट तामाकोसीका तीन मतदान केन्द्र, वडा कार्यालय पीपलबोट वैत्यश्वरको एक मतदान केन्द्र, नवीन मावि शैलुङको तीन मतदान केन्द्र र जखे प्रावि मेलुङको चार मतदान केन्द्रमा बुथ कब्जा गरेर धाँधली गरेको दाबी गर्दै पुनः मतदानको माग गरेको छ ।

हेलिकोप्टर कुर्दै हुम्ला र डोल्पाका १८० मतपेटिका
हुम्ला र डोल्पाको अति विकट मतदानस्थलबाट मंगलबार पनि मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालय ल्याउन नसकेकाले गणना प्रारम्भ हुन सकेको छैन । मंगलबार पनि मौसमले साथ नदिँदा हेलिकोप्टर उड्न नसकेर ढुवानी गर्न नसकिएको उपसचिव कमल ज्ञवालीले जानकारी दिए । उनका अनुसार हुम्लाको अदानचुली गाउँपालिका, चंखेली गाउँपालिका, ताँजाकोट गाउँपालिका र सर्केगाड गाउँपालिकाका ३४ वटा मतदान केन्द्रबाट मतपेटिका ल्याउन सकिएको छैन । त्यस्तै, डोल्पाको शेफोक्सुण्डो गाउँपालिकाको ११ वटा मतदान केन्द्रबाट मतपेटिका सदरमुकाम ल्याउन सकिएको छैन । कुल ४५ मतदान केन्द्रबाट एक सय ८० मतपेटिकासहित कर्मचारीहरू हेलिकोप्टरको पर्खाइमा रहेको र बुधबार १२ बजेसम्म आइपुग्ने ज्ञवालीले बताए ।

विदेशी पाहुना फर्किए
निर्वाचन पर्यवेक्षणका लागि आएका मित्रराष्ट्रका प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरू स्वदेश फर्किएका छन् । पर्ववेक्षणका क्रममा उनीहरूले मतदान शान्तिपूर्ण, व्यवस्थित र सफल रूपमा सम्पन्न भएको निष्कर्ष निकालेका थिए । मंगलबार भारतका प्रमुख आयुक्त राजीव कुमार, बंगलादेशका प्रमुख आयुक्त काजी हबिबुल अवल र दक्षिण कोरियाका आयुक्त काङ सियोङ बेको टोली फर्किएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उनका अनुसार जापानका विदेश राज्यमन्त्री ताकेई सुनसुकेको टोली सोमबार नै फर्किएको थियो । माल्दिभ्सका प्रमुख आयुक्त फुवाद तौफिक बुधबार र भुटानका प्रमुख आयुक्त सोनम तोप्गेको टोली बिहीबार फर्किने पौडेलले बताए । 

लामिछानेले बुझाए स्पष्टीकरण
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नागरिकता विवादमा स्पष्टीकरण बुझाएका छन् । ३० कात्तिकमा चितवन २ को मुख्य निर्वाचन अधिकृतको कार्यालयले सात दिनको समय दिएर लामिछानेलाई स्पष्टीकरण सोधेको थियो । सातौँ दिन मंगलबार लामिछानेले खाम सिलबन्दी गरेर स्पष्टीकरण जवाफ पेस गरेको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए । ‘जवाफसँगै उहाँबाट आएको निवेदनमा गोपनीयता कायम गरेर आयोगमा पठाइपाऊँ भनेर अनुरोध भएकाले हामीले नहेरी माथि पठाउँछौँ,’ उनले भने । 

चितवन २ का उम्मेदवार लामिछानेविरुद्ध २९ कात्तिकमा राजकुमार पाण्डेले विदेशी नागरिकता त्यागेर पुनः नेपाली नागरिकता नलिएको र उनी नेपाली नागरिक नभएकाले उम्मेदवार बन्न अयोग्य रहेको जिकिर गर्दै निर्वाचन आयोगमार्फत मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका थिए । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जिल्लाबाट स्पष्टीकरण जवाफ आएपछि तथ्य–प्रमाणका आधारमा निर्णय गरिने बताए ।