धेरै देशसँग आणविक हतियार हुँदा अकल्पनीय विनाशकारी हतियार प्रयोगको सम्भावना अविश्वसनीय रूपले बढ्छ
अमेरिकाले दोस्रो विश्वयुद्ध छिटो अन्त्य गर्न दुइटा आणविक हतियार जापानमा खसालेको सन् १९४५ को अगस्टयता आणविक हतियार अन्तर्राष्ट्रिय सम्बन्धको एउटा विशेषता बनेको छ । त्यसयता कुनै आणविक हतियार प्रयोग त गरिएको छैन । तर, यी हतियारले अमेरिका र सोभियत संघबीचको टकरावमा दुवै पक्षलाई केही हदसम्म सावधानी अपनाएर शीतयुद्धलाई शान्त बनाउन मद्दत गरे ।
यसबाहेक आणविक अप्रसार सन्धि एवं अन्य हतियार–नियन्त्रण सम्झौताहरू यी दुवै देशको आणविक हतियारलाई सीमित गर्न र आणविक प्रसारलाई रोक्न सफल रहे । यही कारण अहिले उनीहरूबाहेक केवल सात देश (बेलायत, फ्रान्स, चीन, इजरायल, भारत, पाकिस्तान र उत्तर कोरिया)सँग मात्र परमाणु हतियार छन् ।
अब प्रश्न उठ्छ, के हामी भूराजनीतिमा आणविक हतियारको प्रमुख भूमिका रहने र यसलाई प्राप्त गर्न धेरैभन्दा धेरै देशले प्रयास गर्ने नयाँ युगको सँघारमा पुगेका हौँ ? आणविक हतियार प्राप्ति र प्रयोगमा समेत हिचकिचाहटको भावना हराउँदै जानु खतराको संकेत हो । समयक्रमसँगै कम विनाशकारी नयाँ पुस्ताका ट्याक्टिकल (रणनीतिक) आणविक हतियारकोे उदयले तिनको प्रयोगलाई अधिक सम्भव बनाएको छ ।
युक्रेनविरुद्धको रुसी आक्रमणले नयाँ आणविक युगको आगमनलाई धेरै तरहले सम्भव बनाएको देखिन्छ । सन् १९९१ मा सोभियत संघको विघटनपछि युक्रेनले सुरक्षा आश्वासनको बदलामा आफ्नो भूमिमा रहेका आणविक हतियार रुसलाई समर्पण गरेको थियो । त्यसयता रुसले युक्रेनमाथि दुईपटक आक्रमण गरिसकेको छ । यसले अन्य देशलाई आणविक हतियार त्याग्दा देशको सुरक्षा खतरामा पर्छ भन्ने पार्न सक्छ ।
रुसले युक्रेनमाथि दोस्रोपटक आक्रमण थालेपछि युक्रेनमा सेना पठाउँदा वा उडान–निषेधित क्षेत्र स्थापना गर्दा आणविकसहितको तेस्रो विश्वयुद्ध निम्तिन सक्ने खतरालाई मध्यनजर गर्दै अमेरिकाले युक्रेनको पक्षमा प्रत्यक्ष सैन्य संलग्नता अस्वीकार गर्यो । यो नजिरले चीन र अन्य देशलाई आफूसँग पर्याप्त आणविक हतियार छ भने अमेरिकालाई समेत रोक्न सकिँदो रहेछ भन्ने पर्न सक्छ । हालैमा, युद्धभूमिमा असफलता व्यहोरेर पछि हट्न बाध्य भएपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनीहरूलाई भयभीत बनाउन र युरोप र अमेरिकालाई किभमाथिको समर्थनलाई पुनर्विचार गर्न बाध्य बनाउने मनसायले युक्रेनमा आणविक हतियार प्रयोग गर्ने धम्की दिएका छन् ।
अन्यत्रका घटनाक्रमले पनि आणविक हतियारको महत्वमाथि पुनर्विचार गर्न सहयोग गरेको छ । आणविक हतियार कार्यक्रम त्यागेपछि इराक र लिबियाका सरकारलाई सैन्य कारबाहीबाट अपदस्थ गरियो । यसले अन्य मुलुकलाई आणविक क्षमता हुँदा वा आणविक हतियार विकासको कार्यक्रमलाई कायमै राख्दा नै फाइदा हुन्छ भन्ने दिशामा लैजान सक्छ । उत्तर कोरिया आणविक हतियार विस्तार जारी राखेकै कारण सुरक्षित छ भन्ने पर्न सक्छ । विश्वले इजरायली, भारतीय र पाकिस्तानी आणविक हतियारहरू यसरी नै स्वीकार गरेको हो ।
खतरा के भने धेरै हातमा धेरै आणविक हतियारले यी अकल्पनीय विनाशकारी हतियारमध्ये एकाध प्रयोग हुन सक्ने सम्भावनालाई बढाउँछ । यी हतियार प्रतिभय (डिटरेन्स)का लागि मात्रै प्रयोग हुने कल्पना गर्न सकिँदैन । आणविक हतियारमा रक्षाकवच बन्ने क्षमता छ, तर यसले गैरआणविक आक्रमणलाई अझ आम बनाउन सक्ने खतरा पनि हुन्छ । कुनै देश आणविक हतियार विकास गर्न लागिपरेको छ भन्ने विश्वासबाट चिन्तित उसको छिमेकी राष्ट्रले उसमाथि सैन्य कारबाही गर्न सक्छ र त्यो ठूलो स्तरको युद्धमा पुग्न सक्छ ।
यी खतरालाई मनन गर्दा अहिलेको तात्कालिक कार्य पुटिनको आणविक शक्तिको प्रदर्शन कसैगरी पुरस्कृत नहुने सुनिश्चित गर्नु नै हो, नत्र यसले खतरनाक उदाहरण स्थापित गर्नेछ । यसर्थ, युक्रेनमा पश्चिमको सैन्य एवं आर्थिक सहयोगलाई कायम राख्नु आवश्यक छ । साथै अमेरिका र उसका सहयोगीले रुसको अणविक हतियारको प्रयोग उसका युक्रेनमा रहेका रुसी सैनिक र यो निर्णयमा संलग्न जो–कसैका लािग महंँगो साबित हुने कुरा पनि बारम्बार सम्झाइरहनुपर्छ ।
सन् २०२६ मा यी दुई ठूला आणविक शक्तिबीच विद्यमान हतियारलाई परिसीमित गर्ने अप्रसार सन्धिको म्याद समाप्त हुनुअगावै अमेरिकाले रुसलाई आणविक हतियार नियन्त्रणको अर्को चरणका लागि आफू छलफल गर्न तयार रहेको संकेत दिनुपर्छ । चीनलाई यसमा समावेश गर्ने जस्तै परिसीमा लगाउने हतियार प्रणालीको प्रकार र संख्यालाई पनि सम्झौताको एजेन्डामा समावेश गर्नु आवश्यक हुन्छ ।
विश्व शक्तिहरूले इरानसँग गरेको सन् २०१५ को आणविक सम्झौतामा थुप्रै कमी–कमजोरी रहेकाले यसलाई पुनर्जीवित गर्नाले (जसबाट अमेरिका सन् २०१८ मा फिर्ता भएको थियो) पनि अस्थायी रूपमा मात्र मद्दत गर्नेछ । सन्धिका खुकुला प्रावधानले इरानलाई प्रतिबन्धबाट बाहिर निस्किन र अझ बढी आक्रामक विदेश नीतिको अनुसरण गर्न सक्षम बनाएकाले यो महँगो साबित हुने निश्चित छ ।
इरानले आणविक हतियार विकास नगर्ने वा यस्तो हतियार विकास गर्ने क्षमता हासिल नगर्ने सुनिश्चितता गर्न अमेरिकाले आफ्ना यी क्षेत्रका साझेदारसँग मिलेर कूटनीतिक वा आवश्यक कदम चाल्नु जरुरी छ । यसो गर्न असफल भए इरानका छिमेकीले पनि आणविक हतियारको आवश्यकता महसुस गर्न सक्छन् । यस्तो परिदृश्यले तीन दशकसम्म विश्वको सबैभन्दा अस्थिर क्षेत्रका रूपमा रहेको मध्यपूर्वलाई अझ खतरनाक दिशामा लैजानेछ ।
अर्को चिन्ता एसियामा छ । उत्तर कोरियालाई उसको आणविक हतियारबाट अलग गर्ने प्रयासमा कुनै प्रगति हुन सकेको छैन । ध्येय पूर्णआणविक निःशस्त्रीकरणको हुनुपर्छ, तर अमेरिका, दक्षिण कोरिया र जापानले प्रतिबन्धहरूको बदलामा उत्तर कोरियाको आणविक वा क्षेप्यास्त्र प्रणालीलाई सीमित गर्ने सम्झौताबारे पनि सोच्न आवश्यक छ । अमेरिकाले दक्षिण कोरिया र जापान दुवैसँगको घनिष्ट सम्बन्धलाई कायम राख्दै उत्तर कोरिया र चीनसँग पनि सम्बन्ध कायम राख्नुपर्छ । यसो गर्न असफल भए सम्भवतः दुवै देश आणविक हतियारहरूको त्यागमा पुनर्विचार गर्न बाध्य हुनेछन् ।
लामो समयसम्म अधिकांश विद्वान् एवं नीति–निर्माताहरू आणविक समस्या शीतयुद्धको अवशेष हो भन्ने भ्रममा रहे । तर, विश्व एउटा यस्तो नयाँ युगको नजिक गइरहेको छ, जसलाई आणविक हतियारले अझ मुखर रूपमा परिभाषित गर्नेछ । यो मार्गलाई नबदली हुँदैन , समय हातबाट निस्किँदै छ । यो कुरालाई भ्लादिमिर पुटिनको युक्रेनविरुद्धको धम्कीले देखाउँछ ।
(विदेश सम्बन्ध परिषद्का अध्यक्ष रिचार्ड हास अमेरिकी विदेश मन्त्रालयमा नीति–योजना निर्देशकका रूपमा काम गरिसकेका व्यक्ति हुन् । उनको पछिल्लो पुस्तक ‘द वर्ल्ड : ए ब्रिफ इन्ट्रोडक्सन’ प्रकाशित छ ।)