मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
धनगढीको त्रिनगर माविको मतदान स्थलमा बुथ निर्माण गर्दै कर्मचारी।
२०७९ मङ्सिर ३ शनिबार ११:२४:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

मतदान स्थल पुगे कर्मचारी र सुरक्षाकर्मी

Read Time : > 1 मिनेट
२०७९ मङ्सिर ३ शनिबार ११:२४:००

आइतबार हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको निर्वाचनका लागि आवश्यक सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मी मतदान स्थलमा खटिएका छन्। कैलालीमा सबै निर्वाचन स्थलमा कर्मचारी र सुरक्षाकर्मी पुगिसकेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

जिल्लाका दुई सय ३७ वटै मतदान स्थलमा निर्वाचनका लागि आवश्यक सामग्री लिएर कर्मचारीहरु खटिएका जिल्ला निर्वाचन कार्यालयका निमित्त प्रमुख प्रेम भट्टले जानकारी दिए। कर्मचारीहरुले बुथ निर्माणलगायत व्यवस्थापनको काम गरिरहेका छन्। निर्वाचनका लागि पाँच हजार ५२ कर्मचारी तथा दुई हजार पाँच सय स्वयंसेवक परिचालन गरिएको निमित्त प्रमुख भट्टले बताए। यहाँ छ सय २९ वटा मतदान केन्द्र तोकिएका छन्।

धनगढीको पञ्चोदय माविको मतदान स्थलमा महिला कर्मचारीले नेतृत्व गरिरहेका छन्। निर्वाचन अधिकृतलगायत सबै आठ कर्मचारी महिला रहेका निर्वाचन कार्यालयले जनाएको छ। निर्वाचन अधिकृतको रुपमा मीना जोशी खटिएकी छन्। यो मतदान स्थलमा करिब सात हजार मतदाता छन्।

सुदूरपश्चिममा साढे तीन सय मतदान स्थल अतिसंवेदनशील
सुदूरपश्चिमका नौ जिल्लाका एक हजार एक सय ६१ मतदान स्थलमा सुरक्षा संवेदनशीलताका आधारमा वर्गीकरण गरेर सुरक्षाकर्मी परिचालन गरिएको छ। सुरक्षा विश्लेषणका आधारमा तीन सय ५२ वटा मतदान स्थललाई अतिसंवेदनशील, चार सय चार मतदान स्थललाई संवेदनशील र अन्यलाई सामान्य मानेर सुरक्षा व्यवस्था मिलाइएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक भोला रावलले बताए।

निर्वाचनको सुरक्षाका लागि प्रदेशभर छ हजार ४१० नेपाल प्रहरी तथा ११ हजार ५६० म्यादी प्रहरी परिचालन गरिएको छ। छ÷छ हजारको संख्यामा नेपाली सेना र सशस्त्र प्रहरी परिचालन गरिएको सुरक्षा अधिकारीहरुले बताएका छन्।

भारतसँगको खुला सीमाना, निर्वाचन बहिष्कार गरेका दलहरु, दलीय प्रतिस्पर्धा आदि सुरक्षा चुनौतीको रुपमा रहेको प्रहरी बरिष्ठ उपरिक्षक रावलले बताए। भौगोलिक विकटता तथा यातायातको सुविधा नहुनुले पनि केही चुनौती रहेपनि सबै सुरक्षा अंगहरुको समन्वयमा आवश्यक सुरक्षा व्यवस्था मिलाइएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। संवेदनशील भनिएका ठाउँमा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ।

निर्वाचनको सुरक्षाका लागि प्रत्येक स्थानीय तहमा दुईवटाका दरले प्रदेशमा एक सय ७७ वटा मोबाइल टोली परिचालन गरिनुका साथै कुनै अप्रिय अवस्था आएमा २० देखि ३० मिनेटभित्र नेपाली सेनाको टोली पुग्ने व्यवस्था मिलाइएको छ। 

सेनाले हवाइ गस्ती गर्ने
नेपाली सेनाको सुदूरपश्चिम पृतनाका पृतनापति उपरथी विजय थापाले निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न नौवटै जिल्लामा ३० वटा कम्पनी अपरेटिङ वेश, प्लाटुन अपरेटिङ बेस र सेक्सन अपरेटिङ वेशहरुबाट फौज परिचालन गरिएको जानकारी दिए। जिल्ला सुरक्षा समिति र अन्य सुरक्षा निकायको समन्वयका आधारमा प्रदेशभरी दुई सय ५० स्थानमा ससाना टुकुडी खटिएका उनले बताए।

अतिसंवेदनशील मतदान स्थललाई समेट्ने गरी नेपाली सेनाले हवाइ गस्ती पनि गर्ने पृतनापति थापाले जानकारी दिए। ‘राष्ट्रले नेपाली सेनालाई निर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्ने जिम्मेवारी दिएबमोजित पृतनाले केन्द्रीय एकीकृत सुरक्षा योजनाबमोजिम सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लामा फौज परिचालन भइसकेको छ,’ उनले भने, ‘केन्द्रबाट आएको विशेष फौजहरुसमेत विभिन्न जिल्लामा तैनाथी अवस्थामा छ।’