मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
मुना कुँवर काठमाडाैं
२०७९ मङ्सिर ३ शनिबार ०८:५७:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

समस्याग्रस्त सहकारी व्यवस्थापन कार्यालयमा ऋणीको ओइरो

Read Time : > 2 मिनेट
मुना कुँवर, काठमाडाैं
२०७९ मङ्सिर ३ शनिबार ०८:५७:००

११ सहकारीका आठ सय ऋणीबाट सवा अर्ब रुपैयाँ कर्जा उठाउन बाँकी 

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा ऋणीहरूको ओइरो लाग्न थालेको छ । समितिले समस्याग्रस्त सहकारीका ऋणी सञ्चालक, व्यवस्थापक, कर्मचारी र सदस्यहरूलाई ऋण भुक्तानी गर्न नआए कालोसूचीमा राख्ने सूचना जारी गरेपछि उनीहरू सम्पर्कमा आउन थालेका हुन् । 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ११ वटा सहकारीलाई समस्याग्रस्त घोषणा गरेको छ । समस्याग्रस्त घोषणा गरिएका सहकारीका करिब आठ सय ऋणीबाट एक अर्ब ३५ करोड रुपैयाँ कर्जा असुल गर्न बाँकी रहेको समस्याग्रस्त सहकारी व्यवस्थापन गर्न बनेको समितिका सदस्य सचिव केशवप्रसाद पौडेलले बताए । समस्याग्रस्त सहकारीको व्यवस्थापनका लागि सरकारले छुट्टै समिति गठन गरेको छ ।

समितिले सहकारीका ऋणीलाई दायित्व भुक्तानीका लागि बारम्बार ताकेता गर्दै गत साता १५ दिनको अवधि दिएर सार्वजनिक सूचना जारी गरेको हो । सो अवधिमा कर्जा भुक्तानी गर्न नआएमा ऋणीलाई कालोसूचीमा राख्ने जनाएको छ । हालसम्म एक सय ५० भन्दा बढी ऋणीहरू कार्यालयको सम्पर्कमा आएको उनले जानकारी दिए ।  

सरकारले २० कात्तिक ०७४ मा ओरियन्टल सहकारीलाई समस्याग्रस्त घोषणा गरेको थियो । त्यसपछि स्ट्यान्डर्ड सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ, प्यासिफिक सेभिङ एन्ड इन्भेस्टमेन्ट को–अपरेटिभ, प्रभु बचत तथा ऋण सहकारी संस्था, कोहिनुर हिल सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ, कन्जुमर बचत तथा ऋण सहकारी संस्था, कुबेर बचत तथा ऋण सहकारी संस्था, चार्टर्ड सेभिङ एन्ड को–अपरेटिभ, भेगास बचत तथा ऋण सहकारी संस्था र स्ट्यान्डर्ड मल्टिपर्पोज को–अपरेटिभलाई ०७५ असार १८ गते समस्याग्रस्त सहकारी घोषणा गरेको थियो । त्यस्तै, सोसाइटल बचत तथा ऋण सहकारी संस्थालाई ०७५ फागुन १९ गते र लुःनिभा बहुउद्देश्यीय सहकारी संस्थालाई ०७६ साउन १२ गते समस्याग्रस्त घोषणा गरेको हो । 

प्यासिफिक र प्रभुको सबैभन्दा बढी दायित्व 
समस्याग्रस्त घोषणा भएका ११ सहकारी संस्थामध्ये प्यासिफिक सेभिङ एन्ड इन्भेस्टमेन्ट को–अपरेटिभ र प्रभु बचत तथा ऋण सहकारीको सबैभन्दा बढी दायित्व छ । समितिका अनुसार प्यासिफिक सेभिङको कुल दायित्व ९६ करोड ३० लाख छ । सहकारीमा तीन सय ५१ सदस्यको ४८ करोड ७३ लाख साँवा र ४७ करोड ५३ लाख रुपैयाँ ब्याज दायित्व रहेको छ । त्यस्तै, एक लाख कर्जा दायित्व छ भने अन्य दायित्व चार लाख ५० हजार रुपैयाँ छ । त्यस्तै, प्रभु बचत तथा ऋण सहकारीको कुल दायित्व २६ करोड ७१ लाख रुपैयाँ छ । सहकारीमा एक सय ३८ जना सदस्यले १३ करोड ४६ लाख रुपैयाँ साँवा र १३ करोड २५ लाख रुपैयाँ ब्याज दाबी गरेका छन् ।

स्ट्यान्डर्ड सेभिङ एन्ड क्रेडिट को–अपरेटिभको २१ करोड ८३ लाख कुल दायित्व छ । सो सहकारीमा एक सय ७५ सदस्यले दाबी उजुरी गरेका छन् । संस्थाको ११ करोड आठ लाख साँवा दायित्व र १० करोड ७४ लाख ब्याज दायित्व छ । दुई लाख सेयर दायित्व रहेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको तथ्यांकमा उल्लेख छ । 

लुःनिभा बहुउद्देश्यीय सहकारी संस्थाको कुल दायित्व २० करोड २९ लाख रुपैयाँ छ । जसमध्ये १३ करोड ७३ लाख साँवा र ६ करोड ६५ लाख रुपैयाँ ब्याज दायित्व छ । त्यस्तै, सेयर दायित्व ३३ लाख २० हजार छ भने कर्जा दायित्व ४२ लाख १८ हजार रुपैयाँ रहेको समितिको तथ्यांक छ । समस्याग्रस्त सहकारी संस्थामध्ये कुबेर, भेगास बचत तथा ऋण सहकारी संस्था र स्ट्यान्डर्ड मल्टिपर्पोज को–अपरेटिभको सबैभन्दा कम दायित्व देखिएको छ । समितिको तथ्यांकअनुसार कुबेर बचत तथा ऋण सहकारी संस्थामा १० जना सदस्यले दाबी गरेका छन् । संस्थाको कुल दायित्व एक करोड १२ लाख रुपैयाँ छ । जसमध्ये ५७ लाख ३० हजार साँवा र ५५ लाख ५१ हजार रुपैयाँ ब्याज दायित्व छ । 

भेगास बचत तथा ऋण सहकारी संस्थामा १७ सदस्यले दाबी उजुरी गरेका छन् । यो संस्थाको कुल दायित्व तीन करोड ३० लाख रुपैयाँ छ । जसमध्ये एक करोड ६५ लाख रुपैयाँ साँवा र एक करोड ६४ लाख रुपैयाँ ब्याज दायित्व रहेको छ । त्यस्तै, स्ट्यान्डर्ड मल्टिपर्पोज को–अपरेटिभको कुल दायित्व भने एक करोड ४८ लाख रुपैयाँ छ । सो सहकारीमा १६ सदस्यले दाबी उजुरी गरेका छन् । सहकारीको कुल दायित्वमध्ये ७५ लाख २८ हजार रुपैयाँ साँवा दायित्व छ भने ७२ लाख ८४ हजार रुपैयाँ ब्याज दायित्व छ । 

कोहिनुर हिल सेभिङ एन्ड क्रेडिट को–अपरेटिभको चार करोड ७९ लाख रुपैयाँ कुल दायित्व रहेको छ । सो सहकारीमा ५१ सदस्यले दुई करोड ४१ लाख साँवा र दुई करोड ३७ लाख रुपैयाँ ब्याज दाबी गरेका छन् । कन्जुमर बचत तथा ऋण सहकारी संस्थाको आठ करोड ७७ लाख रुपैयाँ दायित्व रहेको छ । सो सहकारीमा ५७ सदस्यले चार करोड ३४ लाख साँवा र चार करोड ३० लाख रुपैयाँ ब्याज दाबी गरेका छन् । त्यस्तै, नौ लाख सेयर दायित्व, दुई लाख १० हजार कर्जा दायित्व र १४ लाख ४० हजार अन्य दायित्व रहेको छ । चार्टर्ड सेभिङ एन्ड को–अपरेटिभमा १४ जना सदस्यले दाबी गरेका छन् । यो संस्थाको एक करोड ६५ लाख कुल दायित्व छ । जसमध्ये ८४ लाख ११ हजार रुपैयाँ साँवा र ८१ लाख १७ हजार ब्याज दायित्व छ । त्यस्तै, सेयर दायित्व भने ५१ लाख रुपैयाँ  छ । सोसाइटल बचत तथा ऋण सहकारी संस्थामा भने दुई सय ४० जना सदस्यले दाबी उजुरी गरेका छन् । यो सहकारीमा १० करोड २२ लाख दायित्व परेको छ ।