मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
रमेश सुवेदी काठमाडाैं
२०७९ मङ्सिर ३ शनिबार ०६:५९:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

युएईविरुद्ध नेपाललाई एकदिवसीय सिरिज 

Read Time : > 2 मिनेट
रमेश सुवेदी, काठमाडाैं
२०७९ मङ्सिर ३ शनिबार ०६:५९:००

लगातार दुई खेलमा उत्कृष्ट पुनरागमन गर्दै नेपालले युएईलाई २–१ ले हराउँदै एकदिवसीय सिरिज हात पार्‍यो 

नेपाली राष्ट्रिय क्रिकेट टोलीले संयुक्त अरब इमिरेट्स (युएई)विरुद्धको तीन एकदिवसीय क्रिकेट सिरिज २–१ ले जितेको छ । शुक्रबार त्रिवि क्रिकेट मैदानमा तेस्रो तथा अन्तिम खेलमा नेपालले युएईमाथि ६ विकेटको जित निकाल्दै सिरिज हात पारेको हो । युवा कप्तान रोहितकुमार पौडेलले आफ्नो पहिलो कप्तानीमै नेपाललाई एकदिवसीय सिरिज दिलाउन सफल भए । नेपाली टोलीले अब डिसेम्बरमा स्कटल्यान्ड, नामिबिया सम्मिलित आइसिसी विश्वकप लिग २ खेल्नेछ । यसका लागि नेपाली टोली नामिबिया जानेछ । 

युएईविरुद्धको अन्तिम खेलमा पूर्वकप्तान ज्ञानेन्द्र मल्ल र आसिफ सेख नायक रहे । मल्ल र सेखले अर्धशतकीय इनिङ्स खेल्दा नेपालको जित पक्का भयो । पहिलो खेलमा युएईले ८४ रनले नेपाललाई पराजित गरेको थियो । दोस्रो खेलमा तीन विकेटको जित निकाल्दै नेपालले बराबरी गर्न सफल भएको थियो । 

आसिफ र ज्ञानेन्द्रको उत्कृष्ट साझेदारी 
टियू मैदानमा पहिलो ब्याटिङ गरेको युएईले ५० ओभरमा नौ विकेट गुमाएर एक सय ६७ रनको मध्य योगफल खडा गर्‍यो । प्रत्युत्तरमा नेपालले ४०.१ ओभरमा चार विकेट गुमाउँदै एक सय ८० रन जोड््यो । नेपालले ५९ बलअघि नै सफलता प्राप्त गर्न सफल भयो । बलर रोहन मुस्तफाको ओभरमा आसिफले विजयी चौका प्रहार गरेका थिए । आसिफले सर्वाधिक ८८ रनको योगदान दिए । प्लेयर अफ दी म्याच आसिफले एक १९ बलमा १२ चौका प्रहार गरे । आसिफको यो पाँचौँ एकदिवसीय अर्धशतक हो । क्रिजमा आसिफलाई गतिलो साथ दिएका पूर्वकप्तान ज्ञानेन्द्रले ६४ रनको महत्वपूर्ण इनिङ्स खेले । 

उनले ७३ बलमा सात चौका र तीन छक्का ठोके । ज्ञानेन्द्रको पनि यो पाँचौँ एकदिवसीय अर्धशतक हो । ज्ञानेन्द्र आयन अफजल खानबाट एलबिडब्लू धरापमा परे । नेपालले २४ रनमा ओपनर अर्जुन साउद (९) लाई गुमाएको थियो । आसिफ र ज्ञानेन्द्रले दोस्रो विकेटका लागि एक सय २२ रनको बलियो साझेदारी गर्दै नेपाललाई १४६–२ को बलियो स्थितिमा राखे । दुवै ब्याट्सम्यानले नेपालका लागि दोस्रो विकेटका लागि सर्वाधिक साझेदारी गरे । नेपालको क्रिकेट इतिहासमा देव खनाल र दीपेन्द्रसिंह ऐरीले तेस्रो विकेटका लागि कीर्तिमानी रूपमा पपुवा न्युगिनीविरुद्ध एक सय २९ रनको साझेदारी गरेका थिए । 

नेपालको ब्याटिङ इनिङमा कप्तान रोहितकुमार पौडेलले १० रन बनाए । दीपेन्द्रसिंह ‘डाइमन्ड डग’ आउट भए । दीपेन्द्र एक बल पनि सामना नगरी रन आउट भएका हुन् । दीपेन्द्रसिंहपछि क्रिजमा आएका हरिशंकर शाहले बलको सामना नै गर्नुपरेन । युएईका बलर आयन र हाज्रात बिलालले समान एक विकेट हात पारे । 

आयनको प्रभावशाली ब्याटिङ
टस हारेर ब्याटिङ गरेको युएई एक समय ९३–९ को नाजुक अवस्थामा थियो । नेपाली बलरले पूर्ण रूपमा खेल नियन्त्रणमा लिएका थिए । यसै महिना अस्ट्रेलियामा भएको आइसिसी टी–२० विश्वकपमा सहभागी भएको युएई सय रनमुनि नै अलआउट हुने छाँटकाँट देखिसकेको थियो । तर, युएईलाई आयान अफजल खान र हर्जत बिलालले अन्तिम विकेटका लागि उकासेका थिए । 

दुवैले अन्तिम विकेटका लागि अविजित ८३ रनको साझेदारी गरेपछि युएई सम्मानजनक योगफलसम्म पुग्यो । आयन खानले ६३ बलमा सात चौका र एक छक्का मद्दतमा अविजित ५४ रन जोडेका थिए । बिलालले ५४ बलमा एक छक्का मद्दतमा अविजित २० रन बनाए । यसैगरी, अलिसान सराफुले ६९ बलमा चार चौका मद्दतमा ३३ रन जोडे ।  

नेपालको कसिलो बलिङ
नेपाली बलरले निर्णायक खेलमा उत्कृष्ट बलिङ गरेका थिए । नेपालका कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी र गुलसन झाले समान दुई विकेट लिएपछि युएईको बलिङ ब्याटिङ धराशायी बन्यो । सात ओभर बलिङ गरेका गुलसनले ४२ रन खर्चिएका थिए । दीपेन्द्रले १० ओभरमा तीन मेडल राखेर २२ रन खर्चिए । कुशलले सात ओभरमा ३२ रन मात्रै दिए । सोमपाल कामी र ललित राजवंशीले समान एक विकेट लिए । युएईका तीन खेलाडी शून्यमा पेभिलियन फर्किए । पाँच बल खेलेका ओपनर अरबिन्दलाई सोमपालले बोल्ड गरे ।  

युएईका आयन सर्वाेत्कृष्ट
१७ वर्षीय युएईका अलराउन्डर आयन अफजल सिरिजकै प्लेयर अफ दी सिरिज चुनिएका छन् । उनले ५० हजार रुपैयाँ प्राप्त गरे । आयनले तीन खेलमा ८४ रन बनाउँदा पाँच विकेट लिएका थिए । उनले पहिलो खेलमा नेपालविरुद्ध डेब्यु गर्दै चार विकेट लिँदा २६ रन बनाएका थिए । दोस्रो खेलमा विकेटविहीन रहँदा अन्तिम खेलमा एक विकेट लिएका थिए । अन्तिम खेलमा उनले ५४ रनको अविजित इनिङ्स खेलेका थिए ।