युएईविरुद्ध नेपाललाई एकदिवसीय सिरिज

शनिबार, ३ मंसिर, २०७९
डिजिटल संस्करण

लगातार दुई खेलमा उत्कृष्ट पुनरागमन गर्दै नेपालले युएईलाई २–१ ले हराउँदै एकदिवसीय सिरिज हात पार्यो 

नेपाली राष्ट्रिय क्रिकेट टोलीले संयुक्त अरब इमिरेट्स (युएई)विरुद्धको तीन एकदिवसीय क्रिकेट सिरिज २–१ ले जितेको छ । शुक्रबार त्रिवि क्रिकेट मैदानमा तेस्रो तथा अन्तिम खेलमा नेपालले युएईमाथि ६ विकेटको जित निकाल्दै सिरिज हात पारेको हो । युवा कप्तान रोहितकुमार पौडेलले आफ्नो पहिलो कप्तानीमै नेपाललाई एकदिवसीय सिरिज दिलाउन सफल भए । नेपाली टोलीले अब डिसेम्बरमा स्कटल्यान्ड, नामिबिया सम्मिलित आइसिसी विश्वकप लिग २ खेल्नेछ । यसका लागि नेपाली टोली नामिबिया जानेछ । 

युएईविरुद्धको अन्तिम खेलमा पूर्वकप्तान ज्ञानेन्द्र मल्ल र आसिफ सेख नायक रहे । मल्ल र सेखले अर्धशतकीय इनिङ्स खेल्दा नेपालको जित पक्का भयो । पहिलो खेलमा युएईले ८४ रनले नेपाललाई पराजित गरेको थियो । दोस्रो खेलमा तीन विकेटको जित निकाल्दै नेपालले बराबरी गर्न सफल भएको थियो । 

आसिफ र ज्ञानेन्द्रको उत्कृष्ट साझेदारी 
टियू मैदानमा पहिलो ब्याटिङ गरेको युएईले ५० ओभरमा नौ विकेट गुमाएर एक सय ६७ रनको मध्य योगफल खडा गर्यो । प्रत्युत्तरमा नेपालले ४०.१ ओभरमा चार विकेट गुमाउँदै एक सय ८० रन जोड््यो । नेपालले ५९ बलअघि नै सफलता प्राप्त गर्न सफल भयो । बलर रोहन मुस्तफाको ओभरमा आसिफले विजयी चौका प्रहार गरेका थिए । आसिफले सर्वाधिक ८८ रनको योगदान दिए । प्लेयर अफ दी म्याच आसिफले एक १९ बलमा १२ चौका प्रहार गरे । आसिफको यो पाँचौँ एकदिवसीय अर्धशतक हो । क्रिजमा आसिफलाई गतिलो साथ दिएका पूर्वकप्तान ज्ञानेन्द्रले ६४ रनको महत्वपूर्ण इनिङ्स खेले । 

उनले ७३ बलमा सात चौका र तीन छक्का ठोके । ज्ञानेन्द्रको पनि यो पाँचौँ एकदिवसीय अर्धशतक हो । ज्ञानेन्द्र आयन अफजल खानबाट एलबिडब्लू धरापमा परे । नेपालले २४ रनमा ओपनर अर्जुन साउद (९) लाई गुमाएको थियो । आसिफ र ज्ञानेन्द्रले दोस्रो विकेटका लागि एक सय २२ रनको बलियो साझेदारी गर्दै नेपाललाई १४६–२ को बलियो स्थितिमा राखे । दुवै ब्याट्सम्यानले नेपालका लागि दोस्रो विकेटका लागि सर्वाधिक साझेदारी गरे । नेपालको क्रिकेट इतिहासमा देव खनाल र दीपेन्द्रसिंह ऐरीले तेस्रो विकेटका लागि कीर्तिमानी रूपमा पपुवा न्युगिनीविरुद्ध एक सय २९ रनको साझेदारी गरेका थिए । 

नेपालको ब्याटिङ इनिङमा कप्तान रोहितकुमार पौडेलले १० रन बनाए । दीपेन्द्रसिंह ‘डाइमन्ड डग’ आउट भए । दीपेन्द्र एक बल पनि सामना नगरी रन आउट भएका हुन् । दीपेन्द्रसिंहपछि क्रिजमा आएका हरिशंकर शाहले बलको सामना नै गर्नुपरेन । युएईका बलर आयन र हाज्रात बिलालले समान एक विकेट हात पारे । 

आयनको प्रभावशाली ब्याटिङ
टस हारेर ब्याटिङ गरेको युएई एक समय ९३–९ को नाजुक अवस्थामा थियो । नेपाली बलरले पूर्ण रूपमा खेल नियन्त्रणमा लिएका थिए । यसै महिना अस्ट्रेलियामा भएको आइसिसी टी–२० विश्वकपमा सहभागी भएको युएई सय रनमुनि नै अलआउट हुने छाँटकाँट देखिसकेको थियो । तर, युएईलाई आयान अफजल खान र हर्जत बिलालले अन्तिम विकेटका लागि उकासेका थिए । 

दुवैले अन्तिम विकेटका लागि अविजित ८३ रनको साझेदारी गरेपछि युएई सम्मानजनक योगफलसम्म पुग्यो । आयन खानले ६३ बलमा सात चौका र एक छक्का मद्दतमा अविजित ५४ रन जोडेका थिए । बिलालले ५४ बलमा एक छक्का मद्दतमा अविजित २० रन बनाए । यसैगरी, अलिसान सराफुले ६९ बलमा चार चौका मद्दतमा ३३ रन जोडे ।  

नेपालको कसिलो बलिङ
नेपाली बलरले निर्णायक खेलमा उत्कृष्ट बलिङ गरेका थिए । नेपालका कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी र गुलसन झाले समान दुई विकेट लिएपछि युएईको बलिङ ब्याटिङ धराशायी बन्यो । सात ओभर बलिङ गरेका गुलसनले ४२ रन खर्चिएका थिए । दीपेन्द्रले १० ओभरमा तीन मेडल राखेर २२ रन खर्चिए । कुशलले सात ओभरमा ३२ रन मात्रै दिए । सोमपाल कामी र ललित राजवंशीले समान एक विकेट लिए । युएईका तीन खेलाडी शून्यमा पेभिलियन फर्किए । पाँच बल खेलेका ओपनर अरबिन्दलाई सोमपालले बोल्ड गरे ।  

युएईका आयन सर्वाेत्कृष्ट
१७ वर्षीय युएईका अलराउन्डर आयन अफजल सिरिजकै प्लेयर अफ दी सिरिज चुनिएका छन् । उनले ५० हजार रुपैयाँ प्राप्त गरे । आयनले तीन खेलमा ८४ रन बनाउँदा पाँच विकेट लिएका थिए । उनले पहिलो खेलमा नेपालविरुद्ध डेब्यु गर्दै चार विकेट लिँदा २६ रन बनाएका थिए । दोस्रो खेलमा विकेटविहीन रहँदा अन्तिम खेलमा एक विकेट लिएका थिए । अन्तिम खेलमा उनले ५४ रनको अविजित इनिङ्स खेलेका थिए । 

See More On

सुझावित समाचार