मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ कार्तिक ३० बुधबार ०८:०३:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

विकास बैंक र फाइनान्सहरूले निक्षेपको ब्याजदर घटाउने

मंसिरमा विकास बैंकको निक्षेपमा ब्याजदर १२.८५ प्रतिशत, फाइनान्समा १३.३० प्रतिशत पाइने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ कार्तिक ३० बुधबार ०८:०३:००

निजी क्षेत्रबाट ब्याजदर वृद्धिको विरोध भइरहँदा विकास बैंकहरूले भने निक्षेपमा दिने ब्याजदर घटाउने भएका छन् । लगानीयोग्य तरलता सहज भएको भन्दै उनीहरूले ब्याजदर घटाउने निर्णय गरेका हुन् । ‘ख’ वर्गका वित्तीय संस्थाहरूको छाता संगठन डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालको मंगलबारको बैठकले ब्याजदर घटाउने निर्णय गरेको एसोसिएसनका अध्यक्ष प्रद्युमन पोखरेलले जानकारी दिए । 

पछिल्लो समय विकास बैंकहरूमा निक्षेप बढ्दै गएको र कर्जा प्रवाह घट्ने अवस्था रहेकाले कर्जा निक्षेपको अनुपात (सिडी रेसियो) सहज भएको उनले बताए । उनका अनुसार हाल विकास बैंकहरूको औसत सिडी रेसियो ८६ प्रतिशत छ । अहिले सबै विकास बैंकहरूको अधिकतम ब्याजदर १३ प्रतिशत छ । यसमा विकास बैंकहरूले ०.१५ प्रतिशत बिन्दुका दरले घटाउन लागेका हुन् । एसोसिएसनको निर्णयसँगै अब विकास बैंकहरूले निक्षेपमा १२.८५ प्रतिशत मात्रै ब्याजदर रहने भएको छ । विकास बैंकहरूले मंसिरमा एकवर्षे संस्थागत मुद्दती निक्षेपमा १०.८५ र साधारण बचतमा न्यूनतम ७.८५ प्रतिशत ब्याजदर प्रदान गर्नेछन् । 

वित्त कम्पनीहरूले पनि ब्याजदर घटाउने
वित्त कम्पनीहरूले पनि मंसिरबाट निक्षेपको ब्याजदर घटाउने निर्णय गरेका छन् । वित्त कम्पनी बैंकर्स संघका अध्यक्ष सरोजकाजी तुलाधरको अध्यक्षतामा मंगलबार नै बसेको संघको बैठकले यस्तो निर्णय गरेको हो । उनले भने, ‘सिडी अनुपात सहज बन्दै गएपछि हामीले ब्याजदर घटाउने निर्णय गरेका हौँ ।’ उनका अनुसार अहिले वित्त कम्पनीहरूको कर्जा निक्षेप अनुपात औसतमा ८४ प्रतिशत मात्रै छ । विगतमा अधिकतम ८८ प्रतिशतसम्म पुगेर असहज परिस्थिति बन्दै गएको र अहिले सहज बन्दा निक्षेपमा ब्याजदर घटाउनुपरेको बताए । 

वित्त कम्पनीहरूले तीन महिनाको मुद्दती निक्षेपको हकमा ०.२० प्रतिशत बिन्दुका दरले घटाउने र एकवर्षे निक्षेपमा ०.१५ प्रतिशतको दरले घटाउने निर्णय गरेका हुन् । जसअनुसार मंसिरमा तीनमहिने मुद्दतीको ब्याजदर १३ प्रतिशत र एकवर्षे मुद्दतीको ब्याजदर १३.३० प्रतिशतसम्म पुग्ने भएको छ । 

वाणिज्य बैंकको ब्याजदर यथावत्
यसअघि बसेको वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स एसोसिएसनले भने मंसिरका लागि हालकै ब्याजदरलाई यथावत् राख्ने निर्णय गरेको छ । हाल वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपमा १२.१३३ प्रतिशत ब्याज प्रदान गर्दै आएका छन् ।गत असोजमा मात्रै वाणिज्य बैंकहरूले निक्षेपमा ब्याजदर बढाएका थिए । अहिले निक्षेपमा ब्याजदर परिवर्तन गरे पनि पुससम्म कर्जाको ब्याजदर परिवर्तन गर्न नपाउने भएपछि उनीहरूले निक्षेपको ब्याजदर स्थिर राख्दै आएका छन् । 
राष्ट्र बैंकको निर्देशनअनुसार आउने महिनाका लागि बैंक तथा वित्तीय संस्थाले अघिल्लो महिनाको मसान्तअघि नै ब्याजदर प्रकाशित गर्नुपर्छ । प्रकाशित ब्याजदर एक महिनासम्म परिमार्जन गर्न पाइँदैन ।