ज्योति लाइफको साधारणसभामा मर्जरको प्रस्ताव पारित

मंगलबार, २९ कार्तिक, २०७९
डिजिटल संस्करण

ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको पाँचौँ वार्षिक साधारणसभाले सूर्या लाइफ इन्स्योरेन्स कम्पनीसँग मर्जरका लागि तय भएको स्वाप रेसियोलाई स्वीकृति प्रदान गरेको छ । पोखरामा भएको साधारणसभाले यी दुई कम्पनीबीच एकबराबर ०.८२४५ कित्ता सेयर आदान–प्रदान गर्ने प्रस्ताव पारित गरेको हो । 

यसका साथै साधारणसभाले मर्जर कार्यका लागि आवश्यक सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि पारित गरेको जनाइएको छ । सभाले सञ्चालक समितिले प्रस्तुत गरेको आव ०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको कम्पनीले जनाएको छ । आव ०७७÷७८ को नाफा, नोक्सान, हिसाब, नगद प्रवाहलगायतका प्रस्ताव पनि पारित भएको जनाइएको छ ।

सभाले मर्जरपश्चात् सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको नामकरण गर्ने प्रस्ताव पारित गरेको छ । त्यस्तै, मर्जर कार्यसँग सम्बन्धित प्रचलित कानुन, नियम, निर्देशिकाबमोजिम अपनाउनुपर्ने तथा गर्नुपर्ने सम्पूर्ण कार्य वा प्रक्रियामा पूरा गरी अन्तिम स्वीकृति लिने सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पारित गरेको जनाइएको छ ।

मर्जरपछि बन्ने कम्पनीको सञ्चालक समितिका अध्यक्ष केशवप्रसाद भट्टराई हुने तय भएको छ । प्रमुख कार्यकारी अधिकृत भने ज्योति लाइफका प्रकाशविक्रम खत्री हुने सहमति भइसकेको तथा सूर्याका सिइओ पवनकुमार खड्का वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत हुने कम्पनीले जनाएको छ ।
 

सुझावित समाचार