काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने तराईका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहेको छ।
महाशाखाका अनुसार आज बुधबार दिउँसो देशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने तराईका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहनेछ। देशका हिमाली भू–भागका साथै कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
त्यसैगरी, आज राति कोशी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहनेछ। देशका बाँकी हिमाली तथा पहाडी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
रातिको समयमा तराईका केही स्थानमा बिहानपख हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सुझाव दिएको छ।