काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले दसैँजस्ता चाडपर्वले नेपाली समाजमा आपसी सदभाव, भ्रातृत्व र सामाजिक एकतालाई सुदृढ बनाउने बताएका छन्।
बडादसैँको अवसरमा शुभकामना सन्देश जारी गर्दै सभामुख अर्यालले विविधतायुक्त नेपाली समाजमा आपसी मेलमिलाप र सौहार्द कायम गर्न चाडपर्वको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गरेका छन्। उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुको कामना गरेका छन्।
दसैँले नेपालीहरूमा नयाँ ऊर्जा, नवप्रवर्तन र राष्ट्र निर्माणप्रतिको संकल्प जागृत गराउने विश्वास व्यक्त गर्दै उनले राष्ट्रिय एकतालाई थप मजबुत बनाउन माता दुर्गा भवानीले सबैलाई आशीर्वाद प्रदान गरून् भन्ने कामना गरेका छन्।
नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषतायुक्त मुलुक भएको स्मरण गराउँदै सभामुख अर्यालले दसैँलाई असत्यमाथि सत्य र दुराचारमाथि सदाचारको विजयका रूपमा लिइने बताए।
उनले जनताको सार्वभौमसत्ता र राजकीय सत्ताको संरक्षण गर्दै जनभावनाअनुरूप समयसापेक्ष तथा जनमैत्री कानुन निर्माण र परिमार्जन गर्न संघीय संसद् प्रतिबद्ध रहेको उल्लेख गरे। मुलुकमा सुशासन, सामाजिक न्याय र समृद्धि हासिल गर्ने दिशामा संसद् निरन्तर क्रियाशील रहेको उनको भनाइ छ।
दसैँले सबैलाई समन्याय, सदाचार र लोकतान्त्रिक मूल्य–मान्यताअनुरूप अघि बढ्न प्रेरणा दिने विश्वास पनि सभामुख अर्यालले व्यक्त गरेका छन्।
बडादसैँ आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापनासँगै सुरु हुन्छ। यस अवसरमा विभिन्न धार्मिक विधिअनुसार पूजा–आराधना गरी मान्यजनबाट टीका र जमरा ग्रहण गरेर दसैँ मनाउने परम्परा छ।