विपत् प्रभावितको पुनर्स्थापना र पुनर्निर्माणलाई प्राथमिकता दिन्छौँ : मुख्यमन्त्री थापा

बुधबार, ५ कार्तिक, २०८३
डिजिटल संस्करण

मकवानपुर। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत, पुनर्स्थापना तथा पुनर्निर्माणलाई प्राथमिकताका साथ अघि बढाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

बडादसैँ, तिहार, नेपाल संवत् तथा छठका अवसरमा बुधबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री थापाले भोटेकोशी तथा बुढीगण्डकीमा आएको बाढीबाट नागरिकले भोग्नुपरेको पीडाप्रति ऐक्यबद्धता व्यक्त गरेका हुन् ।

प्रभावित नागरिकको जीवन सामान्य अवस्थामा फर्काउन प्रदेश सरकारले काम गरिरहेको उनले उल्लेख गरेका छन् ।
‘यस वर्षका चाडपर्वहरू मनाइरहँदा प्राकृतिक विपतका कारण उत्पन्न पीडा र कठिनाइलाई पनि हामीले गम्भीरतापूर्वक स्मरण गर्नुपरेको छ,’ सन्देशमा भनिएको छ, ‘विशेषगरी भोटेकोशी तथा बुढीगण्डकीमा आएको बाढीका कारण नागरिकहरूको पीडाले हामी सबैलाई मर्माहत बनाएको छ ।’

मुख्यमन्त्री थापाले चाडपर्व धार्मिक तथा सांस्कृतिक आस्थासँगै सामाजिक सदभाव, आपसी एकता, पारिवारिक सामीप्य र राष्ट्रिय पहिचानका धरोहर भएको बताएका छन्। विविध जातजाति, भाषा, धर्म, संस्कृति र परम्परागत पर्वले आपसी भाइचारा, सहिष्णुता तथा एकताको भावना सुदृढ बनाउँदै आएको उनको भनाइ छ ।

पर्वहरूले समाजमा प्रेम, सहयोग, सदभाव र सहअस्तित्वको भावना बढाउँदै समुन्नत तथा समावेशी समाज निर्माणका लागि प्रेरणा प्रदान गरून् भन्ने कामना पनि उनले गरेका छन्।

मुख्यमन्त्री थापाले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको शुभकामना दिएका छन् ।
 

सुझावित समाचार