काठमाडौं। नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकले नेपाली संस्कृति र परम्पराप्रति उत्साह देखाउँदै बडादसैँको टीका र जमरा ग्रहण गरेका छन्। ठमेलस्थित काठमाडौं इको होटेलमा आयोजित कार्यक्रममा विदेशी पर्यटकले नेपाली परम्पराअनुसार निधारमा रातो टीका र शिरमा जमरा लगाएर बडादसैँ मनाएका हुन्।
नेपालीहरूको प्रमुख चाड बडादसैँमा विदेशी पर्यटकको सहभागिताले नेपालको सांस्कृतिक परम्परा र अतिथि सत्कारको विशिष्टता झल्काएको छ। नेपाल भ्रमणमा आएका पर्यटकका लागि दसैँको टीका र जमरा ग्रहण गर्नु नेपाली संस्कृति, धार्मिक आस्था र पारिवारिक सदभावलाई नजिकबाट बुझ्ने अवसरसमेत बनेको छ।
पछिल्लो समय विदेशी पर्यटकले नेपालको प्राकृतिक सौन्दर्यसँगै धार्मिक, सांस्कृतिक तथा परम्परागत जीवनशैलीमा पनि रुचि देखाउँदै आएका छन्। स्थानीय चाडपर्व र सांस्कृतिक गतिविधिमा सहभागी हुँदा उनीहरूले नेपाली समाजका मौलिक परम्परा अनुभव गर्ने अवसर पाउने गरेका छन्।
नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य एवं काठमाडौं इको होटेलका सञ्चालक सहदेव धमलाले यस्ता गतिविधिले नेपालको सांस्कृतिक विविधता, मौलिक परम्परा र अतिथि सत्कारको पहिचानलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्न सहयोग पुग्ने बताए।
त्यस्तै, ठमेल पर्यटन विकास परिषद्का महासचिव पशुपति कँडेलले बडादसैँजस्ता चाडपर्वमा विदेशी पर्यटकको सहभागिताले नेपाली र विदेशीबिच आपसी सदभाव, मित्रता र सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउन मद्दत पुग्ने बताए।
नेपाली चाडपर्वलाई पर्यटनसँग जोडेर विदेशी पर्यटकलाई स्थानीय संस्कृति र परम्पराको प्रत्यक्ष अनुभव गराउन सके नेपालको सांस्कृतिक पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ।