सशस्त्रद्वारा मोटरसाइकलबाट लागुऔषध बरामद, स्थानीयद्वारा लुटपाटको प्रयास

बिहिबार, ६ कार्तिक, २०८३
डिजिटल संस्करण

काठमाडौं। सशस्त्र प्रहरी बलले सुनसरीबाट विभिन्न प्रकारका लागुऔषधसहित मोटरसाइकल बरामद गरेको छ ।

विशेष सूचनाको आधारमा बुधबार सुनसरीको भोक्राह नरसिंह गाउँपालिका– ४ स्थित नहरचोकबाट लागुऔषध बरामद भएको हो । प्र.१ ०२–०४७ प १४७२ नम्बरको मोटरसाइकल पार्किङ गरी राखिएको अवस्थामा लागुऔषध भेटिएको हो ।

नेपाल प्रहरीसहित संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा स्थानीय व्यक्तिहरूले फेला परेको लागुऔषध लुटपाटको प्रयास गरेका थिए । उनीहरूले लागुपदार्थ लुटपाट गरी प्रमाण नष्टको प्रयास गर्दै हुलहुज्जतसमेत गरेका थिए ।

चेकजाँचका क्रममा प्रतिबन्धित लागुऔषध नाइट्रोजन ट्याब्लेट १० पत्ता, ट्रमाडोल १६ पत्ता र अर्को एक लागुपदार्थ चार पत्ता फेला परेको थियो । सो मोटरसाइकल र लागुऔषध नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरी लगिएको सशस्त्रका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताए ।

सुझावित समाचार