नवलपुर । नवलपुरका दुई स्थानमा भएका कुटपिट तथा झैझगडाका घटनामा परी तीन जना घाइते भएका छन्। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले छ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार बुलिङटार गाउँपालिका–१, ढाडबेसीमा आयोजित भलिबल प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रममा भएको कुटपिटमा एक जना घाइते भएका छन्।
प्रहरीका अनुसार बुलिङटार–१, ढाडबेसी निवासी २५ वर्षीय छविराज खण्डलुक घाइते भएका हुन्। उनको टाउकोमा चोट लागेको छ। उनलाई उपचारका लागि चितवनस्थित नयाँ मेडिकल कलेज पठाइएको प्रहरीले जनाएको छ।
उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तनहुँको देवघाट गाउँपालिका–१ निवासी १९ वर्षीय सन्तोष थापा र २१ वर्षीय मुनाल मगरलाई पक्राउ गरेको छ। त्यसैगरी, नवलपुरको गैँडाकोट नगरपालिका–४ निवासी २१ वर्षीय नवीन ठाडा मगर र २४ वर्षीय आवाज गुरुङ, गैँडाकोट–१ निवासी २३ वर्षीय रोशन आले मगर तथा चितवनको कालिका नगरपालिका–७ निवासी २० वर्षीय भुपिन थापा मगरलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले उनीहरूको साथबाट एक थान खुकुरी तथा घटनामा प्रयोग भएका लु.प्र.०१–००९ प ९४६८ र बा.प्र.०६–००८ प ४६८३ नम्बरका दुईवटा मोटरसाइकल नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार सांस्कृतिक कार्यक्रममा होहल्ला नगर्न सम्झाउने क्रममा विवाद उत्पन्न भएपछि कुटपिट भएको थियो।
यसैगरी, नवलपुरको मध्यविन्दु नगरपालिका–३, इटौरामा मादक पदार्थ सेवनपछि भएको झैझगडामा दुई जना घाइते भएका छन्।
प्रहरीका अनुसार मध्यविन्दु–३, लेडा निवासी ३१ वर्षीय अजय चौधरी र सोही स्थानका ४९ वर्षीय खड्कनारायण महतो घाइते भएका हुन्। दुवै जनाको टाउकोमा चोट लागेको र मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डामा उपचार भइरहेको प्रहरीले जनाएको छ।
उक्त घटनामा संलग्न रहेको आरोप लागेका मध्यविन्दु नगरपालिका–१, पतवारी निवासी राजु भनिने व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।
दुवै घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।