झापा। झापाको मेचीनगर नगरपालिका– १०, ताराबारीका पदमबहादुर घतानीको आर्थिक अवस्था कुनै समय निकै कमजोर थियो। सामान्य ज्याला मजदुरी र परम्परागत पेसाबाट परिवारको खर्च धान्नसमेत उनलाई कठिन हुन्थ्यो। तर, उनका दुई छोरा अर्जुन र अरुण केही वर्षअघि रोजगारीका लागि भारतको बेंगलुरु पुगेपछि परिवारको आर्थिक अवस्थामा परिवर्तन आउन थाल्यो।
छोराहरूले बेंगलुरुमा काम गरेर पैसा पठाउन थालेपछि पदमबहादुरको परिवारको आर्थिक अवस्था मात्र सुध्रिएन, बस्दै आएको सानो माटो र फुसको घरसमेत फेरियो। अहिले घरमा पक्की गाह्रो लगाइएको छ, टिनको छानो छ र परिवारको दैनिक जीवन पहिलेभन्दा सहज बनेको छ।
कुनै वेला अरूसँग सरसापट माग्दै हिँड्नुपर्ने पदमबहादुरको घरमा अहिले उल्टै अरू मानिस सरसापट माग्न आउन थालेका छन्।
पदमबहादुरको परिवारमा आएको यो परिवर्तन ताराबारीको एउटा उदाहरण मात्र हो। झापाको मेचीनगर र बाहुनडाँगी क्षेत्रका धेरै दलित परिवारको आर्थिक अवस्थामा भारतको बेंगलुरुमा गरिएको रोजगारीले सुधार ल्याएको छ। मोरङको इटहरा र आसपासका गाउँका दलित युवाको जीवनमा पनि वैदेशिक रोजगारीको यो विकल्पले परिवर्तन ल्याउन थालेको छ।
होटेल र ब्युटिपार्लरमा रोजगारी
झापाको बाहुनडाँगीस्थित आमडाँगी गाउँका सनमान शंकर (विश्वकर्मा)को परिवारको आर्थिक अवस्था पनि बेंगलुरुको कमाइले सुध्रिएको छ। उनका दुई छोराछोरी र बुहारी मात्र होइन, गाउँका नातागोतासमेत रोजगारीका लागि बेंगलुरु पुगेका छन्। छोराहरू होटेलमा कुकको काम गर्छन् भने बुहारीहरू ब्युटिपार्लरमा काम गर्छन्। मेचीनगरको सतीघट्टाका गोपाल बराइलीको परिवारको आर्थिक अवस्थामा पनि बेंगलुरुको रोजगारीले सुधार ल्याएको छ।
मेचीनगरको आमडाँगी, धुलाबारी, ताराबारी, सतीघट्टा र दमकको ढुकुरपानी तथा मोरङको इटहरालगायत क्षेत्रका दलित युवा रोजगारीका लागि बेंगलुरु पुग्ने गरेका छन्। उनीहरू त्यहाँका होटेल, रेस्टुरेन्ट र ब्युटिपार्लरमा काम गरेर आम्दानी गरिरहेका छन्। केहीले अनुभव र सिप हासिल गरेपछि आफ्नै व्यवसायसमेत सुरु गरेका छन्।
बेंगलुरुको पञ्चतारे ताज होटेलमा सेफका रूपमा कार्यरत मेचीनगर– २ का सन्तोष घतानीका अनुसार त्यहाँ काम गर्ने नेपालीले मासिक २० हजारदेखि ५० हजार रुपैयाँसम्म कमाउने गरेका छन्। सिप र अनुभव भएका केहीले अझ बढी आम्दानी गर्छन्।
‘कोहीकोही पाँचतारे होटेलमा सेफ बनेर मासिक एक लाख रुपैयाँसम्म तलब खाने पनि छन्,’ सन्तोषले भने, ‘कसैले बेंगलुरुमै युनिसेक्स पार्लर र ब्युटिपार्लर खोलेर मासिक एक लाख रुपैयाँभन्दा बढी खुद आम्दानी गरिरहेका छन्।’
होटेल र ब्युटिपार्लरमा तुलनात्मक रूपमा सहजै काम पाइनु, काम गर्दै सिप सिकेर आम्दानी बढाउन सक्नु र चाडपर्वमा घर आउन सकिने सुविधाले पनि न्यून आय भएका दलित युवालाई भारतको कर्नाटक राज्यको बेंगलुरुले आकर्षित गरेको छ।
चाडपर्वका वेला घर फर्किन सहज हुनु र नेपालमा जस्तै काम तथा ज्याला पाउन कठिन नहुनुले पनि युवालाई त्यहाँको रोजगारीप्रति आकर्षित गरेको छ। यस वर्षको चाडपर्व मनाउन बेंगलुरुबाट घर आएका मेचीनगर– ३ का युवा कुमार घतानीका अनुसार त्यहाँको रोजगारीले गाउँका युवाको जीवनमा उल्लेख्य परिवर्तन ल्याएको छ। चाड मनाएर उनी फेरि रोजगारीका लागि बेंगलुरु फर्कने तयारीमा छन्।
उनका अनुसार काँकडभिट्टा, सतीघट्टा, धुलाबारी र आसपासका क्षेत्रका आफन्तसमेत बेंगलुरु तथा मद्रासमा रोजगारीका लागि जाने गरेका छन्। भारतका यी सहरमा तुलनात्मक रूपमा सहजै काम पाउनु, कमाइबाट परिवार चलाउन सक्नु र आवश्यक पर्दा घर फर्किन सक्नु उनीहरूका लागि महत्त्वपूर्ण पक्ष बनेको छ।
बेरोजगारीले बेंगलुरुको रोजगारीसम्म
करिब दुई दशकअघि आमडाँगीका केही युवा बेंगलुरु पुगेर राम्रो आम्दानी गर्न थालेपछि उनीहरूकै सिको गर्दै आफन्त र गाउँका अन्य युवा पनि रोजगारी खोज्दै त्यहाँ जान थालेका हुन्।
अहिले मेचीनगरको आमडाँगी, ताराबारी, सतीघट्टा र दमकको ढुकुरपानी क्षेत्रका दर्जनौँ परिवारका सदस्य बेंगलुरु पुगेका छन्। उनीहरूमध्ये कतिपय वर्षौंदेखि त्यहाँ काम गर्दै उतै घरजम गरेर बसेका छन्। कतिपयले होटेल तथा ब्युटिपार्लरमा काम सिकेर आफ्नै व्यवसायसमेत सञ्चालन गरिरहेका छन्।
पहिले गाउँका धेरै दलित परिवारको अवस्था निकै कठिन थियो। कसैले अरूको जमिन अधियाँमा खेती गर्थे, कसैले परम्परागत पेसाबाट गुजारा चलाउँथे त कसैले दिनभरि मजदुरी गरेर पनि पर्याप्त ज्याला पाउँदैनथे। वर्षभरि काम गर्दा पनि परिवारको खर्च धान्न कठिन हुने अवस्था थियो।
नेपालमै राम्रो रोजगारी नपाउनु, विदेश जान आवश्यक पुँजी नहुनु र आर्थिक अभावका कारण पढाइ बिचमै छाड्नुपर्ने अवस्थाले धेरै युवालाई सीमित अवसरमा निर्भर बनाएको थियो। यस्तो परिस्थितिमा बेंगलुरुको रोजगारी उनीहरूका लागि आम्दानीको नयाँ बाटो बनेको छ।
बेंगलुरु जान ठुलो पुँजी आवश्यक नपर्ने, होटेल तथा ब्युटिपार्लरमा काम सिक्दै रोजगारी पाउन सकिने र कमाइबाट परिवारलाई सहयोग गर्न सकिने भएकाले पनि उनीहरू त्यहाँ आकर्षित भएका हुन्।
कमाइले घर मात्र होइन, जीवनशैली पनि फेरियो
बेंगलुरुमा रोजगारी गरेर फर्किएका युवाको जीवनशैलीमा समेत परिवर्तन देखिन थालेको छ। पहिले सामान्य र मैला लुगा लगाएर हिँड्ने गाउँका युवायुवती अहिले चिटिक्क परेर हिँड्न थालेका छन्। उनीहरूको रहनसहन र सोच्ने शैलीमा पनि परिवर्तन आएको छ।
बेंगलुरुमा कमाएको पैसाले कसैले घर बनाएका छन्, कसैले घडेरी जोडेका छन् त कसैले विवाह गरेर घरजम गरेका छन्। धेरैले परिवारको खर्च धान्न र ऋणको बोझ घटाउन सहयोग गरेका छन्। कतिपय नेपाल फर्किएर आफूले सिकेको सिप प्रयोग गर्दै उद्यमसमेत सुरु गरेका छन्। यसले उनीहरूको तत्कालीन आर्थिक समस्या समाधान गर्न मात्र सहयोग गरेको छैन, शिक्षा, आवास र भविष्यको योजनामा समेत योगदान पुर्याएको छ।
तेस्रो मुलुक जान नसक्नेका लागि विकल्प
वैदेशिक रोजगारीका लागि तेस्रो मुलुक जान भूमिहीन तथा न्यून आय भएका दलित युवासँग पर्याप्त पुँजी र आवश्यक प्रक्रिया पूरा गर्ने क्षमता हुँदैन। कम शैक्षिक योग्यता भएका कारण नेपालमै भरपर्दो रोजगारी नपाउने र तेस्रो मुलुक जान आर्थिक रूपमा सक्षम नहुने युवाका लागि बेंगलुरुको रोजगारी आम्दानीको विकल्प बनेको छ।
नेपालमा ज्याला मजदुरी गरेर परिवार पाल्न कठिन हुने युवाले भारतमा होटेल, रेस्टुरेन्ट र ब्युटिपार्लरमा काम गरेर तुलनात्मक रूपमा राम्रो आम्दानी गर्न सकेका छन्। आफ्नै गाउँका साथीभाइ र आफन्तसँगै काम गर्न पाउँदा उनीहरूलाई नयाँ ठाउँमा घुलमिल हुन पनि सहज भएको छ।
मोरङको इटहराका रामकुमार विश्वकर्मा बेंगलुरुमा होटेलमा कुकको काम गर्छन्। उनकी पत्नी ब्युटिपार्लरमा काम गर्छिन्। तेस्रो मुलुकमा वैदेशिक रोजगारीका लागि जाँदा ऋण लिनुपर्ने अवस्था देखेपछि उनी बेंगलुरु जाने निर्णयमा पुगेका थिए।
रामकुमारका अनुसार बेंगलुरुमा काम गर्दै सिप सिक्न र आम्दानी गर्न सकिन्छ। त्यहाँ हासिल गरेको अनुभव र सिप नेपाल फर्किएपछि पनि उपयोग गर्न सकिने भएकाले रोजगारीको यो बाटोले भविष्यमा आफ्नै व्यवसाय सुरु गर्ने सम्भावनासमेत खोलिदिएको छ।
गाउँका धेरै दलित युवा अहिले बेंगलुरु पुगेर पैसा मात्र कमाइरहेका छैनन्, आफ्नो जीवनशैली परिवर्तन गर्ने र परिवारलाई आर्थिक रूपमा सक्षम बनाउने प्रयासमा पनि छन्। उनीहरूको कमाइले घरपरिवारको दैनिक जीवन सहज बनाउनुका साथै शिक्षा, आवास र भविष्यको योजनामा समेत सहयोग पुर्याएको छ।
पर्याप्त रोजगारीका अवसर नपाएका र ठुलो लगानी गरेर तेस्रो मुलुक जान नसक्ने युवाका लागि बेंगलुरुको रोजगारीले तत्कालीन आर्थिक संकटबाट राहत दिनुका साथै ऋण नलिई वैदेशिक रोजगारीमा जाने एउटा विकल्पसमेत उपलब्ध गराएको छ।