बर्दिया । साँझ परेपछि बालापुर गाउँ संगीतमय बन्छ। दिनभरको काम सकेर स्थानीय एकै ठाउँमा भेला हुन्छन्। कोही मादल बोकेर आउँछन्, कोही मुजुरा लिएर। परम्परागत पोसाकमा सजिएका थारू समुदायका महिला तथा पुरुष गोलाकार भएर उभिन्छन्। मादलको तालसँगै मुजुरा झन्किन थाल्छ। अनि सुरु हुन्छ- सखिया नाच।
गुलरिया नगरपालिका– ५ स्थित बालापुर गाउँमा अहिले हरेक साँझ साढे सात बजेपछि यस्तै दृश्य देखिन्छ। दसैँ नजिकिएसँगै यहाँ सखिया नाचको अभ्यास सुरु भएको छ। थारू समुदायको मौलिक संस्कृति र पहिचानसँग जोडिएको यो नाचमा भगवान् श्रीकृष्णको जीवन र चरित्रलाई प्रस्तुत गरिन्छ। प्रत्येक वर्ष दसैँको आसपास सुरु हुने सखिया नाच करिब एक महिनासम्म चल्ने परम्परा छ।
पहिले चौधरी गाउँहरूमा नियमित रूपमा देखिने सखिया नाच पछिल्लो समय पातलिँदै गएको छ। आधुनिक मनोरञ्जनका माध्यम र बदलिँदो जीवनशैलीका कारण यसको अभ्यास घट्दै गए पनि बालापुर गाउँका स्थानीयले भने यो परम्परालाई निरन्तरता दिइरहेका छन्।
दशैँ नजिकिएसँगै यहाँका बालबालिका, युवायुवती र अग्रजहरू सँगसँगै नाचको अभ्यासमा जुटेका छन्। मादलको तालमा खुट्टाका चाल मिल्छन्। मुजुराको झन्कारले वातावरणलाई थप लयात्मक बनाउँछ। केहीबेर अघिसम्म सामान्य देखिने गाउँ साँझ परेपछि सखिया नाचको रौनकले भरिन्छ।
विवाह, भोज तथा विभिन्न चाडपर्वमा डिजेको प्रयोग बढ्दै जाँदा परम्परागत बाजा मादलको आवाज कम सुनिन थालेको छ। तर बालापुरमा स्थानीयले आफ्नो मौलिक संस्कृति जोगाउन हरेक साँझ सखिया नाचको अभ्यास गरिरहेका छन्।
‘सखिया नाच हाम्रो संस्कृति हो। यसलाई नयाँ पुस्ताले पनि सिक्नुपर्छ,’ स्थानीय दिनेश चौधरीले भने, ‘अहिलेका बालबालिका र युवायुवतीलाई पनि सहभागी गराएर नाच सिकाउने प्रयास भइरहेको छ।’
चौधरीका लागि सखिया नाच मनोरञ्जनको माध्यम मात्र होइन, पुर्खाले छाडेर गएको सांस्कृतिक चिनारी पनि हो। त्यसैले यो चिनारीलाई नयाँ पुस्तासम्म पुर्याउनु आवश्यक रहेको उनी बताउँछन्।

सखिया नाचको अभ्यासमा पुरानो पुस्ता मात्र होइन, बालबालिका र युवायुवतीको सहभागिता पनि बढ्दै गएको छ। अग्रजहरूले नाचेको हेर्दै नयाँ पुस्ताले यसको चाल र ताल सिक्ने अवसर पाएको छ। मादलको तालमा खुट्टा कसरी मिलाउने, मुजुराको लयसँग शरीरको गति कसरी समायोजन गर्ने र समूहमा एकैपटक चाल कसरी मिलाउने भन्ने कुरा उनीहरूले नियमित अभ्यासबाट सिकिरहेका छन्।
कुन चाल कहाँबाट सुरु हुन्छ, कुन तालमा शरीरको गति परिवर्तन गर्नुपर्छ र समूहमा कसरी एकरूपता कायम गर्ने भन्ने सीप पुस्तक पढेरभन्दा अग्रजहरूको अभ्यास हेरेर सिक्न सकिन्छ। बालापुरमा नयाँ पुस्ताले यही अवसर पाइरहेको छ।
‘अहिलेका नयाँ पुस्ता पनि चासो दिएर आउन थालेका छन्। यसरी नै सिकाउँदै गयो भने संस्कृति हराउँदैन, जोगाउन सकिन्छ,’ चौधरीले भने।
संस्कृतिसँगै सामूहिकताको अभ्यास
साँझपख एउटै ठाउँमा भेला भएर नाच्दा मनोरञ्जन मात्र हुँदैन, गाउँलेबिच भेटघाट र संवाद पनि हुन्छ। एक–अर्कासँगको सम्बन्ध बलियो बन्छ। सामूहिक रूपमा नाच्दा सहकार्य र एकताको भावना विकास हुन्छ।
दसैँको आगमनसँगै थारू बस्तीहरूमा सखिया नाचको रौनक बढ्न थालेको छ। गाउँका चोक, चौराहा तथा सार्वजनिक स्थानमा महिला र पुरुष भेला भएर मादल र मुजुराको तालमा नाचिरहेका छन्। थारू समुदायको मौलिक जीवनशैली, कला र सांस्कृतिक पहिचान बोकेको सखिया नाचले चाडपर्वलाई थप उल्लासमय बनाउँछ।
बालापुरमा भइरहेको अभ्यास दसैँको तयारी मात्र होइन, पुस्तौँदेखि चलिआएको संस्कृति जोगाउने प्रयास पनि हो। आफ्ना पुर्खाले सिकाएको नाच, बाजा र परम्परालाई नयाँ पुस्तासम्म पुर्याउने चुनौतीबिच स्थानीयले नियमित अभ्यासलाई संस्कृतिको संरक्षणसँग जोडिरहेका छन्।
आधुनिकताको प्रभावसँगै मौलिक कला, संस्कृति र परम्परा हराउँदै जाने जोखिम बढेको छ। परम्परागत सिप र ज्ञान हस्तान्तरण गर्ने अभ्यास कमजोर भएमा पुस्तौँदेखि चलिआएका सांस्कृतिक सम्पदाबारे नयाँ पुस्ता अनभिज्ञ हुन सक्छ। त्यसैले सखिया नाचको संरक्षणका लागि समुदायको सक्रियता आवश्यक छ। नयाँ पुस्तालाई सहभागी गराउने, नियमित प्रशिक्षण सञ्चालन गर्ने तथा परम्परागत बाजा र नाचको अभ्यासलाई निरन्तरता दिने कार्यले यसलाई जीवन्त राख्न मद्दत पुर्याउँछ।

बालापुरमा हरेक साँझ भेला हुने स्थानीयका लागि सखिया नाच केही घण्टाको मनोरञ्जन मात्र होइन, आफ्नै पहिचानसँग जोडिने र पुर्खाले हस्तान्तरण गरेको संस्कृति जोगाउने माध्यम पनि हो।
साँझ पर्दै जाँदा गाउँको चहलपहल बदलिन्छ। मादल बज्न थाल्छ, मुजुरा झन्किन्छ। गोलाकार भएर उभिएका महिला तथा पुरुषका पाइला एउटै तालमा अघि बढ्छन्। बालापुर गाउँ यसरी नै सखिया नाचको लयमा रमाइरहेको छ।