काठमाडौं। शारदीय नवरात्र अर्थात् दुर्गा पक्षको अन्तिम दिन आज नौ दुर्गामध्येकी नवौँ देवी सिद्धिदात्रीको विधिपूर्वक पूजाआराधना गरिएको छ। महाअष्टमी तिथि वृद्धि भएका कारण यस वर्ष नवरात्रको पूजा तालिकामा परिवर्तन भई सिद्धिदात्री देवीको पूजा दसौँ दिनमा गरिएको हो।
वैदिक सनातन धर्मावलम्बीले दसैँघर तथा पूजाकोठामा घटस्थापना गरिएको स्थानमा सिद्धिदात्री देवीको आह्वान गरी विशेष पूजाआराधना गरेका छन्। धार्मिक मान्यताअनुसार सिद्धिदात्री देवीको आराधना गर्नाले मनोकामना पूरा हुनुका साथै सिद्धि र मोक्ष प्राप्त हुन्छ।
शास्त्रीय ग्रन्थमा सिद्धिदात्रीलाई सिद्धि प्रदान गर्ने देवीका रूपमा वर्णन गरिएको छ। सिद्ध, गन्धर्व, यक्ष, देवता तथा असुरद्वारा समेत सेवित भएकाले उनलाई सिद्धिदायिनी पनि भनिन्छ। नवदुर्गामध्ये अन्तिम देवीका रूपमा पुजिने सिद्धिदात्रीको आराधना गर्दा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ।
यस वर्ष असोज २५ गते घटस्थापनासँगै सुरु भएको नवरात्रमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघन्टा, चौथो दिन कुष्मान्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी र सातौँ दिन कालरात्रि देवीको पूजाआराधना गरिएको थियो। महाअष्टमी तिथि वृद्धि भएका कारण दुई दिन महागौरी देवीको पूजा गरिएको थियो।
वाल्मीकि विद्यापीठको धर्मशास्त्र विभागका प्रमुख प्राडा देवमणि भट्टराईका अनुसार महाअष्टमी तिथि वृद्धि हुँदा शास्त्रीय विधिअनुसार महागौरी देवीको पूजाआराधना दुई दिन गर्नुपर्ने व्यवस्था छ।
नवरात्रका नौ दिन भक्तजनले दुर्गा सप्तशती (चण्डी), श्रीमददेवीभागवतलगायत देवी स्तोत्र पाठ गर्दै देवीको आराधना गर्ने परम्परा छ। यस अवधिमा देशभरका शक्तिपीठमा बिहानैदेखि दर्शन तथा पूजाआराधना गर्ने भक्तजनको भिड लागेको छ।
वर्षमा एक दिन मात्रै खुल्ने काठमाडौंको हनुमानढोका दरबार क्षेत्रस्थित तलेजु भवानीको मन्दिर पनि आज भक्तजनका लागि खोलिएको छ। मन्दिरमा दर्शन गर्न उल्लेख्य संख्यामा भक्तजन लामबद्ध भएका छन्। महानवमीका अवसरमा शक्तिपीठ तथा घरघरमा विधिपूर्वक पूजा र बलि दिने परम्परासमेत रहेको छ।
नेपाल पञ्चांग निर्णायक विकास समितिका अध्यक्ष डा. पुरुषोत्तम भट्टराईका अनुसार कात्तिक ४ गते बुधबार बिहान ८ः४९ बजे दुर्गादेवीको विसर्जन गर्ने साइत निर्धारण गरिएको छ। त्यस्तै, देवीको प्रसादका रूपमा टीका ग्रहण गर्न चाहनेका लागि बिहान १०ः२६ बजेको साइत तोकिएको छ।
बुधबारदेखि कोजाग्रत पूर्णिमासम्म नेपालीले मान्यजनबाट दुर्गादेवीको प्रसादस्वरूप टीका र जमरा ग्रहण गरी दसैँ मनाउने परम्परा छ।