बर्दिया। बर्दियाको गुलरिया नगरपालिकाका दुईवटा टोलका ४५ घरधुरी अझै विद्युत् सेवाबाट वञ्चित छन्।
नेपाल विद्युत् प्राधिकरणको वितरण केन्द्र गुलरियाबाट करिब पाँच किलोमिटर दूरीमा रहेका यी बस्तीमा विद्युत् सेवा नपुग्दा स्थानीयवासी अन्धकारमा बस्न बाध्य छन्।
गुलरिया नगरपालिका– १० को लड्कनिया गाउँका १६ घरधुरी र वडा नम्बर ४ को कृष्णसार संरक्षण क्षेत्रमा रहेका २९ घरधुरीमा अहिलेसम्म विद्युत् सेवा पुगेको छैन। विद्युत् अभावका कारण स्थानीयको दैनिक जनजीवन प्रभावित हुनुका साथै विद्यालय जाने बालबालिकाको पठनपाठनमा समेत समस्या भइरहेको छ।
विद्युतजस्तो आधारभूत सेवा नपाउँदा दैनिक जीवनयापनमा कठिनाइ भइरहेको स्थानीयवासीको गुनासो छ।
गुलरिया नगरपालिका– १०, लड्कनिया गाउँका ५५ वर्षीय गोविन्द हरिजनले विद्युत् विस्तारका लागि पटकपटक आग्रह गरे पनि सुनुवाइ नभएको बताए। उनका अनुसार आफूहरू बसोबास गर्दै आएको जग्गा जमिनदारको भएकाले विद्युत् विस्तारको पहल सफल हुन सकेको छैन।
‘हामीहरू बसोबास गर्दै आएको जग्गा जमिनदारको हो। पहिले विद्युतकाे लाइन विस्तार गर्न पहल भएको थियो। त्यसवेला हाम्रो मागको सुनुवाइ हुन सकेन,’ उनले भने, ‘अहिले यो जग्गामा बनेका घर वैशाखसम्म खाली गर्नुपर्ने अवस्था छ। त्यही भएर चुपचाप बस्न बाध्य छौँ ।’
हरिजनले जग्गा प्राप्तिका लागि भूमिसम्बन्धी समस्या समाधान समितिमा निवेदन दिएको भए पनि कुनै सुनुवाइ नभएको बताए।
यस्तै, गुलरिया नगरपालिका– ४ स्थित कृष्णसार संरक्षण क्षेत्रमा बसोबास गर्दै आएका २४ वर्षीय अमरबहादुर चौधरीले घर र टोलमा विद्युत् नहुँदा मोबाइल चार्ज गर्नसमेत अन्यत्र जानुपर्ने बाध्यता रहेको बताए। उनका अनुसार बस्तीमा विद्युतका पोल गाडिए पनि तार तानिएको छैन।
‘गाउँमा चितुवा आइरहन्छ। साँझ परेपछि हिँडडुल गर्न कठिन हुन्छ। चितुवा देखिने भएकाले साँझ परेपछि शौचालय जानसमेत जोखिम मोल्नुपर्ने बाध्यता छ,’ चौधरीले भने।
कृष्णसार संरक्षण क्षेत्रमा बसोबास गर्ने स्थानीयवासीलाई अन्यत्र व्यवस्थापन गर्ने भनिए पनि वर्षौँदेखि समस्या समाधान हुन सकेको छैन। विद्युत् सेवाको अभाव र वन्यजन्तुको जोखिमका कारण स्थानीयवासी असुरक्षित महसुस गर्दै बस्न बाध्य छन्।
नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र गुलरियाका अनुसार ऐलानी वा अरूको जग्गामा बसोबास गर्ने नागरिकलाई सम्बन्धित वडाको सिफारिसका आधारमा विद्युत् मिटर उपलब्ध गराउने व्यवस्था छ।
स्थानीयवासीले विद्युत् सेवा विस्तार गरी सहज जीवनयापनको वातावरण बनाउन र कृष्णसार संरक्षण क्षेत्रमा रहेका बस्तीको व्यवस्थापनसम्बन्धी समस्या समाधान गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।