मकवानपुर। मकवानपुरको भीमफेदी गाउँपालिका– १, बाँदरेभिरमा यात्रुवाहक विद्युतीय सवारीसाधन (इभी) दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। घाइतेमध्ये रौतहटको दुर्गाभगवती गाउँपालिका– १, पिपराटोलका करिब ५० वर्षीय हरि साहको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बा.प्र.०३–००१ ज ०६७४ नम्बरको भाडाको इभी आइतबार दिउँसो हेटौँडा-भैँसे सडकखण्डमा दुर्घटना भएको हो । प्रहरीका अनुसार गाडी सडकको दायाँतर्फको भित्तामा ठोक्किएपछि बायाँतर्फको नालामा खसेको थियो ।
दुर्घटनाको खबर पाएलगत्तै प्रहरी चौकी भैँसेबाट खटिएको टोलीले घाइतेलाई उपचारका लागि हेटौँडा अस्पताल पठाएको थियो । मुखमा चोट लागेका हरिलाई थप उपचारका लागि चितवन मेडिकल कलेज (सिएमसी) रिफर गरिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा हरिका छोरीहरू २६ वर्षीया चन्दाकुमारी साह र २३ वर्षीया शिवाकुमारी साह तथा तीन नातिनातिना पनि घाइते भएका छन् । उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । हरिलाई रिफर गरेपछि उनीहरू पाँचजना पनि उपचारका लागि सिएमसी गएका छन् ।
अन्य घाइतेमा रौतहटको दुर्गाभगवती– १ का ३२ वर्षीय राजेश साह, भारतको बिहारस्थित मोतीहारीका ३४ वर्षीय सर्फे आलम, रौतहटको चन्द्रपुर नगरपालिका– ११, पडरियाटोलकी २४ वर्षीया सविताकुमारी चौधरी, रौतहटकै १९ वर्षीय राहुल ठाकुर र १६ वर्षीय विजयकुमार ठाकुर छन् ।
उनीहरूको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ । दुर्घटनापछि इभीका चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।