इसिमोडको प्रारम्भिक विश्लेषण : पहिरोले नदी थुनेर बनेको अस्थायी बाँध फुट्दा बाढी आयो

सोमबार, २६ असोज, २०८३
प्रिन्ट संस्करण

काठमाडौं/अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)ले गोरखाको चुमनुब्री गाउँपालिका– ६, चुमचेतनजिकै पहिरोले नदी थुनेर बनेको अस्थायी बाँध फुट्दा बुढीगण्डकी नदी प्रणालीमा आकस्मिक बाढी (फ्ल्यास फ्लड) आएको प्रारम्भिक विश्लेषण गरेको छ ।

आइतबार यस्तो विवरण सार्वजनिक गर्दै इसिमोडले पर्वतीय जोखिम बढेकोमा चिन्तासमेत व्यक्त गरेको छ । आइतबार बिहान करिब ४ बजेतिर बाढी सुरु भएको थियो । बाढीले बुढीगण्डकी करिडोर भई लेदो, गेग्य्रान र फोहोर बगाएर तलतिर ल्याएको थियो ।

जलसतहमा उतारचढाव आएपछि र जोखिम बढेपछि स्थानीय प्रशसनले बुढीगण्डकी, त्रिशूली र नारायणी नदीतटीय क्षेत्रका समुदायका लागि चेतावनी जारी गरेका थिए । ‘यो घटना केही समयअघि भएको केरुङ (ग्यिरोङ)–रसुवा विपत्तिलगत्तै आएको हो र यसले क्रमिक रूपमा आउने पर्वतीय जोखिमहरूको खतरा (क्यासकेडिङ)लाई उजागर गर्छ,’ इसिमोडले भनेको छ, ‘एउटा प्रक्रियाले द्रुत रूपमा अर्को विपत्ति निम्त्याउन सक्छ र समुदाय तथा पूर्वाधारहरूमा पर्ने प्रभावलाई झनै बढाउन सक्छ ।’

बुढीगण्डकीमा यसअघि अप्रिल २०२४ मा पनि बाढी आएको इसिमोडले जनाएको छ । मनास्लु हिमनदीको टुप्पोबाट आएको ठुलो हिमपहिरो वीरेन्द्र तालमा खसेर बुढीगण्डकी नदीमा अचानक बाढी आएको थियो । इसिमोडको नेतृत्वमा गरिएको विस्तृत अध्ययनले त्यसवेला उक्त घटना हिमताल विस्फोटन नभई हिमपहिरोपछि तालको पानी विस्थापित भएका कारण भएको पत्ता लगाएको थियो । 

‘पहिलेको र अहिलेको दुवै घटनाले हिमाली नदी प्रणालीमा विनाशकारी बाढी उत्पन्न गर्न सक्ने विभिन्न जोखिमहरू र जोखिम अनुगमन गर्नुको महत्वलाई उजागर गर्दछन्,’ इसिमोडका महानिर्देशक पेमा ग्याम्छोले भनेका छन्, ‘केरुङ–रसुवा विपत्तिलगत्तै भएको यो घटनाले पर्वतीय समुदाय र नदी करिडोरहरूमा बस्ने मानिसहरू कति जोखिमपूर्ण छन्, संवेदनशील छन् भन्ने हामीलाई सम्झाइदिएको छ । यो बाढी के कारणले आयो भन्ने कुरा बुझ्नुपर्छ र भविष्यका जोखिमहरू कम गर्न तथा सहनशीलता सुदृढ पार्न काम गर्नुपर्छ ।’

सुझावित समाचार