जाजरकोटको जुनीचाँदे गाउँपालिकामा भूकम्पबाट प्रभावित १३७ घरधुरीलाई निजी आवास पुनर्निर्माणका लागि लाभग्राही कायम गरिएको छ। २०८० कात्तिक १७ गते रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पबाट जुनीचाँदेका चार हजार ९४ निजी आवासमा क्षति पुगेको थियो। विस्तृत क्षति आकलन प्रतिवेदनका आधारमा प्रभावित घरधुरी पहिचान गरी लाभग्राही कायम गरिएको हो।
जिल्ला विपत् व्यवस्थापन तथा जोखिम न्यूनीकरण समितिको २०८३ असोज १४ गतेको निर्णय तथा निजी आवास प्रबलीकरण तथा पुनर्निर्माण कार्यविधि, २०८१ अनुसार १३७ घरधुरीलाई लाभग्राही कायम गरी पहिलो किस्ताबापतको रकम निकासा गरिएको प्रमुख जिल्ला अधिकारी नवराज बरालले जानकारी दिए। गाउँपालिकाबाट १८४ घरधुरीको विवरण प्राप्त भएकामा १३७ घरधुरी पुनर्निर्माण अनुदानका लागि योग्य ठहरिएका हुन्।
मर्मततर्फ परेका ४७ घरधुरीबारे अर्को चरणमा निर्णय हुने भएको छ। भूकम्पपछि लामो समयसम्म लाभग्राही पहिचान र अनुदान वितरणको प्रक्रिया अघि बढ्न नसक्दा जुनीचाँदेका प्रभावित परिवार निजी आवास निर्माणको पर्खाइमा थिए। कतिपय परिवार अझै अस्थायी आवासमा बस्दै आएका छन्। पहिलो किस्ता निकासा भएसँगै अब निजी आवास पुनर्निर्माणको काम अघि बढ्ने अपेक्षा गरिएको छ। गाउँपालिकाले थप एक हजार ५ सय लाभग्राही दोस्रो चरणमा कायम गर्ने तयारीमा रहेको गाउँपालिकाको विपत् शाखा प्रमुख नवीन शाहीले बताए। दसैँअगावै कायम भएका लाभग्राहीलाई सम्झौता गरी पुनर्निर्माण काम सुरु गर्ने तयारी गरिएको उनको भनाइ छ।
यसैबिच गत भदौ ४ गते आएको अविरल वर्षासँगैको बाढीबाट प्रभावित जुनीचाँदेका ६४ परिवारलाई विपत् प्रभावित लाभग्राही कायम गरी पहिलो किस्ताबापतको रकमसमेत निकासा गरिएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार लाभग्राही कायम भएका ६४ परिवारलाई जनही २५ हजार रुपैयाँका दरले पहिलो किस्ता उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको हो। प्रमुख जिल्ला अधिकारी बरालका अनुसार बिहीबार गाउँपालिकाको कोषमा रकम जम्मा गरिएको छ। भूकम्पको रकम प्राधिकरणमा लेखी पठाइएको छ।
गाउँपालिकाले लाभग्राहीलाई सम्झौता प्रक्रियामा सहभागी हुन आग्रह गरेको छ। प्रमुख प्रशासकीय अधिकृत करसिंह रानाले एक परिवारको सम्झौता प्रक्रिया अघि बढिसकेको र बाँकी लाभग्राहीलाई आवश्यक कागजातसहित सम्झौता गर्न आग्रह गरिएको बताए। सूचना जारी भएको मितिले १० दिनभित्र गाउँपालिकाको विपत् व्यवस्थापन शाखामा आवश्यक कागजात पेस गर्न भनिएको छ।
गाउँपालिकाले सम्बन्धित वडा कार्यालयमा पठाइएको लाभग्राहीको नामावलीसमेत जाँच गर्न आग्रह गरेको छ। नामावलीमा नाम भएका प्रभावित परिवारले तोकिएको समयभित्र आवश्यक कागजात पूरा गरी सम्झौता गर्नुपर्नेछ। सम्झौता प्रक्रिया पूरा भएपछि नियमानुसार अनुदानको किस्ता उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ। भूकम्पपछि निजी आवास पुनर्निर्माणमा ढिलाइ भइरहेका वेला जुनीचाँदेले लाभग्राही कायम गरी पुनर्निर्माण प्रक्रिया अघि बढाएको हो। यसअघि भेरी नगरपालिका १ र ३ नम्बर वडाका १८८ घरधुरीलाई लाभग्राही कायम गरी पहिलो किस्ताको रकम निकासा अनुमोदन गरिएको थियो।
भेरी नगरपालिका–११ का ५२ घरधुरीलाई लाभग्राही कायम गर्न पहिलो किस्ता माग भएकाले राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग रकम माग गर्ने निर्णयसमेत भएको छ। भूकम्प प्रभावित परिवारलाई अनुदानसँगै आवास निर्माणका लागि आवश्यक प्राविधिक सहयोगसमेत प्रभावकारी रूपमा उपलब्ध गराउनुपर्ने उनीहरुको माग छ। लामो समयदेखि अस्थायी आवासमा बसिरहेका परिवारलाई पुनर्निर्माणको प्रक्रियासँग जोडिएपछि मात्रै भूकम्पपछिको पुनर्स्थापना प्रभावकारी हुने उनीहरू बताउँछन्।
२९ र ३० असारको मनसुनजन्य विपतबाट भएको क्षतिको विवरणका आधारमा सम्बन्धित विषयगत प्रदेश तथा स्थानीय तहबाट मर्मत, सम्भार तथा क्षतिपूर्तिका लागि आवश्यक रकम माग गर्ने निर्णय गरिएको छ। भूकम्पपछिको पुनर्निर्माण तथा पुनर्स्थापनाको कामलाई गति दिन भूकम्पीय पुनर्निर्माण तथा पुनर्स्थापना आयोजना, जाजरकोटलाई शीघ्र कार्य सञ्चालन गर्न अनुरोध गर्ने निर्णय भएको छ।
भूकम्प गएको लामो समयसम्म पनि कतिपय निजी आवास तथा सार्वजनिक संरचनाको पुनर्निर्माण प्रक्रिया सुस्त रहेको अवस्थामा आयोजना सक्रिय बनाउन समितिले पहल थालेको हो। विपद्को समयमा खोज, उद्धार तथा क्षतिको अवस्थाबारे तत्काल सूचना संकलन गर्न जिल्लाका तीन नगरपालिकालाई ड्रोन क्यामेरा खरिद गर्न लगाउने निर्णय पनि गरिएको छ। भेरी, नलगाड र छेडागाड नगरपालिकाले विपत् प्रतिकार्यमा प्रयोग गर्ने गरी ड्रोन क्यामेरा खरिद गरी जिल्ला विपत् व्यवस्थापन समितिलाई उपलब्ध गराउने भएका हुन्।
बैठकले २९ र ३० असारको मनसुनजन्य महाविपत्तिका क्रममा उद्धार, राहत तथा प्रतिकार्यमा उल्लेख्य भूमिका निर्वाह गर्ने सुरक्षाकर्मी, विद्युत् प्राधिकरणका कर्मचारी र सञ्चारकर्मीलाई सम्मान गर्ने निर्णय पनि गरेको छ। नेपाली सेनाका हुद्दा शेरधन मगर, सिपाही भीमराज खत्री, नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक अनिल बुढा, सशस्त्र प्रहरीका सप्रसह कृष्णबहादुर बुढा, नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र जाजरकोटका कार्यालय प्रमुखसहितको टोली र सञ्चारकर्मी रेशमबहादुर खड्कालाई सम्मान गर्ने निर्णय भएको हो।