सन् १९४९: बेइजिङको तियानमेन चोकबाट चिनियाँ कम्युनिस्ट पार्टीका नेता माओत्सेतुङले चीन जनवादी गणतन्त्र बनेको घोषणा गरे । लामो गृहयुद्धमा राष्ट्रवादी दल कोमिन्ताङलाई हराएर कम्युनिस्ट सत्तामा आएका थिए । कोमिन्ताङ सरकार भने ताइबान पलायन भएको थियो ।
सन् १६८८: इंग्ल्यान्डका शक्तिशाली भारदारको समूह (‘इमोर्टल सेभेन’)ले डच राजकुमार विलियम अफ ओरेन्जलाई राजा हुन आमन्त्रण गर्दै लेखेको पत्र उनले स्वीकार गरे । राजा जेम्स द्वितीयको क्याथोलिक छोरा जन्मिएपछि मूलतः प्रोटेस्टेन्टबहुल इंग्ल्यान्डमा उत्पन्न डरबिच राजा जेम्सका ज्वाइँ (जेठी छोरीसँग विवाहित) विलियमलाई प्रोटेस्टेन्ट राजा बन्न बोलाइएको थियो । नोभेम्बरमा डच फौजसहित विलियम इंग्ल्यान्ड उत्रिएपछि जेम्स द्वितीय फ्रान्सतर्फ भागे ।
सन् १९०८: हेनरी फोर्डले ‘फोर्ड मोडल टी’ नामक कार बजारमा ल्याए, जसले कार क्षेत्रमा क्रान्ति ल्यायो ।
सन् १९२८: सोभियत संघले आफ्नो पहिलो पञ्चवर्षीय योजना सुरु गर्यो । कृषि समाजलाई तीव्र गतिमा औद्योगिक महाशक्ति बनाउने उद्देश्यअनुरूप ल्याइएको योजनालाई ‘गोसप्लान’ नामक निकायले कार्यान्वयन गरेको थियो ।
सन् १९५३: भारतले तत्कालीन मद्रास राज्यको तेलगुभाषी क्षेत्रलाई समेटेर अलग आन्द्र प्रदेश गठन गर्यो ।
सन् १९६०: नाइजेरिया यसै दिन बेलायतबाट स्वतन्त्र बन्यो । साथै तीन वर्षपछि नयाँ संविधान जारी गर्न पनि यसै दिन (अक्टोबर १) छानियो, जुन संविधानले देशको राष्ट्रप्रमुखका रूपमा ब्रिटिस रानी एलिजावेथ द्वितीयलाई त्यागेर आफ्नै राष्ट्रपति चुन्यो ।