नेपाली क्रिकेट टोलीका बायाँहाते स्पिनर ललित राजवंशीले आइसिसी टी–२०आई बलिङ वरीयतामा एकैपटक ३८ स्थान फड्को मारेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले बुधबार जारी गरेका सबै फर्म्याटको वरीयता सार्वजनिक गरेको हो । नयाँ वरीयताअनुसार ललित आइसिसी टी–२०आई बलिङमा ८०औँ
स्थानमा पुगेका छन् । यसअघि उनी ११८औँ स्थानमा थिए । उनले ४६८ रेटिङ अंक जोडेका छन् ।
आइसिसीका अनुसार ललितले सन् २०२५ कुवेतविरुद्धको प्रदर्शनमा ५२० अंक जोडेका थिए । जापानमा भएको २०औँ एसियाली खेलकुद (एसियाड)मा ललितले दुई खेलमा बलिङ गरेका थिए । क्वार्टरफाइनलमा पुगेको नेपाल श्रीलंकासँग वरीयताका आधारमा निराश भएको थियो । वर्षाका कारण टस नै हुन नसक्ने अवस्था आएपछि एसिसीको नियमअनुसार श्रीलंका वरीयताका आधारमा सेमिफाइनलमा पुग्यो । नेपाल प्रतियोगिताबाट बाहिरियो ।
यसै एसियाडमा नेपालले अफगानिस्तान र जापानविरुद्ध खेल्ने अवसर पायो । तर, नेपालले अफगानिस्तानसँगको प्रतिस्पर्धामा मात्र पूरै खेल खेल्न अवसर पायो । जसमा ललितले चार ओभरमा १३ रन दिएर तीन विकेट लिएका थिए । सोही प्रदर्शनबाट उनको वरीयता सुधार भएको हो । टी–२०आई बलिङ वरीयतामा नेपालका कप्तान दीपेन्द्रसिंह ऐरीले एक स्थान सुधार गरेका छन् ।
उनी अहिले ५९औँ स्थानमा छन् । उनले जापानविरुद्धको प्रतिस्धर्पामा ५२१ रेटिङ अंक पाए । उनीभन्दा अगाडि इंग्ल्यान्डका विल ज्याक्स र पछाडि अफगानिस्तानका फजालहक छन् । यसैगरी, नेपालका लेग स्पिनर सन्दीप लामिछानेले पनि दुई स्थान सुधार गरेका छन् । ५६३ रेटिङ अकका साथ उनी ४७औँ स्थानमा छन् । उनले पनि जापानविरुद्धको प्रतिस्धर्पामा ५६३ अंक रेटिङ पाएको आइसिसीले जनाएको छ । टी–२०आई बलिङ वरीयताको शीर्ष स्थानमा पाकिस्तानका अहमेद रहेका छन् । उनले सर्वाधिक ७३६ रेटिङ पाएका छन् ।
पूर्वकप्तान रोहित ६ स्थान अगाडि
नेपालका पूर्वकप्तान रोहितकुमार पौडेलले टी–२० आई ब्याटिङमा ६ स्थान सुधार गरेका छन् । नयाँ वरीयताअनुसार रोहित ८९औँ स्थानमा छन् । उनीभन्दा अगाडि अफगानिस्तानका मोहमद नावी र पछाडि श्रीलंकाका चरिथ असालंका छन् । यस विधामा नेपालका कप्तान दीपेन्द्रसिंहले तीन स्थान गुमाएका छन् ।
उनी अहिले ६८औँ स्थानमा रहे । यसैगरी, ओपनर कुशल भुर्तेलले पनि पाँच स्थान गुमाएका छन् । पाँच सय रेटिङ अंकका साथ कुशल ६१औँ स्थानमा सीमित भए । टी–२० आई अलराउन्डर वरीयतामा दीपेन्द्रसिंह चौथो स्थानमा यथावत् रहेका छन् । उनले अफगानिस्तानविरुद्ध २५७ रेटिङ अंक पाएका छन् । यस विधामा जिम्बावेका सिंकन्दर राजा ३३९ अंकका साथ शीर्ष स्थानमा छन् ।
पाकिस्तानका सेम युब दोस्रो र इंग्ल्यान्डका विल ज्याक तेस्रो स्थानमा छन् । टी–२०आई अलराउन्डरमा नेपालका कुशल भुर्तेलले सात स्थान सुधार गरेका छन् । उनी अहिले २१औँ स्थानमा रहेको आइसिसीले जनाएको छ । उनले १६२ रेटिङ अंक पाएका छन् । टी–२०आई अलराउन्डरमा रोहितले पनि दुई स्थान सुधार गरे । उनी अहिले ५० औँ स्थानमा पुगेका छन् । नेपालका अलराउन्डर गुल्सन झाले ६ स्थान गुमाएका छन् ।