परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमण परिणाममुखी हुने विश्वास व्यक्त गरेका छन् । स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीले उनलाई प्रधानमन्त्रीको भारत भ्रमणबारे सोधेका थिए । जवाफमा उनले परिणाममुखी भ्रमणको तयारी भइरहेको बताए । ‘प्रधानमन्त्रीज्यूलाई प्रारम्भदेखि नै भारत भ्रमणको निमन्त्रणा प्राप्त भएको थियो । नेपालले त्यसलाई सकारात्मक रूपमा लिएको छ । उपयुक्त समयमा परिणाममुखी भ्रमण गर्ने विषयमा दुवै पक्ष सकारात्मक छौँ,’ उनले भने ।
गत १३ चैतमै प्रधानमन्त्री शाहलाई भारतीय समकक्षी नरेन्द्र मोदीले निमन्त्रणा पठाएका थिए । यसबिच सत्तारुढ रास्वपाका सभापति रवि लामिछाने, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री खनालले बेग्लाबेग्लै समयमा भारतको औपचारिक भ्रमण गरेका छन् । पछिल्लोपटक अर्थमन्त्री वाग्लेको भारत भ्रमणका वेला प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मंसिर पहिलो साता हुने तय भएको थियो । प्रधानमन्त्रीको भारत भ्रमण ७ र ८ मंसिरमा हुने तय भइसकेको छ भने परराष्ट्रले भ्रमणको एजेन्डामा गृहकार्य सुरु गर्दै छ ।
‘प्रधानमन्त्रीको सम्बोधनले विश्वको ध्यान खिच्यो’
परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्र संघको महासभामा सहभागी भएर स्वदेश फर्केका छन् । परराष्ट्र सचिव अमृतबहादुर राईसहित ४ असोजमा गएका उनी राष्ट्र संघको उच्चस्तरीय सप्ताहमा सहभागी भएर बुधबार फर्केका हुन् ।
परराष्ट्रमन्त्री खनालले नेपाल सन् १९५५ मा राष्ट्र संघको सदस्य भएदेखि नै नियमित रूपमा महासभा र सम्बन्धित विभिन्न फोरममा सहभागी हुँदै आएको र आफ्नो धारणा राख्दै आएको बताए । ‘तर, यसपटक हामी फरक परिस्थितिमा महासभामा सहभागी भई फर्केका छौँ,’ विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले भने ।
गत वर्षको जेन–जी आन्दोलन, वर्तमान सरकारका नीति तथा कार्यक्रम, नेपाली नागरिकको विकास, समृद्धि र सुशासनको आकांक्षा, विश्व व्यवस्था र विभिन्न अन्तर्राष्ट्रिय मुद्दामा नेपालको दृष्टिकोण र पछिल्लोपटक त्रासदीपूर्ण भोटेकोशी बाढीपछि जलवायु न्यायको विषयलाई प्रधानमन्त्री बालेन्द्र शाह र परराष्ट्रमन्त्री खनालले राष्ट्र संघको सबै मञ्चमा प्रमुखताका साथ उठाएका थिए ।
प्रधानमन्त्री शाहले महासभामा ९ असोजमा गरेको सम्बोधन ऐतिहासिक रहेको खनालले बताए । सम्बोधनमा जलवायु न्यायसहित नेपालको राष्ट्रिय हितका मूलभूत पक्ष उजागर भएको उनको भनाइ छ । ‘जलवायु वित्त संयन्त्रबाट स्रोत परिचालनलाई सरल र सहज बनाउन एवं जलवायु न्यायलाई व्यवहारमा उतार्न अन्तर्राष्ट्रिय समुदायलाई प्रधानमन्त्रीले गर्नुभएको सशक्त आह्वानले विश्वको ध्यान खिच्न सफल भएको छ,’ खनालले भने, ‘सम्बोधनले नेपालजस्ता जलवायु जोखिममा रहेका मुलुकका लागि जलवायु न्याय यथार्थमा परिणत गर्न एक महŒवपूर्ण कदम साबित हुने अपेक्षा गरिएको छ ।’
न्युयोर्कमा रहँदा सम्भव भएसम्मका र उपलब्ध सबै उच्चस्तरीय समारोह, बैठक, कार्यक्रम र विभिन्न द्विपक्षीय भेटवार्ता गरेको परराष्ट्रमन्त्रीको भनाइ थियो । सबै अवसरमा उनले भोटेकोशीमा गएको विनाशकारी बाढीपछि खोज, उद्धार, राहत तथा अन्य सहयोगमा सहयोगका लागि सबैलाई धन्यवाद दिँदै आगामी दिनमा आवश्यक पर्ने पुनर्निर्माणमा उल्लेख्य साधनस्रोतका लागि थप सहयोगका लागि अनुरोध पनि गरेका छन् ।