काठमाडौं उपत्यकाभित्र केही घर भत्केका या भासिएका घटनाले के संकेत गर्छन् ?
यो नयाँ समस्या होइन । काठमाडौं उपत्यका परापूर्व कालमा एउटा ठुलो तालका रूपमा रहेको थियो । लाखौँ वर्षसम्म तालवरिपरिका डाँडाबाट माटो, बालुवा या गेगर बगेर थिग्रिँदै गएर पिँधमा जम्मा भयो । कथाका रूपमा जेजस्तो किंवदन्ती सुनिए पनि यथार्थमा दक्षिणकालीभन्दा पनि दक्षिणमा रहेको कुटवाल दहबाट बिस्तारै डाँडो काँट्दै र खियाउँदै गएपछि बानी बगेर बाहिर गयो । अनि, उपत्यका बस्नलायक भयो । त्यतिखेर पहाडबाट झरेर थिग्रिएको बालुवा, माटो र गेगर दक्षिणकालीभन्दा दक्षिणतिर पनि अझै पाइन्छ । अहिले ठुलो बस्ती बसे पनि काठमाडौं उपत्यकाभित्रका टारहरू बालुवा, माटो र गेगरबाटै बनेका छन् । सुक्खा याममा यो बनोट कडा देखिए पनि बर्खामा या पानी पर्दा यस्तो जमिन गल्छ र भासिन्छ । त्यसको मारमा यहाँका भौतिक संरचनाहरू पर्न सक्छन् र वेलावेलामा परिरहेका पनि छन् ।
यो भौगर्भिक समस्या हो कि सामान्य इन्जिनियरिङ फल्ट हो ?
यो इन्जिनियरिङ फल्ट होइन । ढलेका घरहरूको इन्जिनियरिङ त निकै राम्रो थियो । ढलिसक्दा पनि झ्यालसम्म फुटेका छैनन् । यसको मुख्य समस्या घर कहाँ बनाइयो र त्यहाँको माटो कस्तो थियो भन्नेमै छ । ढलेको घर बनेको जमिनलाई ‘रिटेनिङ वाल’ले धानेको थियो । पानी पर्दा माटो गलेपछि वालले धान्न नसक्दा घर ढलेको हो ।
यसले आगामी दिनमा गरिने प्लटिङ र भवन निर्माण संहितामा सुधार गर्नुपर्ने संकेत गरेको त होइन ?
भवन निर्माण संहितामा सुधारभन्दा पनि घर बनाउने जमिन कस्तो छ, त्यसको भौगर्भिक अध्ययन गरिनुपर्छ । जमिन सुरक्षित देखियो भने पनि घर निर्माणपछि पानी, ढल आदिको निकास कसरी मिलाइन्छ, त्यसले पनि फरक पार्छ । घर निर्माण गरिने जमिनआसपासको जमिन कति स्लोपको छ, त्यसको पनि अध्ययन गरिनुपर्छ ।